२४ घण्टामा ४० हिज्बुल्लाह लडाकु मारिएको इजरायली दाबी

२४ घण्टामा ४० हिज्बुल्लाह लडाकु मारिएको इजरायली दाबी



तेल अभिभ । इजरायलको सेनाले पछिल्लो २४ घण्टामा गरेको कारबाहीमाज हेजबुल्लाका ४० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ ।

इजरायली सेनाले युद्धबारे दिएको पछिल्लो अपडेटअनुसार वायुसेनाले हिज्बुल्लाहका दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ, जसमा हतियार भण्डारणस्थल र मिसाइल प्रक्षेपण केन्द्रहरू पनि समावेश छन् ।

त्यसैगरी, दक्षिण लेबनानका केही क्षेत्रमा जारी स्थल आक्रमणका क्रममा इजरायली स्थलसेनाले हिज्बुल्लाहको एक समूहलाई पहिचान गरी नष्ट गरेको जनाएको छ । सो क्रममा हिज्बुल्लाहका पूर्वाधारहरूमा व्यापक आक्रमण गरिएको दाबी गरिएको छ ।

इजरायली नौसेनाले पनि दक्षिण लेबनानमा रहेको हतियार भण्डारणस्थलमा आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार हवाई, स्थल र समुद्री तीनै माध्यमबाट गरिएको संयुक्त कारबाहीमा २४ घण्टाभित्र ४० भन्दा बढी हिज्बुल्लाह सदस्य मारिएका हुन् ।