नेप्सेमा चार दिनपछि दोहोरो अंकको सुधार, २३ अंकले वृद्धि

नेप्सेमा चार दिनपछि दोहोरो अंकको सुधार, २३ अंकले वृद्धि



काठमाडौं । लगातार चार कारोबारी दिनसम्म घटेको शेयर बजारमा आज सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २३.१९ अंकले बढेर २,६५३.०९ बिन्दुमा पुगेको छ।

आजको बजारमा अधिकांश समूहका सूचकमा हरियाली देखिएको छ भने होटल तथा जीवन बीमा समूहको सूचक भने सामान्य रूपमा ओरालो लागेको छ। जलविद्युत् र अन्य समूहमा भने २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

मकर जितुमाया, प्योर इनर्जी, दोल्ती पावर र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरहरू आज १० प्रतिशतले बढेका छन्। यद्यपि समग्र बजार बढेको भए पनि भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा झन्डै ७।५ प्रतिशतको गिरावट आएको छ।

आज सेयर कारोबार रकममा भने केही कमी आएको छ। हिजो ९ अर्ब १३ करोड रुपैयाँबराबरको कारोबार भएकोमा आज ३२४ कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर ८ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएका छन्।