सम्झनाको फोटोकपी

सम्झनाको फोटोकपी

कविता



जन्म हर्ष हो
मृत्यु बिस्मात हो
सुनेको सानोदेखि यसै हो
मेरो निम्ति भनेर पनि आउनेछ
त्यो बिस्मातको एउटा दिन
र त्यो दिनदेखि म
माटोको कम्बल ओढी
काठको बाकस भित्र कैद भएर
मेरा भुमिकाहरु निभाउने छु
जस्तो कि सास नफेर्नु
आँखा नखोल्नु
धड्कन नचल्नु
नाडी नउफ्रिनु
सपना नदेख्नु
बिपना नसोच्नु
निर्जीव भई चुपचाप चुपचाप
आफूलाई सजिलै माटोमा बिलिन हुन दिनु

तिमी विश्वास गर मायालु !
मेरा यी भुमिकाहरु
म बडो ईमानदारसाथ निभाउने छु
जसरी ईमानदारसाथ
तिम्रो साथ निभाएँ बाँचुन्जेली

हिम्मतिलो भएर तिमी पनि
आफ्नो भुमिका राम्ररी निभाउनू
जस्तो कि मलाई तिम्रो आँसु रित्तिसकेपछि
बिस्तारै बिस्तारै सम्झना बनाउनू
जस्तो कि बिस्तारै बिस्तारै सम्झनालाई पनि
सम्झनै बनाउनू
र पछि गएर
उमेर ढल्किसकेको कुनै एक दिन भन्नू
नानी हो !
पोहोर परारसम्म त मलाई
तिमीहरुको आप्पाको प्रष्ट
बेस्सरी सम्झना आउँथ्यो
आजभोली
ती मूल सम्झनाहरुको सम्झना मात्रै आउँछ
आजभोली
ती मूल सम्झनाहरुको सम्झना मात्रै आउँछ ।

-खोटाङ