श्रवणसम्बन्धी अपाङ्गता भएका दुई अमेरिकी सगरमाथा चुचुरोमा

श्रवणसम्बन्धी अपाङ्गता भएका दुई अमेरिकी सगरमाथा चुचुरोमा



काठमाडौं । श्रवणसम्बन्धी अपाङ्गता भएका दुई जना अमेरिकी सर्वोच्च सिखर सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् ।
गत जेठ ८ गते अमेरिकी नागरीक शेना अङ्गर र स्कट लेमनले सफलतापूर्वक सगरमाथा आरोहण गरे । शेना सगरमाथा आरोहण गर्ने श्रवणसम्बन्धी अपाङ्गता भएकी प्रथम महिला बनिन् भने स्कट प्रथम पुरुष बने ।

सगरमाथाको आरोहण गर्नु पहिले देखिकै सपना रहेको उनिहरुले बताएका छन् ।

“सगरमाथाको आरोहण गर्नु लोमो समय अघिदेखि हाम्रो सपना थियो । हामीले सगरमाथाबारे चलचित्रहरु हेरेका थियौं र कितावहरु पढेका थियौं । सन् २०१७ सम्म, नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सगरमाथा चढ्न वन्देज लगाएको थियो । हामी अत्यन्त दुखी थियौं, किनकि हामी चड्न पाउँदैनौं भन्ने थियो ।” सगरमाथाको आरोहण गरेपछि लेमनले भने, “तर सन् २०१८ मा सर्वोच्च अदालतले त्यो निर्णय उल्ट्याइदियो र अपाङगता भएका व्यक्तिहरुलाई सगरमाथा आरोहणको अनुमति दियो । त्यसले हामीलाई राहत मिल्यो । सगरमाथा चड्ने हाम्रो आशा जाग्यो ।”

सगरमाथाको आरोहण गरेर वाधाहरु पार गरेको महसुस भएको अर्की आरोही शेनाले बताइन् । उनले भनिन्, “जब हामीले सगरमाथा आरोहण गर्यौं, हामीलाई वाधाहरु पार गरेको महसुस भयो । कुनै बेला अपाङ्गता भएका व्यक्तिहरुलाई सगरमाथा चड्न दिइँदैन थियो । हामी श्रवणसम्बन्धी अपाङ्गता भएका व्यक्ति हौं र सञ्चारसम्बन्धी व्यवधानहरु थिए । कतिपयले हामीमाथि विश्वास गरेनन् । सबै बाधा पार गर्दै हामी सिखरमा पुग्यौं र अपाङ्गताको बाबजुद जोकोहीले आरोहण गर्न सक्छ भन्ने विश्वास दिलायौं । हामीलाई थोरै अनुकुलता मात्र प्रदान गर्नुपर्छ ।”

सात महादेशका सात वटा शिखर आरोहण गर्ने श्रवणसम्बन्धी अपाङ्गता भएका प्रथम व्यक्तिहरु हुने लक्ष्य रहेको उनिहरुले बताएका छन् । सात महादेशको सर्वोच्च पर्वत चड्ने योजना बनाएकोमा चार वटामा चडिसकेका छन् । अब बाँकी तीन वटा चड्ने आफुहरुको योजना रहेको बताएका छन् ।

यसै सिलसिलामा श्रवणसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई बाहिरी क्रियाकलापमा कसरी संलग्न हुन सक्छौं भन्नेबारे सचेतना बढाउने कार्य पनि गरिरहेको लेमनले बताए ।

“हामी हाम्रो आफ्नै समुदायमा पर्वतारोहणबारे चेतना फैलाउन चाहन्छौं । अहिले हामीलाई जानकारी र शिक्षामा पहुँचको कमी छ । त्यसैले हामी यो परियोजना मार्फत परिवर्तन ल्याउन चाहान्छौं । हामी यो काम आगामी धेरै वर्षसम्म निरन्तर रुपमा गर्नेछौं ।“