नेप्से १८ अंकले बढ्यो

नेप्से १८ अंकले बढ्यो



काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्दै २८५० विन्दुमा पुगेको छ। आज बजार खुलेदेखि बन्द हुने समयसम्म सूचक कुनै पनि समयमा रातो भएन। दिउँसो २:०४ बजे परिसूचक २८६१ अंकसम्म पुगेको थियो, तर अन्तिम समयमा केही बिक्री चाप देखिँदा सूचकमा सामान्य गिरावट आयो।

आज १८७ कम्पनीको शेयर मूल्य बढ्दा ६२ कम्पनीको घटेको छ। कुल कारोबार रकम ८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ७ अर्ब ६३ करोड रुपैयाँको तुलनामा वृद्धि हो। विभिन्न सूचकहरूमा फाइनान्स समूह सबैभन्दा धेरै १.३८ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन १.१२, अन्य १.०३, व्यापार ०.९९, जीवन बीमा ०.७६, हाइड्रोपावर ०.७५, होटल तथा पर्यटन ०.६०, बैंकिङ ०.४३, विकास बैंक ०.४२, माइक्रोफाइनान्स ०.३६ र लगानी समूह ०.३० प्रतिशतले वृद्धि भएका छन्।

कम्पनी मूल्य वृद्धिको हिसाबले सिक्लेस हाइड्रोपावर ९.८१ प्रतिशतले अगाडि रहँदा बरुण हाइड्रोपावर ९.७८, मकर जितुमाया सुरी हाइड्रोपावर ७.५६, खानीखोला हाइड्रोपावर ६.१९, लिबर्टी इनर्जी ५.७२ र आईसीएफसी फाइनान्स ४.४२ प्रतिशतले बढेका छन्। उता, उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.२६ प्रतिशतले घटेको छ। त्यस्तै, समाज लघुवित्त ५.४२, सान्भी इनर्जी २.७१ र मैलुङखोला जलविद्युत २.६९ प्रतिशतले घटेका छन्।

आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र युनाइटेड मोदी हाइड्रोपावर प्रमुख रूपमा रहेका छन्। आजको कारोबारपछि बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ।