सामाजिक चित्र र चरित्रको बेजोड प्रस्तुती ‘खाइराइड’

सामाजिक चित्र र चरित्रको बेजोड प्रस्तुती ‘खाइराइड’



सात समुन्द्र पारीको देश क्यानडामा बस्ने राजेन्द्र कार्कीको भदौ ७ गते एकाएक फोन आयो । ‘ ९ गते शनिबार सुकेधाराको वाग्मती स्कुलमा मेरो पुस्तक विमोचान हुँदैछ , नर्बिसी आउ’ भन्नु भयो । दिउसो १ बजे भव्य समारोह वीच राजेन्द्र कार्कीको पुस्तक ‘खाइराइड’ लगायत अन्य चार जना मुर्धन्य लेखक तथा साहित्यकारका पुस्तकहरु पनि विमोचन गरिए ।

राजेन्द्र कार्कीका मिडियामा प्रकासित लेखहरु मात्रै होइन, फेस बुकका ‘स्टाटस’ हरु समेत नछुटाई पढ्ने बानी परिसकेको छ मलाई । पुस्तकमा समेटिएका उहाँका अन्य रचनाहरु पढिसकेको रहेछु , तर ‘खाइराइड’ शीर्षकको निबन्ध चाँही पढ्न बाँकी रहेछ । फेरी पुस्तकको शीर्षक पनि ‘खाइराइड’ नै । खाइराइड शब्द मैले पहिलो चोटी सुने । पुस्तक पल्टाएर हेरेपछि छर्लङ्ग भयो । हुन त उहाँ नेपाली भाषाको शब्दका सर्जक समेत हुनुहुँदो रहेछ भन्ने कुरा विगतमा लेख पढेरै थाह पाइ सकेकी थिएँ ।

उहाँको लेखमा प्रयोग हुने कतिपय शब्दहरु नेपाली भाषाको शब्दकोशमा मात्रै होइन कुनै पनि भाषाका शब्दकोषमा भेटिँदैनन् । उहाँले शब्दको आविस्कार यसरी गर्नु हुन्छ की , पढ्ना साथ स्पष्ट अर्थ बुझिने , र कहिल्यै पनि नबिर्सने । कहिले काँही त यस्तो लाग्छ की उहाँको लेख सम्पादन गर्ने तथा प्रकासन गर्ने क्षमता र ताकत राख्ने मिडियाहरु थोरै होलान । बास्तवमा खाइराइड पुस्तकलाई हास्य व्याङ्ग्य निवन्ध संग्रहको कोटीमा राखेर प्रकाशन गरिनुको कारण यही हुनुपर्छ । हास्य व्याङ्ग्य भन्दा पनि ‘मन्त्र’को कोटीमा राख्नु उत्तम हुन्छ ।

हाम्रो समाजको चित्र बढो जटिल छ । औषत मान्छेहरु हाम्रो सामाजिक चित्र र चरित्रलाई परिभाषित गर्न सक्दैनन् । अथवा औषत मान्छेले गरेका परिभाषा एकांकी हुन्छन् । धेरैले आत्मासाथ गर्ने परिभाषाका लागि अध्यायनका अलवा साहित्यिक चेत चाहिन्छ । आँफुले मात्रै बुझ्न त अध्यायन गरे मात्रै पनि पुग्ला तर अरुलाई पनि बुझाउने प्रयास गर्ने हो भने साहित्यिक चेत चाहिन्छ । दिमागमा प्रशस्त शब्द भण्डार हुनुपर्छ । शब्द संयोजन गर्ने शैली हुनु पर्छ । आखिर अक्षर र शब्द भनेका एउटै हुन् तिनै हुन् , तर कसैले लेखेका अक्षर तथा शब्दका कागजहरु चनाचटपट पोकोपार्न प्रयोग हुन्छन् , तर कसैले लेखेका अक्षर तथा शब्दका कागज पूजा गरिन्छ । मन्त्रका रुपमा जपिन्छ । अक्षर , शब्द र बाक्यमा कति शक्ति रहेछ ? भन्ने बुझ्न राजेन्द्र कार्कीको ‘खाइराइड’ पुस्तक एउटा उदाहरण हुनसक्छ ।

