जापानद्वारा लामो दूरी मिसाइल तैनाथ

जापानद्वारा लामो दूरी मिसाइल तैनाथ



टोकियो । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलो पटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ ।

अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल सञ्चालनमा ल्याइएको हो, जसले देशको आक्रामक क्षमतामा उल्लेखनीय विस्तार गरेको संकेत दिएको छ ।

जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित उक्त मिसाइलको दायरा करिब एक हजार किलोमिटर पुगेको छ । यो यसको पुरानो २०० किलोमिटर क्षमताभन्दा निकै ठूलो विस्तार हो । यसले जापानलाई टाढाबाटै सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ । यस्तो क्षमता जापानले दशकौँदेखि पालन गर्दै आएको आत्मरक्षा–केन्द्रित सुरक्षा नीतिमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

रक्षामन्त्री सिन्जिरो कोइजुमीले वर्तमान सुरक्षा वातावरणलाई ‘युद्धपछिको सबैभन्दा जटिल र गम्भीर’ भन्दै यस्तो क्षमता देशको प्रतिरोध शक्ति र प्रतिक्रिया क्षमताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार यसले जापानको आत्मरक्षाप्रतिको दृढता पनि झल्काउँछ ।

तर यस कदमले स्थानीयस्तरमा चिन्ता पनि बढाएको छ । क्याम्प केङ्गुन नजिकै बसोबास गर्ने बासिन्दाहरूले मिसाइल तैनाथीको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले यस्तो कदमले क्षेत्रीय तनाव चर्काउने र आफ्नो क्षेत्र सम्भावित आक्रमणको लक्ष्य बन्न सक्ने जोखिम बढाउने बताएका छन् ।

जापानले केवल एक स्थानमा मात्र नभई, आगामी वर्षहरूमा देशका विभिन्न भागमा यस्ता हतियार प्रणाली विस्तार गर्ने योजना बनाएको छ । मङ्गलबार नै सिजुओका प्रान्तको क्याम्प फुजीमा टापु रक्षा लक्षित हाइपरसोनिक ग्लाइड वाहन पनि तैनाथ गरिएको छ । सन् २०२८ मार्चसम्म होक्काइडोदेखि मियाजाकीसम्म विभिन्न स्थानमा अपग्रेड गरिएको टाइप–१२ मिसाइल र अन्य आधुनिक प्रणालीहरू विस्तार गर्ने तयारी गरिएको छ ।

यसैबीच जापानले अमेरिकी निर्माणका टोमहाक क्रूज मिसाइलहरू पनि आफ्नो नौसैनिक क्षमतामा समावेश गर्ने योजना अघि बढाएको छ ।