अस्ट्रेलियाले इन्धन कर आधाले घटायो

अस्ट्रेलियाले इन्धन कर आधाले घटायो



काठमाडौं । मध्यपूर्वमा युद्धका कारण इन्धनको मूल्य बढ्दै गएपछि मानिसहरूलाई गाडी नचलाउन प्रोत्साहित गर्न अस्ट्रेलियाका दुई वटा राज्यले निःशुल्क सार्वजनिक गाडीको व्यवस्था गर्ने भएका छन् ।

मेलबर्नको गृहनगर भिक्टोरियाले आउँदो अप्रिलभरि र तस्मानियाले जुनको अन्त्यसम्म यात्रुहरूले निःशुल्क यात्रा गर्न पाउने बताएको बीबीसीले जनाएको छ । अन्य राज्यहरूले भने यस्तो कुनै निर्णय गरेका छैनन् ।

यसैबीच अस्ट्रेलियाको सङ्घीय सरकारले गाडीधनीहरूमाथि दबाव कम गर्न तीन महिनाका लागि इन्धन अन्तःशुल्क कर आधाले घटाउने घोषणा गरेको छ । यो घोषणापछि दुई वटा राज्यले निःशुल्क सार्वजनिक गाडीको व्यवस्था गर्ने बताएका हुन् ।

इरानमाथि अमेरिका र इजरायलले युद्ध शुरू गरेदेखि ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध हुँदा इनधनको मूल्य बढेको छ । यसबाट अस्ट्रेलिया पनि प्रभावित भएको छ ।

विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा इरानी नाकाबन्दीले विश्वभरका सरकारहरूलाई इन्धन संरक्षणका उपायहरू कार्यान्वयन गर्न प्रेरित गरेको छ ।

अस्ट्रेलिया सरकारले पर्सि बुधवारदेखि लागू हुने गरी इन्धन अन्तःशुल्क, बिक्री कर, पेट्रोल र डिजेलका लागि प्रतिलिटर २६ दशमलव ३ सेन्टले घटाइने बताएको छ ।