काठमाडौं । अध्यागमन विभाग अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कार्यरत कर्मचारीका लागि नैतिक संहिता ( कोड अफ इथिक्स्) लागु गरेको छ ।
बिहीबारदेखि लागु हुने गरी कार्यालयले कर्मचारीहरूका लागि संहिता लागु गरेको जनाएको छ ।
अध्यागमन विभाग अन्तर्गत रहेका कार्यालयहरू र अधिकांश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूले यात्रुहरूसँग अनावश्यक शब्द प्रयोग गर्ने र दुख दिने गरेको गुनासो पछि नैतिक संहिता (कोड अफ इथिक्स्) नै लागु गरेको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
नेपाल आउने पाहुनालाई कर्मचारीहरूले अव नेपालमा स्वागत छ तपाईँको दिनहरू सुखद रहोस् भन्नु पर्ने भएको छ । यता नेपालबाट विदेश जानेहरूलाई कर्मचारीहरूले अनिवार्य रूपमा तपाईँको यात्रा सफल रहोस् भन्नु पर्ने गरी संहिता जारी गरेको छ ।
अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप कर्मचारीहरूलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक, सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाउन संहिता लागु गरेको प्रमुख कोइरालाले जानकारी दिए ।
कर्मचारीले यात्रुहरूसँग बोल्नु पर्ने मुख्य बुँदाहरू :
- प्रस्थान गर्ने यात्रुलाई कम्तीमा “Have a nice journey” भन्ने
- नेपाल भित्र प्रवेश गर्नेलाई कम्तीमा “Welcome in Nepal, Have a nice day” भन्ने
- थोरै र आवश्यक प्रश्नहरू मात्र गर्ने,
- खाडी मुलुकहरू लगायतमा श्रम / काम गर्न प्रस्थान सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने
- रूखो (Rude) व्यवहार नगर्ने, बोली वचनमा मिठास पना दिने,
- देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीबचन र हाउभाउले आत्मीयता प्रदान गर्ने ।



प्रतिक्रिया