नेप्सेमा चार दिनपछि हरियाली, तर कारोबार रकम घट्यो

नेप्सेमा चार दिनपछि हरियाली, तर कारोबार रकम घट्यो



काठमाडौँ। लगातार चार दिनसम्म ओरालो लागेको शेयर बजार आज सामान्य सुधारसँगै हरियालीमा फर्किएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.७८ अङ्कले वृद्धि भई २,६००.७६ विन्दुमा पुगेको छ। बजारको समग्र सूचक सामान्य उकालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आजको दिन व्यापार समूहको सूचक २.२० प्रतिशतले माथि उक्लिएको छ। बीमा, उत्पादनमूलक, विकास बैंक तथा म्युचल फन्ड समूहबाहेक अधिकांश समूहहरूमा हरियाली देखिएको छ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ, भने गुराँस लघुवित्तको शेयरमा भने १० प्रतिशतको गिरावट आएको छ।

शेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा कम रह्यो। सोमबार ९ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३२५ कम्पनीका झन्डै १ करोड ७५ लाख कित्ता शेयर मात्रै ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएका छन्।