प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्दै

प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्दै


ग्लोब नेपाल
567
Shares

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सम्बोधन गर्दै छन् । बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम तय थियो ।

प्रधानमन्त्री दाहालले आज जलवायु परिवर्तनका कारण परेको असर र प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वान: जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदै छ ।

कोप-२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अतिकम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो दृष्टिले नेपालका लागि महन्तपूर्ण रूपमा हेरिएको छ ।

कोप २८ को उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसले नेपाल विश्वकै नजरमा परेको दाहालले बताएका छन् ।

जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्त्व दिएको तथा वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको दाहालले शुक्रबार आयोजित कार्यक्रममा बताएका थिए ।