वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी



काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआइआइ) तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआइएफ आइआइ) बाट १ अर्ब ९८ करोड संयुक्त लगानी पाएको छ । बीआइआइबाट १ अर्ब ८ करोड नेपाली रुपैयाँ प्राप्त गरेको छ । साथै डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ बराबरको लगानी पाएको कम्पनीले जनाएको छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपीयाँ बराबरको लगानी वल्र्डलिंकले प्राप्त गरेको हो । जुन इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो ।

सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाईसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

वल्र्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ । वल्र्डलिंक देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि हो । हाल यस कम्पनीमा ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन् । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्नेछ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणरस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ ।

कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वल्र्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको छ । साथै कम्पनीको इन्टरनेट सेवा छत्रकोट गाउँपालिका र रुरु गाउँपालिका जस्ता देशका विभिन्न ग्रामीण भागमा पुगेको छ । धेरै हजार किलोमिटर फाइबर विछ्याएर यो हाँसिल गरिएको छ । कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरेनेट विस्तारको गतिविधिहरुलाई गति दिनेछ । वल्र्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउनेछ । गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई मात्र होइन, अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्नेछ ।

अन्य एशियाली राष्ट्रहरुको तुलनामा, नेपालको डिजिटल पहुँच कम छ, जसले समुदाय र व्यवसायको विकासमा वास्तविक चुनौतीहरु सिर्जना गरेको छ । सर्वसाधारणका लागि सस्तो र गुणस्तरीय इन्टरनेटको पहुँचमा सुधारले नेपालको आर्थिक वृद्धि र समग्र विकासमा योगदान पुर्‍याउनेछ ।

वल्र्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवाले भने, ‘हामीले यसमा गर्व मात्रै गर्दैनौं कि, लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा पनि प्रतिवद्ध छौ । यो २७ बर्षको हाम्रो समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम पनि हो । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वल्र्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ ।’

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्रविधि र टेलिकमका प्रबन्ध निर्देशक र प्रमुख अभिनव सिन्हाले वर्ल्डलिंकको विस्तार र हजारौ घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि प्रभावबाट प्रभावित भएको बताए ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रुपान्तरण एक प्रमुख कारक भएको र यस क्षेत्रका घर परिवार र व्यवसावहरुलाई समर्थन गर्नेजस्ता लगानीहरु महत्वपूर्ण हुने बताइन् ।

डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीइले एआइ सेवाहरुमा ५ हजार भन्दा बढी नेपालीका लागि गुणस्तरीय रोजगारी रहेको बताए ।

‘तर यी कामहरु मुख्यतया: सहरी क्षेत्रहरुमा सीमित छन्, जहाँ ब्रोडब्यान्ड छिटो र अधिक विश्वसनीय छ, वर्ल्डलिंकमा हाम्रो लगानी, हाम्रो साझेदारी ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टसँगसँगै रोजगारीहरुलाई थप क्षेत्रहरुमा पुग्न सक्षम बनाउनेछ,’ उनले भने ।