सुशान्त

सुशान्त



“मेरो घरमा अचम्म खाले बिहा हुँदैछ है केट्टा हो, तिमेर्लाई निम्ता छ,” सुशान्तले सूर्यवीरलाई फोन गर्‍यो ।

सूर्यवीरले जुल्फी हल्लाउँदै नयाँ तिर्खालाई फोन लगाइहाल्यो, “सुन्दै छस् ? सुशान्त दाइकहाँ बिहा छ रे । सुन्ने जतिलाई निम्तो भन्नुभा’छ ।”

सबका हातमा फोन छ । एकैछिनमा उपत्यकाभरि हल्ला फैलियो, “सुशान्त दाइका बिहा हुँदै छ रे । सुन्ने जतिलाई निम्ता छ रे !”

हँछालिपाले छोटो घाँटी घुमाएर भन्यो, “के भन्छ फटाहाहरु ? राजाको बिहा हो र सुन्ने जति सबैलाई निम्ता हुने ? बूढा मान्छेले कहाँ बिहा गर्छन् हौ, फेरि ? कान तीखो पारेर फेरि सुन ।”

हँछालिपाले सुशान्तलाई फोन लगायो, बिजी थियो ।

“बिहाको निम्तो पाइयाछ, किन नजानु । बिहा जोसुकैको होस्, खाने त उही मासु–बियर होइन ?,” सूर्यवीर टोली नेता बनिएर करायो, “सब केटालाई फोन गर् ।”

उसको देहले चिसो बियर हरहर मागिसकेको थियो ।

“केटीलाई चाहिँ नगर्नू हो, दाइ ?,” यसै पनि लामो मुख ज्योति किरणको, झन् लामो पारेर हाँस्योे ।

टोली नेता रिसाएर बोल्यो, “केटी ल्या भन्या छैन, दाइले मा… साला !”

छोरीले भरथेग गर्ने भएपछि सुशान्त विवाहको चपारो दिनमा पनि बडो आरामले बसिरहेथ्यो । माइतीघर मण्डालाको थकाली रेस्टुरेन्टमा बा, श्रीमती, वकिल र उसका साथीहरु गरी पाँचजनाको समूहलाई खानेकुरा राखिदिएर ऊ चाहिँ माथिल्लो तला चढ्यो । आरामले दिउँसै रम पिउँदै आँखा चिम्म गरेर बस्यो । नयाँ लेख्नुपर्ने किताबबारे सोच्यो ।

‘आ..खुसीको दिनमा पनि कति कामै मात्र सम्झिनु !’ झर्कियो आफैं ।

“सर केही ल्याऔं ?,” वेटरले तन्द्रा भङ्ग गरिदियो ।

“एक पेग लेऊ न त,” चोर औंलाले मुनितला देखाउँदै सोध्यो, “सबै ठीकै छन् ?”

“हुजुरबा आराम गर्नुभएको छ । म्याडम फोनमा बिजी हुनुन्छ,” वेटरले भन्यो ।

“ल ठीक छ ।”

सुशान्त दोस्रो पेगसँगै बोल्यो, ‘आखिर मनलाई शान्त पार्न जसरी सोच्दा आनन्द लाग्छ, त्यसरी नै त सोचिँदो रहेछ ।”

“हजुर ?,” बारतिर पस्दै गरेको वेटर फर्केर ट्वाल्ल पर्‍यो । सुशान्त नबोलेपछि ऊ गयो ।

‘आखिर केमा हुन्छ त मोह ?’ उसले अन्तस्करणमा खोजी हेर्‍यो, ‘सारा ब्रह्माण्ड खाली थियो । हावासँगै पातपतिङ्गर उडिरहेको थियो । एक टुक्रा पतिङ्गर भएर आफू पनि उडिरहेको पायो । उड्नुमा कुनै थकान थिएन । हावा रोकिँदा अड्नुमा कुनै गर्व पनि थिएन । त्यहाँ कसैले कसैलाई सहयोग गर्नु थिएन, सहयोग लिनु पनि थिएन । दिनु पनि थिएन । कतैतिर थोरै उज्यालो देखिएको थियो । कल्पनाको ब्रह्माण्डमा अरुका लागि केही गर्नुपर्ने कामै थिएन, न आफ्नै लागि थियो । त्यहाँ असमानता, अन्याय, अभाव केही थिएन । तर यथार्थको ब्रह्माण्डमा अरुलाई सहयोग गरेर सन्तोष बटुल्न पाउने एक अवसर थियो ।’

