ढाका । युद्धग्रस्त म्यान्माबाट भागेर बंगलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् ।
बंगलादेशको नदीमा मङ्गलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरुसहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कूल मृतकको सङ्ख्या ३४ पुगेको छ । उनीहरु म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।
बंगलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुङ्गामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेको बताएका छन् । “रोहिंग्याहरु म्यान्माबाट आफ्नो ज्यान जोगाउन भागिरहेका छन्”, उनले भने । “विगत केही हप्तामा म्यान्माको रखाइन राज्यमा भएको युद्धबाट कम्तीमा एक हजार रोहिङ्ग्याहरु बङ्गलादेशतर्फ भागेका छन्,” चौधरीले भने ।
अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बदलिएको हो । बङ्गलादेशमा करिब १० लाख रोहिंग्याले शरण लिएका छन् जसमध्ये अधिकांश सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए । रखाइनको सहर माउङ्गदाबाट भागेर बुधबार फरक डुङ्गाबाट बङ्गलादेश आइपुगेका ३५ वर्षीय रोहिंग्या शरणार्थी अब्दुल कलामले हजारौँ रोहिङ्ग्या म्यानमा जारी नरसंहारबाट भाग्न खोजेको बताए ।
“अराकान सेनाले हामीमाथि आत्मघाती हमला गर्दै छन् । उनीहरु हामीलाई रखाइनबाट भगाउन चाहन्छन्”, उनले भने । हप्तौँको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले सोमबार प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि बङ्गलादेशमा अशान्तिका कारण शव निकाल्न ढिलाई भएको चौधरीले बताए । “हाम्रा सुरक्षा अधिकारी राजनीतिक झडप रोक्न व्यक्त भएकाले हामीले उनीहरुलाई तत्काल दुर्घटनास्थलमा पठाउन सकेनौँ,” चौधरीले भने ।
प्रतिक्रिया