नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवा शृंखला

नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवा शृंखला


ग्लोब नेपाल
864
Shares

काठमाडौं । २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए।

लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो।

त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना गरिएको थियो।

लामापछि छोटो समयका लागि डिआइजी पोषराज पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए।

तर, पोखरेलले फुली लगाउन पाएनन्। सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटे। त्यसपछि बनेको नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली लगाइदिएन।

गृहमन्त्री रमेश लेखकले सिफारिसलाई बेवास्ता गरेपछि पोखरेल आफूलाई अन्याय भएको दाबीसाथ सर्वोच्च अदालतमा निवेदन दिन गए। उनको मुद्दा सर्वोच्चमा विचारधीन छ। पोखरेलको बढुवा सदर भएको भए उनी दुई दिनका लागि एआइजी हुने थिए।

नेपाल प्रहरीको विशिष्ट श्रेणी पद (एआइजी)मा छोटो अवधिका लागि बढुवा सिफारिसमा पर्ने लामा र पोखरेल मात्र होइनन्। अहिले प्रहरी नायब महानिरीक्षक किरण राणालाई पाँच दिनको लागि एआइजी सिफारिस गरिएको छ।

कात्तिक ५ गते राणालाई एआइजी सिफारिस गरिएको थियो। मन्त्रिपरिषदबाट सिफारिस स्वीकृत भइनसकेकाले राणाले अहिलेसम्म एआइजीको फुली लगाउन पाएकी छैनन्।

कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी राणापछि पनि छोटो समयका लागि एआइजी पदमा पुग्ने डिआइजीहरूको संख्या थुप्रै छ। उनी अवकाशमा गएको भोलिपल्ट कात्तिक १५ गते एआइजी रामदत्त जोशीले अवकाश पाउँदैछन्। त्यसो हुँदा नेपाल प्रहरीमा दुई एआइजी पद रिक्त हुन्छ।

त्यो रिक्त पदमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र बुद्धि गुरुङ सिफारिस हुने सम्भावना छ। मंसिर महिनाको १७ गते एआइजी किरण बज्राचार्यले अवकाश पाउँदैछिन्। मंसिरको २८ गते एआइजी भीम ढकालले अवकाश पाउँदैछन्।

गुरुङ वर्तमान प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै चैत ४ गते अवकाशमा जान्छन्। ढकालद्वय र बज्राचार्य अवकाशमा जाँदा दुर्गा सिंह, कुबेर कडायत र भरत बोहराले एआइजी पाउने सम्भावना छ। बोहरा पुस दोस्रो साता अवकाशमा जाँदैछन् भने बाँकी साढे तीन महिना एआइजी पदमा रहन्छन्।

लामा, पोखरेल, राणाको मात्र नभएर अन्य यी सबै प्रहरी अधिकारीहरूको विशिष्ट श्रेणीमा पुग्ने दाबीबारे सवाल-जवाफ छन्।प्रहरी संगठनमा ३० वर्ष जागिर खाएको व्यक्ति अवकाशको मुखमा पुग्दा विशिष्ट श्रेणीमा पुग्न खोज्नु नाजायज होइन।

अहिले डिआइजी ढकाल र गुरुङलाई एआइजीमा बढुवा गर्ने तयारी रहेको भनी प्रचार-प्रसार भइरहेको छ। ढकाल एआइजी बने भने मंसिर २२ गते अनिवार्य अवकाशमा जान्छन्।

ढकाल, गुरुङ, सिंह, कडायत र बोहरा सबै एउटै ब्याचमेट हुन्। उनीहरूले माओवादीको १० वर्षे सशस्त्र युद्धमा अत्यधिक प्रताडना खेपे पनि व्यावसायिक कुशलता र धैर्यता गुमाएका थिएनन्। उनीहरू सबै प्रहरीमा व्यावसायिक छविका अब्बल अधिकारीहरू मानिन्छन्।

अहिले अगाडि ढकाल र गुरुङ बढुवा भए भने पनि भविष्यमा एआइजी बढुवा हुने क्षमता र योग्य डिआइजीहरू कोही नछुट्ने भएकाले सबैलाई ‘न्याय’ हुने गरी सरकारले निर्णय गर्छ भन्नेमा सबै अधिकारीहरू आशावादी छन्।

युद्धमा नेपाली सेनासँग समन्वय गरी व्यावसायिक कुशलतामा नचुकेका ब्याचका सबै अँटाउने भएकाले अबको एआइजी बढुवालाई महत्वका साथ हेरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीहरू बताउँछन्।

‘क्रमिक रुपमा हुने यो बढुवाले एउटा ब्याचका सबै अफिसरहरू अटाउँछन्, उनीहरूको योगदानलाई समेत नभएर उनीहरूका परिवार तथा भावी पुस्ताका प्रहरी अधिकारीहरूलाई पनि मूल्यांकन र न्यायको हिसाबले अबको एआइजी बढुवा महत्वपूर्ण बनेको छ,’ प्रधान कार्यालयका एक अधिकारीले भने।