“कस्तो निष्ठुरी मान्छे हौ, हना,” नुमा सारी उचालेर जङ्गिई, “बालाई श्वास फेर्न गाह्रो भएछ, पङ्खाको हावाले । अस्पताल लैजाऊँ ।”

“अस्पताल ? कान्छाले फोन गरिन ?” सुशान्त आत्तिएर बा भएतिर कुदाे ।

सोमा

विवाहको दिन । सोमा असिनपसिन भएकी थिई । भुक्केको फोन रातिदेखि नै अफ थियो । सोमा, देवी र दीपक भुक्केको छाप्रोमै पुगे । तर, ताला लगाइको थियो । छिमेकीलाई सोधियो, कसैले थाहा छ भनेनन् ।

सोमाले आफ्नो फोन अन गरी, सरको म्यासेज दुलाबाट कमिला निस्के झैं भुरूरू निस्क्यो । अन्तिम म्यासेज हेरी, “सोमु तिमी कहाँ छौ ? किन फोन अफ गरेकी । तिमीलाई कुरेर तिम्रै घरअगाडि बसेको छु । यदि तिमी मलाई भेट्न चाहन्नौ भने म जे पनि गर्न तयार छु… ।”

सोमाले पूरै पढ्न सकिन । फोनै घुइँय फाली धमिलो खोलामा ।

उनीहरु खोला किनारबाट पुल तरेर पारि पीपलको फेदमा गएर बसे । घरीघरी खोलाको दुर्गन्ध आइरहेथ्यो । त्यहीँ सीधा देखिने भुक्केको छाप्रे घरको पेटीमा फूलहरु ओइलाएका थिएनन् । यसकारण भुक्केको परिवार भर्खरै कहीं गएको हो भन्ने बुझ्न सकिन्थ्यो ।

नुमाले देवीलाई फोन गरी, “हामी माइतीघर मण्डला छेउमा पर्खिराछौं, छिटो गरेर आऊ । हजुरबालाई गाह्रो भइसक्यो ।”

देवीले झुट बोलिदिई, “नाना ! हामी बेहुला सिँगार्दै छौं । टेलरले सुट सिलाइसकेकै रहेनछ ।”

बोलिसकेर ऊ बेस्कन रिसाई, “बेउलै छैन, यत्राको छिटो ?”

सोमा निधार हातमा अड्याएर स्वाँ…स्वाँ सास फेरिरहेकी थिई । दाँत किटेर भनी, “यो केटा गायब हुनुमा त्यै सरको कर्तुत हुनुपर्छ । त्यसलाई म अहिल्यै गएर सिध्याउँछु ।” सोमा जुरुक्क उठी ।

देवीले बाँहा पसारेर छेकी । छेमालाई झट्कारेर सोमा बाइक भएतिर दौडिई । दीपक अगाडि गएर सोमालाई च्याप्पै समात्यो । अनि मुसुक्क हाँस्यो । सोमा लुली भई ।

देवीले भनी, “त्यस्तो मरिहत्ते लाउनेसँगै बिहा गर न त है । आबो हराएको मान्छे कहाँ खोज्नु ? लाजको पसारो, बिहा खाने मान्छे घरभरि थुप्रिसको अरे । वकिल अनि बाउआमा अदालत छेउ आएर कुरी बसेको छ अरे । आबो त्यैसुङ्ग बिहा गर । तिम्रो कर्ममा त्यै लेखेको रै… ।”

सोमा बुरूक्कै उफ्रिई, “नक्कराइराख्नू, छेमा । त्यसले मलाई पाउन बच्चा भइसकेको बूढीलाई आज छोड्नेले भोलि मलाई चाहिँ साथ देला भन्ने के ग्यारेन्टी छ ? कुरै नबुझी धेर नक्कराउनू । दिमागले काम नगरेको बेलामा ।”

