काठमाडौं । चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ । त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई वटा शव भेटिएकाे छ ।
सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।
बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक छन् । सशस्त्र प्रहरीबाट उपलब्ध सूची अनुसार, बेपत्ता हुने चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन् ।
बेपत्ता हुने नेपाली नागरिकहरुमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।
त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई वटा शव भेटिए
त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको छ । धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ को त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ ।
शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया