नेपाली समुदायलाई अमेरिकामा पाँच लाख डलर अनुदान

नेपाली समुदायलाई अमेरिकामा पाँच लाख डलर अनुदान

मिनी नेपाल निर्माणको परिकल्पना


ग्लोब नेपाल
3.7k
Shares

पेन्सिलभेनिया । यहाँस्थित स्थानीय नेपालीहरुको एक सामुदायिक संस्थाले अमेरिकी सरकारबाट पाँच लाख डलरको अनुदान प्राप्त गरेको छ। राज्यको मोन्टगोमरी काउन्टी सरकारले स्थानीय पेन्सिलभेनिया नेपाली गुठी एशोसियसन (पीएनजीए) लाई यो अनुदान रकम उपलब्ध गराएको हो। १० वर्ष पहिले गैर नाफामूलक संस्थाको रुपमा दर्ता गरी स्थानीय नेपाली समुदायमा क्रियाशील पेन्सिलभेनियाको यो संस्था नै सम्भवत: आजसम्म सबैभन्दा बढी अमेरिकी अनुदान प्राप्त गर्ने पहिलो नेपाली सामुदायिक संस्था हो। मोन्टगोमरी काउन्टीमा बसोवास गर्ने नेपालीहरुको संख्या करीब ६ हजार जति हुन सक्ने अनुमान छ।

एशोसियसनका संस्थापक अध्यक्ष बिमल मोक्तानको भनाईमा, स्थानीय काउन्टी सरकारले यसरी अनुदान उपलब्ध गराइदिएकोमा सम्पूर्ण नेपाली समुदायको सम्मान भएको छ। ‘हामीले प्रस्ताव पेश गर्यौं,चरणबद्ध रुपमा छलफल भयो,धेरै पहल गरियो र अन्तत:हामीले अनुदान प्राप्त गर्न सक्यौं,जसले अब हामी पनि अमेरिकी सरकार र सम्बन्धित निकायमा चिनिन सक्ने भएका रहेछौं भन्ने लागेको छ’ अध्यक्ष मोक्तानले भने।

यो अनुदान बृहत सामुदायिक केन्द्रको परिकल्पनालाई साकार बनाउने पहिलो सफलता भन्दै नेपाली समुदायले खुशी व्यक्त गरेको छ। ‘हामी धेरै ठूलो सामुदायिक केन्द्रको योजनामा छौं,यसका लागि अहिले काउन्टी सरकारले हामीलाई जसरी सहयोग गरेको छ,यसले हामीलाई उत्साहित बनाएको छ’ एशोसियसनका प्रमूख संरक्षक एवं सल्लाहकारसमेत रहनु भएका स्थानीय समुदायका अग्रज बिनोद मोक्तानले भने ।

अरु समुदायले माग्छन्,नेपाली समुदायले सहयोग गर्छ
कोरोनाको कहर विश्वजगतमा उथलपुथल ल्याउने विनाशकारी संक्रमण बन्यो। त्यो संक्रमणले सबैलाई त्राहीत्राही बनाई रहेको बेला नेपाली समुदायका अगुवाहरु र स्थानीय व्यवसायीहरु स्वयम् सेवाका लागि खटिए। जसले आज नेपाली समुदायलाई सम्मानित समेत बनाएको छ। त्यही संकटका बेला जुटेर सहयोग गर्ने भावनाका धनी नेपालीहरुले स्थानीय राज्य र काउन्टी सरकारको नजरमा आफुहरुलाई चिनाउने अवसर समेत पाए। ‘त्यो बेला फ्रन्ट लाइनमा काम गर्ने आकस्मिक सेवाका कर्मचारी र चिकित्सकहरुलाई हामीले खाना खुवाउने,अन्य स्वयम् सेवी कामहरु गरेका थियौं।

हामी नेपालीहरुको त्यही सेवाभावलाई देखेर राज्यका सिनेटरदेखि अन्य सरकारी अधिकारीहरुले अरु समुदाय माग्छन् तर नेपाली समुदाय भने यसरी स्वस्फूर्त मानवीय सेवामा जुट्ने रहेछ भनेर प्रशंसा गर्थे। पछि उनीहरुले नै तिमीहरुको समुदायको लागि हामी सहयोग गर्न तयार छौं भनेर हामीलाई सम्पर्क गरेपछि यसरी अनुदान पाउने वातावरण बन्यो’ स्थानीय समुदायमा सबैको अभिभावकको रुपमा सम्मानित एशोसियसनका प्रमूख संरक्षक विनोद मोक्तानले भने।

एशोसियसनका अध्यक्ष विमल मोक्तान पनि कोरोना संक्रमणका बेला नेपाली समुदायले आफुलाई चिनाउने अवसर पाएको स्मरण गर्दै भन्छन्,-‘हामीलाई थाहा छैन नेपाल सरकारको भत्ता र पद खानेहरुले समुदायमा कति काम गरेका छन् तर हामी चाहिं नेपालको पहिचानलाई अमेरिकी समुदायमा विस्तार गर्न पर्यटन,संस्कृतिजस्ता विभिन्न माध्यमबाट निरन्तर काम गरिरहेका छौं। ‘

किनियो भवन, मिनी नेपाल निर्माणको लक्ष्य
स्थानीय काउन्टी सरकारले यसरी पाँच लाख डलर अनुदान दिएसंगै पीएनजीएले मोन्टगमोरी काउन्टीको जर्मन टाउन भन्ने ठाउँमा दुईतले भवन समेत किनेको छ। करीब ४ हजार स्क्वायर फुट क्षेत्रफलको सो भवनमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पीएनजीएको कार्यालय संचालन गरिनेछ। अध्यक्ष मोक्तानका अनुसार, बृहत कम्युनिटी सेन्टरको अवधारणालाई सार्थक बनाउन र समुदायलाई जोड्न पीएनजीले आफ्नो कार्यालय भवनलाई उपयोग गर्नेछ। ‘हिमालयन सेन्टर’को प्रस्तावित नाममा अघि बढाईएको बृहत परियोजनामा हिन्दु मन्दिर,बुद्ध गुम्बा,सामुदायिक सभा हल, नेपालको मौलिक पहिचान झल्काउने सांस्कृतिक संग्रहालय स्थापनासहित आधारभूत स्वास्थ्य र शिक्षा सम्बन्धी कार्यक्रम गर्ने उद्देश्य समेटिएको छ। ‘हाम्रो परियोजना धेरै ठूलो छ, हामी जग्गा खोजेर आफु बसेको ठाउँमा ‘मिनी नेपाल’ निर्माण गर्ने लक्ष्यमा छौं’ अध्यक्ष मोक्तानले सुनाए। मोक्तानकै सक्रियता र समन्वयमा स्थानीय नेपाली समुदायलाई अमेरिकी सरकारको स्थानीय निकायसम्म जोड्ने सफलता प्राप्त भएको हो।

‘मिनी नेपाल’ निर्माणका लागि पीएनजीएका सदस्यहरुले आर्थिक कोष खडा गरेर रकम संकलन गर्ने कार्य समेत सुरु गरिसकेका छन्। जस अनुसार हालसम्म आन्तरिक रुपमा दुई लाख डलर जम्मा भैसकेको छ। पीएनजीएले १५ हजार डलर दिने दातालाई प्रमूख संरक्षक,१० हजार दिने दातालाई संरक्षक र पाँच हजार डलर दिने दातालाई प्रस्तावित हिमालयन सेन्टरको संस्थापक सदस्यता प्रदान गर्ने निर्णय समेत गरेर अभियान सुरु गरेको छ।