दीपकलाई पनि झट्कारेर पर धकेल्दिई ।

छोरी उफ्रिएकोमा देवी पनि झोक्किई, “आबो, नहरले नलेखेको कुरा रहरले लेखिन्छ ? भुक्केको आफन्त, आमाबाउले दिएन हला नै । सबैसँङ्ग भेटेर राम्रो कुरा गर्नुपर्थ्याे पैले नै । लु के गर्ने ह ? सोचेर फोन गर । म चाहिँ घर गोएर एक सर्को सुर्ती खान्छु ।”

देवी साडी उचाल्दै पुल तरेर गई ।

“दीपक, मेरो बाइक छेमाको घरमा छाडेर आउनोस् त, तपाईंको बाइकमा हामी चौकी जाऔं ।”

‘चौकी’ भनेपछि दीपक झस्कियो, “केना हौ फेरि ?”

“भनेको मान्नुस्,” सोमा रिसाई मात्र । मुड्कीले आफ्नै निधार हानेर पश्चात्ताप गर्न लागी, ‘कस्तो मैले भुक्केको पूरै फ्यामिलीसँग कुरा नगरेको ! विवाहजस्तो कुरालाई मैले किन यति सजिलो सोचेको ? यो छेमा पनि उसले भनेको केटासँग मैले नमानेर होला नि, मलाई कुनै सल्लाह नदेको । हत्तेरी ! किन चाहिँ यस्तो भयो ? पक्कै त्यो सरले नै कतै अपहरण वा तर्साएर लखेटेको हुनसक्छ । यसलाई कोर्रा नहानी भेद खुल्ने छैन ।’

दीपकले बाइक राखेर आयो । सोमा दीपकको बाइकमा पछाडि बसी । र पुलिस चौकीमा सरको हुलिया र फोन नम्बर दिएर मान्छे अपहरण/बेपत्ता पारेको उजुरी लेखियो । सरलाई भेट्न सकिने ठाउँबारे पनि ठेगाना बताइयो ।

नुमाले जति नै प्रयास गर्दा पनि छोरी र बैनीको फोन नलागेपछि म्यासेज लेखी, “छोरी, बैनी ह, के भोयो । कल ब्याक गर । हामी आत्तिएको छुङ । हजुरबालाई गाह्रो भएर वीर अस्पतालमा भर्ना गर्‍यौं । छातीमा समस्या देखिएको छ ।”

देवीले म्यासेज हेरी मात्र । के उत्तर दिने ?

बाइक राख्न गएको दीपक देवीलाई बोकेर आयो । देवीले सोमालाई आमाको समाचार सुनाई । के गर्ने ? उत्तर केही थिएन । अन्ततः चौकीकै भित्तामा अडेस लागेर सोमा बेस्कन रोई, “मलाई किन यो जेरो आवरमा धोका भयो ? किन ? अब मैले के गर्नु ?”

महिला प्रहरीहरुले सोमालाई सम्झाए, “नआत्तिनू बैनी । तपाईंको मान्छे हामी सकुशल रिहा गर्ने प्रयास गर्नेछौं । तपाईंले शङ्का गरेको व्यक्ति हाम्रो सातदोबाटो विभागले नियन्त्रणमा लिइसक्यो ।”

आँसुभन्दा धेरै प्रश्न बर्साएर सोमा चिच्याउन लागी, “अब मैले के जवाफ दिने ? त्यत्रो घरभरि पाहुना छन् । गाउँबाट हजुरबा उठाएर ल्या’छु । वरिपरि शत्रु छन् । अब मैले के जवाफ दिने ? दीपकजी भन्नू न, प्लिज के जवाफ दिनु ?”