हाम्रो समाजमा यति धेरै विसंगति र विकृति छन् गनेर साध्य छैन , पल पलमा विकृतिहरु छन् । विकृतिलाई धर्म तथा संस्कार ठान्दै आइरहेको हाम्रो समाजमा देखेका कतिपय कुरा कुरा सिधै लेख्न संभव छैन । उदाहरणका लागि जातकै कारण मानिसको हत्या गर्दा नउम्लेको रगत गोरु मार्दा किन उम्लिन्छ ? भनेर प्रश्न गरियो भने मुद्दा पर्न सक्छ । तर यही कुरालाई अनेक विम्व प्रयोग गरेर प्रस्तुत गरियो भने मानिकहरुले ‘हो त रहेछ’ भन्छन् । उदाहरणका लागि समाज परिवर्तनका संवाहक हुँ भन्ने नेताहरु दाइजो प्रथाको विरोधमा दुई–तीन घण्टा भाषण गर्छन, उपलव्धी शुन्य । तर राजेन्द्र कार्की लेख्नु हुन्छ –‘ दाइजो र दहिज खोज्ने केका ज्वाइँ ? त्यस्ता ज्वाइँलाई के छोरी ? नखोज जोरी भनेर च्वाई पार्दै फिर्ता पठाउनु पर्छ ।’ उहाँको यो लेख सामाजिक संजालमा भाइरल हुनु र दाहिजो माग्ने केटालाई विवाह मण्डप बाटै लघारेर लखेटेका समाचारहरु मिडियामा आउन थाल्नु संयोग मात्रै होइन । सरस्वतिले बास गरेका लेखकहरुको शब्द शक्ति कति हुँदो रहेछ भन्ने उदाहरण हो यो ।

राजेन्द्र कार्की नेपाली साहित्य क्षेत्रको चलन चल्तीको नाम होइन । मैले बुझेसम्म उहाँका दृष्टिकोणहरु सार्वजनिक भएको समाजिक सन्जालको विकास सँगै हो । विगत पाँच वर्षको अवधिलाई हेर्ने हो भने उहाँले निकै धेरै लेख्नु भएको छ । तर पुस्तकका रुपमा भने ‘ खाइराइड’ पहिलो किर्ती हो । पहिलो किर्तीमै यति ठूलो हलचल ल्याउने लेखक तथा साहित्यकारहरु नेपालमा सिमित छन् । अधिकांशले लेख्नका लागि लेख्छन् । तर राजेन्द्र कार्की निकै माथिल्लो स्तरको चर्चित लेखक तथा साहित्यकार हुनुहुँदो रहेछ भन्ने कुरा यो पुस्तकले पुष्टि गरेको छ । यति मात्रै होइन उहाँ आँफू स्वयं पनि समाज परिवर्तनका क्रान्तिकारी योद्धा समेत हुनु हुन्छ भन्ने कुरा यो पुस्तक पढेपछि छर्लङ्ग हुन्छ । उहाँ जे भन्नु हुन्छ , त्यो गर्नु हुन्छ । जे गर्नु हुन्छ त्यो भन्नु हुन्छ । यो कुरा पुस्तकले नै पुष्टि गरेको छ ।

सायद २०७७ सालको दशैंमा हुनुपर्छ । उहाँले श्रीमतीको हातबाट टिका लगाएको सन्दर्भलाई लिएर लेखेको एउटा लेखले ठूलो तहल्का मच्चाएको थियो । उहाँकै भनाईमा श्रीमतीबाट श्रीमानले दसैंको टीका लगाउनु न त क्रान्ति थियो, न क्रान्ति नै हो । यो नवदुर्गा भवानीको आराधनापछि प्रसाद ग्रहण गर्ने प्रक्रिया हो। न यो पितृसत्ता हो न मातृसत्ता हो । यो त केवल मन, मुटु र ममता जोडिएका श्रीमानश्रीमतीको भित्री सत्ता हो । तर यही कुरा नेपाली समाजका लागि ठूलो मार्गदर्शन बन्यो । यही विषयमा ठूलो बहस भयो । सामाजिक सन्जाल मार्फत यथास्थितिबादीहरुले तीतो पोखे । यही विषयलाई लिएर कतिले लेख नै लेखे । सरहना गरे ।

