पँधेरीबाट
बोकेर पानी घैलामा
पिलाउन मात्रै होइन
सुक्दै गरेको पँधेरीलाई
बचाई राख्न सक्ने
मलाई एउटी छोरी चाहिएको छ ।
वनबाट काटेर घाँस दाऊरा
ढोकोभरी भित्र्याउने मात्र होइन
मासिदै गरेको वनलाई जोगाई राख्न सक्ने
मलाई एउटी छोरी चाहिएको छ ।
अँगेनामा फुफु गर्दै अगुल्टो झोसेर
मकै भुटेर दिने मात्र होइन
धुँवारहित अगेनाको निर्माण गर्न सकेर
बुढी आमाको फोक्सोलाई सुरक्षित पार्नसक्ने
मलाई एउटी छोरी चाहिएको छ ।
स्कुलमा कलम कापी च्यापेर झोलाभरी
फेसन डिजाइन मात्र होइन
पर्यावरण संरक्षणका डिजाईन पनि गर्न सक्ने
मलाई एउटी छोरी चाहिएको छ ।
कलेजमा स्कुटी र बस चढेर धाउँदै
कोरा कितावी ज्ञान मात्रै होइन
कहिलेकाँही साइकलिंग र पदयात्रामा निस्केर
यो बातावरण
–किन प्रदुषित बन्दै छ ?
–कसले प्रदुषित बनाउदै छ ?
भन्ने प्रश्न गर्ने
मलाई एउटी छोरी चाहिएको छ ।
विश्वविद्यालयमा
नारी हक अधिकारको थेसिस मात्र होइन
–लोपोन्मुख वन्यजन्तुका हक अधिकार
–संरक्षित बासस्थानका नियमकानुन
–फोहर व्यवस्थापनको योजना
–प्रदुषणमा रुमलिएर बग्दै गरेका नदिहरुको पारिस्थिति
–प्रदुषणरहित हावा फेर्न पाउने नागरिकको मौलिक हक
जस्ता पर्यावरणीय बिषयमा थेसिस लेख्न सक्ने
मलाई एउटी छोरी चाहिएको छ ।
म विमार परेर बिस्तारामा ढलिरहेको बेला
मलाई सिटोमोल खुवाऊने छोरी मात्रै होइन
हिमाल उच्च तापमानको ज्वरोबाट ग्रसित भएर
पसीना चुहाईरहेको बेला
चिसो रूमालले पुछिदिएर सितल पृथ्वी पार्ने
मलाई एउटी छोरी चाहिएको छ ।
अनुहारमा पाऊडर र रातो लिपस्टिक दल्ने मात्र होइन
डोजरे विकासले टाटैटाटा पारेको गाँउको सुन्दर अनुहारमा
बनजंगल र घाँसे मैदानको हरियो लिपस्टिकले
ती खण्डहर पहाडको अनुहारमा टाँसिदिने
मलाई एउटी छोरी चाहिएको छ ।
विश्वका स्कूले किशोरकिशोरीहरूलाई
तापमान वृद्धि बिरूद्धको अभियानमा एकताबद्ध पार्दै
पुगेर ग्लास्गो जलवायु सम्मेलनमा–
‘कार्बन उत्सर्जनलाई रोक्न
विश्व नेताहरूलाई चुनौती दिन सक्ने
ग्रेटा थुनबर्ग जस्ती
मलाई एउटी छोरी चाहिएको छ ।
प्रतिक्रिया