स्मृतिमा मित्रसेन दाइ

स्मृतिमा मित्रसेन दाइ



फागुन ७ गते देशमा प्रजातन्त्र आएको दिन। तर यो दिन मेरो लागि बिछोड र पीडाको दिन बनेको छ। भाइटीका लगाउने बाचा बाँकी नै राखेर लक्ष्मीपूजाकै दिन मैले मेरी जेठी बहिनीको निधनको पीडा भोग्दा जति मन चर्कन्छ त्यस्तै फागुन ७ गतेको दिन मेरा पथप्रदर्शक दाइ मित्रसेन दाहालको अप्रत्यासित देहवसानको पीडाको खबरले मन भारी हुन्छ।

तीन वर्ष पूरा भएर चार वर्ष लाग्यो तर दाइको भौतिक शरीर अझै पनि ब्रह्मलीन भएको स्वीकार गर्न कठीन भैरहेको छ। त्यतै हुनुहुन्छ दाइ, हातमा दैनिक कार्यसूचीको डायरी बोकेर फोनमा कसैसँग कुरा गर्दै- ‘यसो गर र उसो गरु भन्दै’ सरस्वतीनगर निवासबाट लप्सीफेदी जाँदै गर्नु भएको छ वा अन्यत्र कतै हतारोमा हुनुहुन्छ जस्तो लाग्छ।

‘भाइ म कसैलाई दुःख नदिई हिंड्दा हिंड्दै मर्छु’ भौतिक जीवनको अवसानलाई हत्केलामा राखेर औषधिको भरमा उच्च मनोबलका साथ कर्मवीर भएर बाँच्नु भएका मित्रसेन दाइ आफ्नो जीवनको अवसानको बारे पटकपटक यसो भन्नुहुन्थ्यो। नभन्दै उहाँले कसैलाई दुःख नदिई छोरी एञ्जिलाको हत्केलामा सजिलै आफ्नो प्राण त्याग गरेर जानुभयो हिंड्दा हिंड्दै,गुड्दागुड्दै। उहाँ बितेपछिको असह्य पीडा त अझै आलै छ बाँचेका हामीसँग।

चार वर्ष पहिले जब भाइ भानु दाहालले ‘एकदमै दुःखद खबर छ दाइ, अहिले भर्खर मित्रसेन दाइ बित्नु भएछ’ भनेर सुनाउँदै गर्दा हातखुट्टा र पुरै शरीर थरर कांपेका थिए। आँशु मात्र बगेनन् काम पनि गर्न सक्छु जस्तो लागेन र थचक्क बसेको थिएँ । आजबाट मेरो पथ-प्रदर्शक र सहारा नै मलाई छाडेर अर्कै लोकमा जानु भयो भनेर विश्वास गर्न सकिरहेको थिइनँ। तर सत्य त्यही थियो।

कामबाट घर फर्कें। मन मस्तिष्क सबै उद्वेलित थियो। पटकपटक फोनमा सोधीखोजी भैरहन्थ्यो। अहिले नै नेपाल पुगेर त्यो ढलेको सतीसालको वृक्षमा श्रद्धाका आँसु चुहाएर भन्न मन थियो- ‘दाइ, तपाईं हामीलाई यसरी आधा बाटोमै छोडेर कतै जान पाउनु हुन्न। तपाईंले सिर्जना गरेको र देखेको सपना पूरा भएकै छैन। सबै सपना,योजना र सोचलाई यसरी अलपत्र छाडेर जान पाउनु हुन्न दाइ, त्यसैले उठ्नुस् दाइ, तपाईं उठ्नैपर्छ, मेरो काँध समाएर उठ्नुस् दाइ’ भनेर भन्न मन थियो।

मथिंगल हल्लिएर बेचैन भएको बेला हरेक मिनेट फेसबुकमा पोष्ट हुने नेताहरुको ‘नेपाली कांग्रेस ओखलढुंगाका नेता, महासमिति सदस्य, अत्यन्त लगनशील, सिर्जनशील व्यक्तित्व, २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य पदका उम्मेदवार, समाजसेवी मित्रसेन दाहालको निधनले अत्यन्त दुःखित् छु। दाहालले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु’ भन्ने शोक र श्रद्धान्जलीका सन्देश हेर्दै गर्दा आफुलाई सम्हाल्न कठीन हुँदै जान्थ्यो। तर म शून्य थिएँ र विकल्पहीन पनि। के गरौँ र कसो गरौँको अन्यमनस्क स्थितिबाट गुज्रिरहेको थिएँ। सबैतिर फोन गर्थें। बोल्ने शब्द निस्कन्न थियो। पुरु दाइलाई फोन गरें, उहाँ पनि पार्टीको प्रशिक्षणका लागि संखुवासभा हो वा भोजपुरतिर पुग्नु भएको थियो।

मित्रसेन दाहालले निर्माण गरेको काठमाडौंको लप्सीफेदीस्थित जे.पी.प्रतिष्ठान मैत्री सेवाश्रम । जहाँ अहिले सयौं अशक्त बयोबृद्ध उमेर र पुस्ताका व्यक्तिहरुको सहारा बनिरहेको छ ।

