गृहमन्त्रीको चर्चामा विश्वराजको नाम

गृहमन्त्रीको चर्चामा विश्वराजको नाम


ग्लोब नेपाल
243
Shares

काठमाडौं । सञ्चारमाध्यममा अनुमानका भरमा मन्त्रिपरिषद् गठन गरेर पार्टीभित्र दबाब सिर्जना गर्ने प्रतिस्पर्धा यतिबेला चलेको छ । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डै दुईतिहाइको सरकार गठन हुन केही औपचारिकता मात्र बाँकी छ । सम्भवतः चैतको दोस्रो साताभित्र रास्वपाको शक्तिशाली सरकार गठन भइसक्ने छ ।

२०१५ साल फागुन ७ गते सम्पन्न आम निर्वाचनपछि रास्वपा संसदमा सबैभन्दा धेरै सिट जित्ने राजनीतिक दल बनेको छ । ०१५ सालमा १०९ स्थानमा भएको निर्वाचनमा कांग्रेसले ७४ सिट जितेको थियो । ६८ वर्षपछि अर्थात् २०८२ फागुन २१ गते सम्पन्न २ सय ७५ (प्रत्यक्ष र समानुपातिक) स्थानका लागि भएको निर्वाचनमा रास्वपाले १८२ स्थान (दुइतिहाइ पुग्न २ सिट कम) स्थान जितेको छ ।

अब गठन हुने रास्वपाको शक्तिशाली सरकारमा गृहप्रशासन चलाउन सक्ने कुशल र क्षमतावान व्यक्तिको खोजी तीब्र भइरहेको छ । त्यसो त रास्वपामा विज्ञहरु कमी छैन । विविध क्षेत्रका झन्डै तीन दर्जनभन्दा बढी विज्ञहरु रास्वपाबाट निर्वाचित भएर संसदमा आएका छन् । सुरक्षा क्षेत्रमा मात्रै आधा दर्जन विज्ञहरु निर्वाचित भएका छन् । विशेष गरी प्रहरी सेवाबाट सुरक्षासम्बन्धी विज्ञता हासिल गरेका व्यक्तित्वहरु रास्वपामा छन् ।

प्रहरी सेवामा झन्डै २९ वर्ष सेवा गरेर उपल्लो तहमा पुगेर जागीर छाडेका ओखलढुंगाबाट निर्वाचित सांसद विश्वराज पोखरेल त्यसैमध्येका सिनियर पूर्व प्रहरी उच्च अधिकृत हुन् । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले विश्वराजभन्दा १७ महिना जुनियर धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि चेन अफ कमाण्ड मिचेको भन्दै तत्कालीन एआईजी विश्वराजले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी गृहप्रशासनमा सुधारको खोजीमा निस्केका थिए । सुधारको विकल्प उनले राजनीतिक पुनर्संचनाबाहेक अरु देखेनन् । यसको सुधार उनले पुराना राजनीतिक दलबाट एकरत्ति सम्भव देखेनन् ।

यही परिवेशमा राज्यको कोपभाजनमा परेर नख्खु जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग विश्वराजले भेट गरेका थिए । भेटमा नेपाल प्रहरीबारे जानकार सभापति लामिछानेले विश्वराजलाई सुधार गर्न सकिने सूत्रहरु खोज्न त्यसैले भनेका थिए ।

‘अन्याय गर्नु हुँदैन, अन्याय सहनु हुँदैन’ भन्ने मूलमत्र बनाएका सांसद विश्वराज इमान्दार र स्वच्छ छविका हुन् । लामो जागिरे जीवनमा काहिँ कतै खोट लागेको छैन । त्यत्ति मात्र होइन, रास्वपाभित्र उनी सबैभन्दा सिनियर सुरक्षाविज्ञसमेत हुन् । रास्वपाभित्रका अन्य सुरक्षा विज्ञभन्दा पोखरेल सिनियर, अन्तर्राष्ट्रिय छवी बनाएका कानुनका ज्ञाता र अनुभवी व्यक्तित्व हुन् । उनलाई गृह प्रशासनको जिम्मेवारी दिए प्रधानमन्त्रीको आधा टाउँको हलुका हुने जानकारहरु बताउँछन् ।

विज्ञताका हिसाबले रास्वपाभित्र विश्वराज गृहमन्त्री बन्न सबैभन्दा योग्य र क्षमतावान हुन् भन्ने कुरामा कुनै विवाद रहेन । दोस्रो उनलाई भूगोलले पनि साथ दिएको छ । कोशी प्रदेशको पहाडी जिल्लाबाट चुनाव जित्ने पोखरेल एक्ला हुन् । कोशी प्रदेशमा ११ पहाडी जिल्ला छन्, अन्य जिल्लाबाट कांग्रेस, एमाले र श्रम संस्कृति पार्टी विजयी भइरहँदा ओखलढुंगाबाट रास्वपाका विश्वराजले चुनाव जितेका हुन् । पूर्वी पहाडी जिल्लामा रास्वपा पराजित हुँदा राई र लिम्बु समुदायबाट एकजना पनि प्रतिनिधित्व हुन सकेको छैन ।

देशका सबै भागमा रास्वपाको उभार चलिँदा कर्णाली र कोशीको पूर्व पहाडी जिल्लामा प्रभाव कमजोर देखियो । अबका दिनमा राजनीतिक सन्तुलन मिलाउन र त्यस क्षेत्रलाई प्रभावशाली जमाउन निर्वाचित सांसदलाई जिम्मेवारी दिइनुपर्छ भन्ने मत रास्वपाभित्र बलियो छ । त्यस हिसाबले पनि विश्वराजलाई गृहमन्त्रालयको जिम्मेवारी अत्यावश्यक भएको छ ।

भनिन्छ, रास्वपा सभापति रवि लामिछानेले गृह प्रशासनको जिम्मा लगाउनकै लागि पोखरेललाई ओखलढुंगाबाट चुनाव लड्न भनेका थिए । यस विषयमा नख्खु जेलमै रहेका बेला विश्वराजले सभापति लामिछानेसँग पटक–पटक भेट गरेर छलफलसमेत गरेका थिए । त्यसबेला सभापति लामिछानेले विश्वराजलाई भनेका थिए, ‘सुरक्षासम्बन्धी विज्ञ हुनुहुँदो रहेछ, परिआए गृहमन्त्रालय सम्हाल्ने तयारी गर्नुहोस् ।’

सभापतिको निर्देशनअनुसार नै विश्वराजले आफूलाई तयारी गरेको बताइएको छ । नागरिकले सुशासनको अनुभूति गर्न गृह प्रशासनको कानुनी छिद्रा, सुधार गर्नुपर्ने ठाउँ र अनुसन्धानको पाटोलाई बलियो बनाउनुपर्ने संस्थाका विषयमा विश्वराजले आफूलाई तयारी अवस्थामा राखेको बताइएको छ ।