तिमी नचढ्नु आफैंले बनाएको भ्यु-टावर !

तिमी नचढ्नु आफैंले बनाएको भ्यु-टावर !



देखिनेछन्
सानासाना झुपडीहरु, पुराना
तिम्ले बनाएको अग्लो भ्यु-टावरबाट

अझै नियालेउ भने,
पुराना झुपडीहरुका फाटेको छानाभित्र
देख्नेछौ,
वर्षौँ वर्षदेखि भोकाएका रित्ता भकारी

देख्नेछौ
भोकले ब्याकुल सुत्केरीका
चाउरिएका स्तन

तिनै स्तनमा मुख गाडेर
अन्तिम स्वासमा अल्झिरहेको
चिचिलो शिशुको ज्यान

र देख्नेछौ
यस्तै यस्तै
देख्नै नसकिने दृश्यहरु

त्यसैले
तिमी नचढ्नु
आफैंले बनाएको भ्यु-टावर !

तिमीले भ्युटावर चढेर झरेको दिन
रातभरी तिम्रो सपनामा
ऐठन गराउन आइपुग्नेछन्
सुत्केरी आत्माहरु
निमोठ्नेछन् तिम्रो गर्धन
र निदाउनेछौ तिमी सधैंसधैंलाई

तिमी निदायौ भने त
फेरि जन्मिनेछन् तानाशाहहरु
र भत्काइदिनेछन्
तिम्रो आधुनिक विकाशको प्रतिबिम्ब
भ्यु-टावर!

त्यसैले तिमी नचढ्नु भ्यु-टावर!

तिम्ले भ्यु-टावर बनाइदियौ र त
मेरो बा’को युगौं युगदेखिको मैलो टोपी हरायो

तिम्ले भ्यु-टावर बनाइदियौ र त
आदिमकालदेखि निहुरिरहेको
मेरो बा’को शिर ठाडो हुन पायो ।