प्रश्नको पहिरोले पुरिएको दीपक मधुर स्वरमा बोल्यो, “आबो, अप्ठेरै परेको हो भने मलाई नै लगेर काम चलाउनुस् ना त ।”

सोमाको दिमागमा उम्लिरहेको रगत एक्कासी चिस्सियो । ऊ ढल्न खोजी । थामिनका लागि काँध दियो, दीपकले ।

सोमाले एक मिनेट जति आरामको लामोलामो श्वास लिइरही । अन्त्यमा विनित स्वरमा भनी, “जिन्दगीभरि मलाई यसरी नै साथ दिनुपर्छ है त ।”

दीपक बोल्यो, “तपाईं भन्दा अगाडि ता मर्दिना हलोऊ ।”

घर पुग्दा आँगनमा पूरै धूवैंधूवाँ थियो । पुराना थाङ्ग्रा भाँचेर सबै बालिएछ । खसीको दाम्लो हरियो थाङ्ग्रामा झुण्डिरहेको थियो । केके पोलेर खाँदै थिए, सुशान्तका बाह्रमासे भाइहरु । कोही जाँड छानिरहेका थिए, कोही तरकारी काटिरहेका थिए । हरियो थाङ्ग्राको फेदतिर ढुङ्गाको सिरानी हालेर कोही एक्लै बर्बराउँदै थिए, “मलाई बाह्र बटुका ठिक्क हुने रहेछ, बीस बटुका खन्याइएछ र आधा त निस्केर गयो नि, यार ! त्यस्तो मीठो निघार थ्यो ।”

“छोड्दे यस्ता मूला लेखक, साहित्यकार, डाइरेक्टर, सङ्गीतकार कोही काम लाग्दैन । को हो धर्मेन्द्र लामा, को हो हरि लामिछाने, सब तोरी डाइरेक्टर । सब मूलाहरु तोरी हुन्,” नयाँ तिर्खाले हुङ्कार गर्‍यो ।

“ओई घाँस ! तँ धेर नबोल् तँ,” टोली नेताले गाली गर्‍यो, “धेरै बोलिसकिस्, तँ धेर प्याप्याप्या…रर्र नबोल् । ठूलालाई मान्न सिक् । कुनै दिन ठूलो भइस् भने तँलाई नै काम लाग्छ । ला ! यो खसीको सातपत्रै खा ।”

उसले हरियो पातमा खरानी सरीको खोइ के दियो कुन्नि, नयाँ तिर्खालाई ।

“ममाथि न कोही ठूलो छ, न कोही साना । सब छोड्दे दाइ । म नम्बर वान लेखक बनेर तिमार् जस्ता मूलालाई पेलेर गाडीले किमा..आँ बनाइनछु भने मेरो नाम नयाँ तिर्खा होइन,” उसले मासु चपाउँदै भन्यो, “यो सुशान्त बूढोले के गरेको ? मर्ने बेलामा बिहा गर्ने ? हामीलाई बिनासित्ती मताउने ?”

“किरिया खानुभन्दा त बिहा खानै राम्रो,” पल्लो छेउ पाउलोनियाको फेदमा पनि मान्छे बोल्यो ।

सुशान्त ट्याक्सीबाट झरेर सीधै सागबारीमा लडिराखेका भाइहरुतिर गएर भन्यो, “ओ युवाहरु यसरी लडेर हुन्छ ? युवा जाग्नु परेन ?”

बिरुवा रोप्न बाँकी खाल्डोमा ज्योति किरण परेको रहेछ । खाल्डोबाट निस्कने प्रयासमा थियो ऊ । खाल्डैबाट प्रश्न गर्‍यो सुशान्तलाई, “दाइ ! म मन्त्री बन्न लायकको छु छैन ?”
“छस् छस् । पहिले खाल्डोबड निस्की ।”
“दाइको बिहामा नलडेर के बाउका बिहामा लड्ने त ? कुन चैं होस् निहुँ खोज्ने, आइज एकएक । सिङ्गल सिङ्गल ।”

“भोज पर्सि हो । भोलि कोट म्यारिज । कहाँ आजै मातेर हुन्छ । थत्तेरी !,” सुशान्तले ज्योति किरणलाई तान्दै पाखामा निकाल्यो ।

“दाइको बिहा भोलि होस् कि पर्सी, आफू त आजै अघौंजी मातिन्छ,” ज्योति किरणले सुशान्तलाई अँगालो हालेर धूलैसरी बनाइदियो । उसको पिठ्युँ पूरै हिलो ।

“पेन्टमै पिसाब फेरिस् मूला ?, भित्र गएर मेरो लगा,” सुशान्तले गाली गर्‍यो ।

“होइन दाइ, मैले खाल्डोमा फेर्‍या हुँ,” ऊ लिपिक्क सुशान्ततिरै टाँसियो ।

“बिहा खान बोलाएर धराप थापेर बस्ने तपैं बेइमानी ?,” सागबारीको बीचमा पनि मान्छे करायो ।
सुशान्तले ज्योति किरणलाई छाडेर आफ्नो लुगा टकटक्याउँदै भन्यो, “कहाँ मेरो बिहा हुनु ? मेरी छोरीको चाहिँ बिहा हो । कसले भन्यो मेरो भनेर ?”

