अफगानिस्तानको नहर निर्माणमा नेपालका ‘सेकेन्डहेन्ड’ एस्काभेटर

अफगानिस्तानको नहर निर्माणमा नेपालका ‘सेकेन्डहेन्ड’ एस्काभेटर



काठमाडौं । श्रमको खोजीमा विदेश जानु आम नेपालीका लागि सामान्यजस्तो लाग्छ, तर निर्माण औजार नै विदेशीलाई बेच्न थालियो भनेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा काम बिहिन निर्माण औजारहरु यतिबेला निर्माण व्यवसायले धमाधम विदेशीलाई बेच्न थालेका छन् । निर्माण व्यवसायमा सुस्तता आएसँगै औजारहरु व्यवसायीले बिक्री गर्न थालेका हुन् ।

अफगानिस्तानमा भीमकाय नहर निर्माणकार्य चलिरहेको छ । उक्त नहर निर्माण परियोजनामा नेपालबाट एस्काभेटर लैजाने गरिएको छ । अफगानिस्तान लगिएका एस्काभेटर नेपालमा उत्पादन भएर निर्यात गरिएको होइन । निर्माण व्यवसायीका सेकेन्डहेन्ड एस्काभेटर अफगानिस्तान लैजाने एजेन्सीलाई बिक्री गरेका हुन् । नेपालको निर्माण उद्योग सुस्ताएका बेला कामबिहीन बनेका त्यस्ता एस्काभेटर व्यवसायीले अफगान लैजाने एजेन्सीलाई सस्तो मूल्यमा बेचेका हुन् ।

राजन प्रशान्त निर्माण सेवाका निर्देशक राजेश पोखरेलले डेढ वर्षअघि १ करोड १० लाख रुपैयाँमा किनेको एस्काभेटर २५ लाख रुपैयाँमा बेचे । व्यवसायमा मन्दी आएकाले बैंकको किस्ता तिर्न करोडौं मूल्य तिरेर किनेको एस्काभेटर २५ लाख रुपैयाँमा बेचेका हुन् । यस्तै भवानी कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक भवानी शर्माले पनि दुई वर्षअघि किनेको एस्काभेटर बिक्री गरे । उनले बिक्री गरेको मूल्य बताउन चाहेनन् । शर्माले भने, ‘उपयोगमा नभएकाले त्यत्तिकै खिया लगाएर राख्नुभन्दा बिक्री गर्न उचित ठाने ।’

सेकेण्डहेन्ड एस्काभेटर किनेर मर्मत सम्हार र डेन्टिङपेन्टिङ गरेर भारतको बाटो हुँदै अफगानिस्तान पु-याइने गरिएको छ । अफगानिस्तानमा निर्माण भइरहेको परियोजनामा ती एस्काभेटर उपयोग गरिने बताइएको छ । नहर निर्माणको खर्च घटाउन सेकेन्डहेन्ड निर्माण औजार उपयोगमा ल्याउने नीति तालिवान सरकारले लिएको समाचारहरुमा जनाइएको छ ।

११५ माइल लामो कोश तेपा नहर परियोजना अन्तर्गत आमुदार्या नदीको २० प्रतिशत पानी डाइभर्ट गरी उत्तरी अफगानिस्तानका सुख्खा समथर भागहरूमा लैजाने योजना अन्तरर्गत काम भइरहेको छ । १०० मिटर चौडा उक्त नहर खन्नका लागि हाल ६ हजार कामदारले दिन-रात एस्काभेटर तथा हेभी ड्युटी ट्रकहरू चलाइरहेका छन् ।

हजारौंको संख्यामा आयात गरिएको एक्साभेटर मेसिन नेपालको निर्माण उद्योग सुस्ताएपछि कामबिहिन हुन पुगेका छन् । करोडभन्दा माथि पर्ने निर्माण उद्योगका यस्ता मेसिनले काम पाउन छाडेपछि सस्तो मूल्यमा बेच्नुपरेको व्यवसायीहरु बताउँछन् । महँगो मूल्यमा किनेर पर्याप्त उपयोग नगरी यस्ता मेसिन बेच्नुपर्दा व्यवसायीलाई मात्र होइन, राज्यलाई नै नोक्सान पुग्ने जानकारहरु बताउँछन् ।

निर्माण उद्योगमा उपयोग हुने यस्ता मेसिन आयात निश्चित व्यापारीको ‘ग्रीप’ मा रहेको छ । नेपालमा चाहिँ सेकेन्डहेन्ड मेसिन आयत गर्न पाइँदैन, नयाँ मेसिन नै खरिद गर्नुपर्ने हुन्छ । सेकेन्डहेन्ड मेसिन खरिद गरेर कम खर्चमा अफगानस्थानले निर्माणकार्यलाई तीब्रता दिएको छ, यो विधि नेपालले पनि अनुशरण गर्ने हो भने निर्माण लागत घट्नुका साथै आर्थिक भार कम हुनसक्ने बताइएको छ ।