को बन्ला नयाँ राष्ट्रपति ! के हो राष्ट्रिय सहमति ?

को बन्ला नयाँ राष्ट्रपति ! के हो राष्ट्रिय सहमति ?



वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल २९ फागुनमा सकिँदैछ । त्यस अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ राष्ट्रपति निर्वाचन कहिले गर्ने भन्ने बारेमा विभिन्न छलफल चलिरहेको बेला निर्वाचन आयोगले चुनावको मिति घोषणाको तयारी भइरहेको बताएको छ । यससँगै गणतन्त्र नेपालको नयाँ राष्ट्रपति को बन्छ भन्ने विषय चौतर्फी चासोको विषय बनेको छ ।

नयाँ राष्ट्रपति बनाउने विषयमा दलहरु तीन धारमा देखिएका छन् । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले आफ्नो उम्मेदवारमा नै राष्ट्रिय सहमति हुनपर्ने जिकिर गर्दै आएको छ । पुस १० गते सत्ता साझेदार दलहरुमा भएको सहमति कायम रहेमा नेकपा एमालेको उम्मेदवार नयाँ राष्ट्रपति निर्वाचित हुने देखिन्छ । पुस १० गते प्रधानमन्त्री, सभामुख आलोपालो गर्ने र राष्ट्रपति एमालेको उम्मेदवारलाई बनाउने सात दलबीच सहमति भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अवधि सकिएपछि सबै उच्च पदमा एमाले हुँदा निरङकुशता उब्जिने जोखिमको अनुमान गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनपर्ने बताउन थालेका छन् । माओबादीको यस्तो धाराणाबाट एमालेमा संशकित भएको छ ।

संसदको ठूलो दल नेपाली कांग्रेसले संविधानको रक्षाका लागि आफ्नो पार्टीबाट राष्ट्रपति बन्न पर्ने धारणा राखेको छ । राष्ट्रपति र प्रधानमन्त्री आफैंले पाउन पर्ने अडान राख्दा सत्ता गुमाएको कांग्रेस यतिबेला राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीतिमा लागेको छ । एमालेले जसरी प्रचण्डलाई पदको लोभ देखाएर यस अघिको सत्ता गठबन्धन तोडेको थियो, त्यसैगरी कांग्रेसले हालको गठबन्धन टुटाउन चाहन्छ । प्रचण्डलाई विश्वासको मत दिएर प्रधानमन्त्रीलाई एमालेको पिन्जडामा देख्न नचाहेको प्रतिक्रिया दिएको कांग्रेसको खास रणनीति राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउने भएको प्रष्ट बुझ्न सकिन्छ ।

राष्ट्रपति निर्वाचनमा प्रचण्डलाई आफूतिर ढल्काएर पाँच वर्षका लागि तय भएको सत्ता समीकरण बदल्ने रणनीतिमा कांग्रेस लागेको छ । संवैधानिक पदमा एउटै पार्टीको हालीमुहाली हुँदा लोकतन्त्र नै खतरामा जाने कांग्रेसको धारणा छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनपर्नेमा जोड दिएको छ । माओवादीको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । राष्ट्रिय सहमति खोज्दा सबैको हुने भएकाले एमालेलाई धोका दिएको भन्न नमिल्ने बैठकको निष्कर्ष हो । त्यसमा एमालेको पनि सहमति हुनपर्ने नेताहरुको राय छ । राष्ट्रपतिको विषयमा प्रधानमन्त्री प्रचण्डले कसरी राष्ट्रिय सहमति जुटाउछन् भन्नेतर्फ सबैको ध्याना केन्द्रित भएको छ ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नका लागि माओबादीले डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने अवस्था आउन सक्ने सम्भावना देखिन्छ । नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने भनाइ माओवादी नेताहरुले राखेका छन् ।

नेकपा एमालेमा भने आधा दर्जन जति नेताहरुको नाम राष्ट्रपति बन्ने चर्चामा आएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, गोमा देवकोटा र युवराज ज्ञवालीको नाम चर्चामा छ । यदि सहमति तोडिएन भने राष्ट्रपति एमालेको भागमा परेको छ । सातदलीय गठबन्धनमा सहमति कायम रहे एमालेको उम्मेदवार राष्ट्रपति पदमा निर्वाचित हुने सक्ने छन् । यी मध्यमा एमालले डोरमणि पौडेलको नाम सिफारिस गर्ने सम्भावाना देखिएको छ । पौडेल अध्यक्ष केपी शर्मा ओली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पनि निकट मानिन्छ ।

त्यसैगरी नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारको लागि दुई नेताको नाम अगाडि छलफलमा आएको छ । कांग्रेसमा नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको नाममा बहस भइरहेको पार्टी स्रोतले बताएको छ । सभामुख निर्वाचनमा असफल भएको सत्ता गठबन्धन टुटाउने कांग्रेसको रणनीति अब राष्ट्रपति निर्वाचनमा केन्द्रीत भएको छ ।