प्रमोद हितैषीले सोमा र दीपकलाई उभ्याएर सोधिरहेथ्यो, “के कागजमा लेखिएजस्तै सम्झौता पूरा गर्न सक्नुहुन्छ त ?”

दीपकले भन्यो, “हो, म प्रयास गर्नेछु । सोमाजी जस्तै हाम्रो समाजमा अनेकौं छोरीहरुले मान्छे हुनुको मान्यता पाउन संघर्ष गरिरहेछन् । समाजको अवहेलना खेपिरहेका छन् । अर्काको घर जाने जात भनेर अवहेलना भोगिरहेका छन् । बाह्रजना नै छोरी भए पनि त्यो घरका लागि कोही हुँदैनन् । उखानै छ नि, तोरीको कमाइ र छोरीको जहान नगने हुन्छ भनेर । अब त्यस्तो नहोस् । हाम्रो पहिलो सन्तान सुनाम हुनेछ । सोमाजी जन्मेको घर सन्तानले भरियोस् । दोस्रो सन्तान मात्र कुलुङ हुनेछ ।”

“बालअधिकार हनन भएन र ? जबर्जस्ती मन परेको मान्छेको थर लेख्न लगाउँदा पछि उनीहरुले मन पराउँछन् भन्ने के छ ?,” प्रमोदले सोध्यो ।

“प्रायः बच्चामा जे बानी पर्‍यो, त्यही कुरा मन पर्दै जान्छ । पछि उनीहरुले मन नपराउन पनि पाउँछन् । तर त्यहाँ माया र कर्तव्य दुवै भएपछि बच्चाले बिस्तारै बुझ्दै जान्छ । समाजलाई सुरूमा अनौठो लाग्ला । तर संस्कार बनिसकेपछि सहज लाग्नेछ ।”

“यस्तो भए राम्रो हुने थियो भन्ने श्रीमतीप्रति कुनै माग छ ? छ भने आजै भनिहाल्नोस्,” प्रमोदले हाँस्दै भन्यो, “पछि अवसर नआउला फेरि ।”

दीपकले हाँस्दै भन्यो, “खै हौ, कोन्त । बिना प्लानको बिहा पर्‍यो । केही सोचेकै पो छैना ताउ । यति हो धूम्रपान, मद्यपान चाहिँ नगर्दियोस् जस्तो लाग्छ ।”

झटपट सोमा बोली “ई, के त ल्वाङ खाइराछु । सास पनि मीठो गन्हाउने, खर्च पनि कम हुने । हामी भेट भएको बाह्र घण्टा भइसक्यो । मैले चुरोट खाएँ त ? तपाईंको लागि बाह्र घण्टाबाट बाह्र दिन, बाह्र महिना, बाह्र वर्ष गर्दै बाह्र दशक नै चुरोट नखाइदिन सक्छु,” उसले चपाएका ल्वाङको टुक्रा देखाएर भनी, “मान्छे बिग्रिन समय लागेजस्तो सुध्रिन समय लाग्दैन अरे त, गणेश दाइले भन्नुभा । चट्टै सुध्रिसकेँ त ।” सोमा मज्जाले हाँसी पनि । प्रमोद पनि हाँस्यो ।

प्रश्न फेरि सुरु भयो, “तपाईंको यो कदमलाई समाज, तपाईंको अभिभावकले मान्यता देलान् भन्ने विश्वास छ त ?”