अमेरिका र क्यानडा गएर बसोबास गर्ने साथीहरु मध्ये अधिकांशको जीवनस्तर नेपालमा बस्दाको तुलनामा राम्रै छ । उनीहरु सुखी बनेका छन् । केहीले पुस्तक पनि लेखेका छन् । उनीहरु मध्ये केहीले नेपाल आएर आफ्नो पुस्तक विमोचन गराएका पनि छन् । कतिपयका विमोचन समारोहमा म पनि पुगेकी छु । पुस्तक पढ्ने आग्रहलाई स्वीकार गरेकी पनि छु । तर एउटा भनाई नै छ – ‘दुख जति बाड्यो, त्यति घट्छ , सुख जति बाड्यो त्यति बढ्छ ।’ उनिहरुका पुस्तकका अधिकांश अक्षरहरु सुख दुख बाँढ्न मै सिमित छन् । ‘खाइराइड’ पढ्ने मौका नपाउनेहरुले राजेन्द्र कार्की लाई पनि सुख दुख बाढ्ने नेपाली डायस्पोराका अमेरिकी लेखकहरुको कोटीमा राख्ने त होइनन् भन्ने डर भने छ । तर नेपाली डायस्पोराका सबै लेखकलाई एउटै डालोमा राखेर दृष्टिकोण बनाउँदा आँफै पछि परिने रहेछ भन्ने चेत ‘खाइराइड’ पढेपछि छर्लङ्ग सँग खुल्छ ।

समसामयिक विषयमा मिडियामा लेखेर जीविको पार्जन गर्नेहरुका लागि ‘खाइराइड’ले हाते पुस्तकको काम गर्न सक्छ । किनकी यो पुस्तक पल्टाए पछि ‘कुनै मिडियाले लेख मागे भने कुन विषयमा लेख्ने होला ?’ भनेर घोत्लिँनै पर्दैन । पुस्तकका वाक्य वाक्यमा विषयबस्तुहरु छन् । अर्को कुरा खाइराइडमा यस्ता निवन्धहरु संग्रहित छन् , जुन निवन्धहरु जहिले पढे पनि ताजा लाग्छन् । कहिल्यै पनि पुराना लाग्दैनन् ।

विदेशमा बसेर नेपाली भाषामा लेख्नेमध्ये राजेन्द्र कार्की सबै भन्दा अघि हुनुहुन्छ भन्ने कुरा दोहो¥याइरहनु पर्दैन । लेखक तथा साहित्यकार राजेन्द्र कार्कीले सात समुन्द्र पारीको देश क्यानडा बसेर पनि काठमाडौंमा बस्ने लेखक तथा साहित्यकारले भन्दा धेरै योगदान पु¥याइरहनु भएको छ ।

भोजपुरेहरु बसाँइ सराँइका क्रममा जहाँ जहाँ पुगेका छन्, रित्तै पुगेका छैनन् , शिक्षा र सामाजिक क्रान्तिको ज्योति पनि सँगै लिएर पुगेका छन्, नेपालमा मात्रै होइन विदेशमा पनि शिक्षा र सामाजिक क्रान्तिको ज्योति लिएरै पुगेका छन् । यसैको एउटा उदाहरण हुनुहन्छ राजेन्द्र कार्की ।

१ सय ६० पृष्ठको खाइराइड पुस्तक एक दिनभरीमा मज्जाले पढ्न सकिन्छ । निन्द्रा र अल्छीपनले सताउनेहरुका लागि त यो पुस्तक क्याप्सुल जस्तै हो । पुस्तकको मुल्य पनि खासै महंगो छैन । एक सय ६० पृष्ठको पुस्तक ३ सय रुपैंयामा पाइनु भनेको निकै सुलभ हो । यति पैसा त एक सय ६० पेज रित्तो कागजलाई नै पर्छ । अक्षर त उहाँले पाठकलाई दान दिनु भएको छ । ऋषिमुनीहरुले मन्त्रदान गरे जस्तो ।