नियतिको पीडा भोग्नुको शायद विकल्प हुन्न होला। मित्रसेन दाइले धेरैको उद्धार गर्नु भो। पार्टी राजनीति र सामाजिक सेवाको क्षेत्रमा देशभित्रैको श्रोत र सहयोग जुटाएर धेरै काम गर्न सकिन्छ भनेर धेरै ठूला सोचहरु अघि सार्नु भयो। ओखलढुंगाका प्राय: हरेक विद्यालयमा सहयोग र छात्रवृत्ति पुर्‍याउनु भयो। कसैले अभिलेख राखेको छ, छैन त्यो चाहिं खोजीको विषय हुन सक्छ तर व्यक्तिगत प्रयासमा आफ्ना पिताजीको नामबाट स्थापित जेपी प्रतिष्ठान मार्फत ओखलढुंगाको शैक्षिक विकास र त्यहाँका जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार,छात्रवृत्ति र सम्मान दिने काम गरेर ज्योति फैलाउने निस्वार्थ सेवामा आज पनि मित्रसेन दाहालको योगदान पहिलो नम्वरमा नै होला। चाहे बिरामीलाई सहयोग होस्, चाहे बाटोखर्च नभएर समस्या बेहोरिरहेका जो कोही हुन् सबैलाई सकेको सहयोग गर्ने मित्रसेन दाइको पुरानो डायरी मात्र खोजेर हेर्ने हो भने कसले कहिले कति सहयोग लिएरपाए भन्ने बुझ्न सकिन्थ्यो। उहाँले जसलाई जे जति जसरी सहयोग गर्नु भो र सहयोग लिनु भो त्यसको एक एक रेकर्ड राखेर बस्नु हुन्थ्यो।

जे.पी. प्रतिष्ठान मैत्री सेवाश्रमको सोच यस्तै सहयोगीहरुको हातबाट सुरु भएर अघि बढेको थियो। जहाँ नेपाली सेनाले समेत ठूलो योगदान गरेको छ। आफ्ना लागि होइन, अरुका लागि बाँच्ने महान कर्मवीर दाइ मित्रसेन दाहाल अहिले पनि लप्सीफेदीको त्यो विशाल संरचना वरिपरि घुमिरहनु भएको छ । सागसब्जी, दही, दूध, घ्यू, अनि गाइपालनसँगै अशक्त बयोबृद्ध उमेर र पुस्ताका व्यक्तिहरुको सहारा बनेर सेवा गरिरहनु भएको छ जस्तो लाग्छ ।

धेरैपटक सपनामा आउनु हुन्छ र भन्नुहुन्छ,- के गर्नु भाइ मलाई कसैले बुझ्न सकेन, मलाई सहयोग गर्ने पनि कोही भएन, सबै स्वार्थी भए। तिमी पनि छाडेर हिड्यौ, म एक्लै भएँ, सकेको काम गर्दैछु।’ म अवाक हुन्छु यस्तो सपना देखेर।

अनि शकुन्तला भाउजु सुनाउनु हुन्छ,-‘दाइले सधैं तपाईंको कुरा गर्नुहुन्थ्यो र गौतम जस्तो मलाई बुझ्ने र सहयोग गर्ने मेरो लागि कोही भएन’ भन्नुहुन्थ्यो । बाँचुन्जेल पनि दाइ सधैं भन्नुहुन्थ्यो,’तिमी जस्तो मलाई बुझ्ने अरु कोही भाइहरु भएनन्। तिमी हिंडेपछि म एक्लो भएँ भाइ।’

दाइ, हजुरले छाडेपछि म पनि नितान्त एक्लो महसुस गर्छु, ती सबै क्षण सम्झन्छु, दाइको आत्माको शान्तिको लागि केही गर्न सकिएन अनि त्यो अधुरो रहेको आश्रमको सपना पूरा गर्न पनि केही गर्न सकिएको छैन। आफैं हराईरहेको छु दाइ म पनि।

कांग्रेसका आजका अधिकांश ठूला नेताहरु, जिल्लामा हिजो तपाईंले सहयोग गरेका दाजुभाइहरु सबैले तपाईंको क्रियाशील जीवनमा सहयोग लिए तर आज तपाईंको सपनालाई पूरा गर्ने समन्वयको अभावमा सबैले खोलो तर्यो लठ्ठी बिर्स्यो गरे होलान्। दाइ तपाईंले भन्ने गरे जस्तै सबै स्वार्थी छन् अचेल, कर्म नगरी पैसा पैसा भनेर पछि लाग्छन्।

यो सबै तपाईंले माथि बसेर पनि हेरिरहनु भएको होला। तपाईं जहाँ हुनुहुन्छ चुपचाप हुनुहुन्छ। हामी तपाईंको अभावमा आफैं भौंतारिरहेका छौं। चौथो स्मृति दिवसको क्षणमा अश्रुपूर्ण श्रद्धासुमन अर्पण गर्छु दाइ ।