दीपकले अकमकाउँदै भन्यो, “अब, अ…ब, हुन त सुरूमा सबैले नै नयाँ कुरा अपनाउन हिचकिचाउँछन् नै । तर समाजमा यसो पनि गर्न सकिन्छ है भनेर कन्भिन्स गर्दै लानुपर्छ । हामीले कुनै अपराध गरेको होइन । मानवीय हितका लागि हाम्रो संस्कारलाई विनिर्माण गर्दै लानुपर्छ भन्ने मान्यता हो । म पनि नयाँ काम गर्न रूचाउने मान्छे हुँ ।
तर समाज परिवर्तन गर्छु भनेरै फिल्म बनाउँदा लगानी डुबेर जोगी भइयो र पो त । हेरौं, विवाह कस्तो हुन्छ ।”

प्रमोदले हाँस्दै अर्को प्रश्न थप्यो, “अब विवाह पनि असफल भयो भने चाहिँ के गर्ने विचार छ ?”

दीपकले पनि उस्तै ठट्यौली उत्तर दियो, “अन्तिममा, चन्दा उठाएर कमण्डलु र गेरू वश्त्र किन्नु पर्ला ।”

हाँसोमय भयो घर ।

प्रश्न सोमातिर फर्कियो, “तपार्ईंले पो पुर्ख्याैली सम्पत्ति मनग्गे भएकाले श्रीमान् खोज्ने हैसियत राख्नुभो । तर गरिब महिलाहरुले के गर्ने ?”

सोमाले दीपक र सुशान्ततिर पिलिक्क हेरी, “के भन्ने ?”

“जे हो त्यही भन न,” सुशान्तले भन्यो ।

“अँ म त भन्छु, आफूसँग जे छ, त्यसैको सदुपयोग गर्नुपर्छ । मसँग रेलगाडी छैन, हेलिकप्टर छैन, बङ्गाला छैन । ती सबै हुनेहरुका अगाडि म ज्यादै गरिब महिला हुँ । तर मसँग जे छ, त्यसैले थेग्ने किसिमको जीवनशैली बनाउने प्रयासमा छु । यसैले अरु दिदीबहिनीहरुले पनि सपनाको राजकुमार र वायुपङ्खी घोडाको कथा छाडिदिनोस् । आफू एकजना बराबर अरु तीनजना पाल्न सक्ने गरी काम गर्ने हिम्मत राख्नुहोस् । चाहेको कुरा पुग्छ ।”

“सबै महिलाहरुले ‘श्रीमान् भित्र्याऊ’ भन्ने सन्देश हो तपाईंको ?”

“कहाँ हुनु ? त्यस्तो होइन । तर चाहेको खण्डमा, आवश्यक परेको खण्डमा ‘यसरी पनि जीवन चलाउन सकिन्छ है’ भन्न मात्रै चाहन्छु ।”

“कस्ता खालका महिलाहरुले चाहिँ श्रीमान् भित्राउनुपर्छ ?”

प्रमोदको प्रश्नले खत्रक्कै गलेर पेटीमा थचक्क बसी सोमा । तर, क्यामेराले क्वारक्वार्ती हेरिरहेपछि बोल्न करै लाग्यो, “श्रीमान् खोज्न महिलाको खाल हुनुपर्छ भन्ने मान्यता राख्दिनँ । यति हो, छोरो भएन भनेर समाजले बारम्बार ङ्याक्छ भने, दाइजो ल्याउन सकिनस् भन्दै जलाउन खोज्छ भने त्यस्तो ठाउँमा छोरीले यो कदम उठाउन तयार हुनुपर्छ । उसले जन्मघरबाट पाउने अंश र वंशको अधिकार प्रयोग गर्नुपर्छ ।” एकछिन रोकिएर बोली, “अरु त आवश्यकताले परिवर्तनका सिँढीहरु थप्दै लाने हो । परिस्थिति अनुसार समाजको संरचना परिमार्जन गर्दै लानुपर्छ जस्तो लाग्छ ।”

प्रमोद पर लडिराखेका युवाहरुतिर प्रश्नको मूठा लिएर गयो ।

ज्यान भुइँमा लडे पनि हात चाहिँ सीधा आकाशतिर उठाएर नयाँ तिर्खाले भन्दै थियो, “यो सोमा दिदीको बिहा गर्ने तरिका एकदम गज्जपको लाग्यो यार ! सबैले यो चलनलाई अपनाउनुपर्छ । मजस्ता युवाहरुले बल्ल राहत पाउनेछन् । आफ्नो सपना केके छ, केके, गर्लफ्रेन्डले विदेश जा..जा..जा भनेर मार्न लागी । पुरूष भएर जन्मिएपछि पैसै कमाउनुमा जिन्दगी सक्नुपर्ने छ र ! रहरको कामै गर्न नपाउने हो र !” भिडियो खिचेको थाहा पाएर झन् उच्किएर बोल्यो, “मूला जनवादी बिहामा के परिवर्तन भयो खै ? निम्तालुलाई भोकै पठाउने र बेहुलीलाई सित्तै भित्राउने कामबाहेक केही परिवर्तन भएन । न महिलाले समान अधिकार पाए, न त पुरूषको जिम्मेवारी कम भयो । हाम्रो सोमा दिदीको बिहा गराइ ठीक छ । कामनाम सबै आधाआधा । यो हो नि तरिका ।”

ज्योति किरणले बाहिरतिर जाँदै गरेको सुशान्तलाई भन्यो, “दाइ ! म पनि सोमा भतिजजस्तै केटीसँग बिहा गर्ने हो ।”

“दुई खुट्टाले उभिँदैमा असल केटी पाइन्छ ?,” सुशान्तले हकार्‍यो ।

“कतिटाले उभ्नु त, दाइ ?”

“कामधाम गर्नुपर्‍यो, जाँडरक्सी खान भएन । पढ्न पर्‍यो धेरै,” सुशान्त बोल्दै गेट बाहिर गयो ।

ज्योति किरण गनगनायो, “ऐलेको ऐले, यो बूढा चढिगो है,” ऊ सुशान्तको विरूद्धमा नारा लगाउन थाल्यो, “मुर्दावाद ! सुशान्त दाइ मुर्दावाद ! मुर्जिन्दावाद ! जिन्दावाद !”

सुशान्त फरक्कै फर्केर अगाडि उभिएको थियो । ज्योति किरणको नारा एक्कासी फेरियो, “दाइ जिन्दावाद । मेरो दाइ जिन्दावाद ।”
देवी हातमा बोतल बोकेर नाच्न लागी, “ए भिनाजु, मलाई खुकुरी चप्पल… ।” सोमा र दीपकलाई पनि सँगै नाच्न गए । देवीले हर्षको आँसु थाम्न सकिन । रुँदै बोली, “सदियौं अघि खोसिएको महिलाको विरासत फर्काङ्नु तिमीले शुभारम्भ गर्‍यौ । यो युगको सलाम छ तिमीलाई । जीवनभर पराधीन भएर जुनी फालेका अनेकुङ पुस्ता महिलाहरुको श्रद्धाञ्जलिका लागि तिम्रो जन्म भएको रहेछ छोर्री । आबो जन्मिने छोरीहरुले स्वधीनताको विरासत गर्भमै प्राप्त गरोस् ।’

सोमाले देवीको गोडा छोएर प्रतिज्ञा गरी, “छेमा ! तपाईले दिनु भएको शिक्षाले समाज परिवर्तन गर्न हरप्रयास गर्नेछु ।”

नुमाले भित्रबाट कराई, “ईः लु, हजुरबाको आशीर्वाद थाप्न आओ ।”

साया रातो कुर्ता सलवारमा चिटिक्क बेहुलीजस्ती सिँगारिएर दियोकलश मिलाइरहेकी थिई । दीपक ट्वाँ…. परेर सायालाई हेरेको हेर्‍यै भयो । सोमाले घुच्चुकमा क्याच्च हानेर दीपकलाई आफूतिर तानी ।

दीपक रिसाएर बोल्यो, “पहिलो दिनै हिर्काउन थाल्नुभो त यार ! हिन्दिन्छु है फेरि ।”

सोमाले खिस्स हाँसेर भनी, “हँ ? सबैभन्दा गाह्रो त लोग्ने रत्याउन पो हुन्छ कि क्या हो ?”

सुशान्तले पनि छोरीलाई गिज्याउँदै भन्यो, “अँ, अब पालो आयो त, पुरूषले पनि दङ्ग्याई दङ्ग्याई खाने दिन । कति महिलाहरुले मात्र सताएर हैरान पार्छौ ?”

बैठक कोठामा हाँसो भरियो ।

वीरबहादुर सुनाम ज्वरोले गलेर मुस्किलले सीधा बसेका थिए, सोफामा । सोमाले हजुरबाका गोडा छोएर कसम खाई, “हजुरबा ! हजुरको बिरासत ढल्न दिने छैन । हजुरका पछाडि हजुरकै रगतले बनेका दरसन्तान आउनेछन् । कोही छैन भनेर हरेस खान अहिल्यैबाट छाडिदिनुहोस् । हजुरको इज्जत रौलाकेदार डाँडा जस्तै उच्च बनाइदिने बाचा गर्दछु ।”

बाले पनि बडो सकसले टीका लगाइदिँदै भने, “तेरो सपना पूरा होस् भउवति । आजदेखि तँ छोरो भइस् । नामले मात्र होइन, कामले पनि भउवती भएस् !”

“हजुरबा ! म छोरो होइन; छोरी नै हुँ । बाउबाजेको बिरासत थाम्न सन्तानले लिङ्ग फेर्नु पर्दैन । हजुरले दिनुभएको नामको अर्थ पूरा गर्नेछु ।”

वीरबहादुरले लामोलामो श्वास लिएर नातिनीलाई टीका लगाइदिए ।

टीकापछि सोमाले बाउका पनि गोडा छुन खोजेकी थिई, सुशान्तले झ्याप्पै अँगालो हाल्यो । पच्चीस वर्षदेखि गलेको हृदयले बल्ल छोरीको दरिलो सहारा पाएर खुसीका अविरल आँसु बगिरहे । सुशान्तले छोरीको काँधमा निकैबेर दुःखको थकाइ मारिरह्यो ।
नुमालाई खुसीले पाइलाहरु स्थिर राख्न हम्मेहम्मे परिरहेको थियो । बल्ल पो काख भरिएजस्तो, बल्ल पो आमा भएजस्तो भयो । मन बुरूक–बुरूक उफ्रिइरह्यो ।

पच्चीस वर्ष लामो पिडाको थकाइ मार्दै नुमाले पिलिक्क सुशान्तलाई हेरी । सुशान्तले पनि हे¥यो ।

सुशान्तले बालाई गिज्याएर सोध्यो, “बा, म चाहिँ कहिले बिहा गर्नु ? कहिले छोरो पाउनु ?”
बा पनि हाँस्दै मुर्मुरिए, “अब तेरो चानस गयो । भउवतीले गर्छे सबैथोक ।”

सुस्तरी हावामा थाङ्ग्राहरु जीउ लर्काउँदै नाचिरहेका थिए । स्कुस, सिमी, बोडीका मुना रुखको टुप्पा छुन हतारमा बढिरहेका थिए । क्यामेरामेनले ढल्कीढल्की बिरुवाहरुको पनि फोटो लियो, जो नासपाती, सुन्तलाहरुको बोटमा झपक्कै फूल लागेका थिए ।

“पानी पर्‍यो, पानी,” मान्छेहरु सल्याङबल्याङ गर्न थाले । सोमाले दीपकलाई छतमा डोराउँदै लगी ।
घामपानी परिरहेथ्यो । पूर्वतिर पूर्णाकारको इन्द्रेणी झुल्कियो । झुल्केको इन्द्रेणी पूरा हुन थोरै बाँकी थियो । दीपकले सोमाको काँधमा चिउँडो अड्याएर भन्यो, “कस्तो राम्रो इन्द्रेणी लागेछ है ?”

दीपक फेरि बोल्यो, “अँ, बर्खा लाग्यो नि त ।”

सायाले पुरानै चित्रमा नयाँ पात्र थपेर फेरि अर्को क्यानभास रङ्गाउन थाली ।

पर्दा खस्यो

(लेखक राईको उपन्यास थाङ्ग्रा आउँदो फागुन १३ गते शनिबार मण्डला थिएटर थापागाउँमा विमोचन हुँदैछ)