कांग्रेस महाधिवेशन : गगन थापाको आठौं गुट परिवर्तन, अब के हाेला ?

कांग्रेस महाधिवेशन : गगन थापाको आठौं गुट परिवर्तन, अब के हाेला ?



काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापा १४औं महाधिवेशनको पूर्वसन्ध्यामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा देखापरेपछि उनको गुट परिवर्तनको शृंखला आठौँ चरणमा पुगेको छ ।

गत १४ भदौमा आफ्नै वडाको भेलामार्फत महामन्त्रीको उम्मेदवारको घोषणा गरेका थापा गत १७ भदौबाट वरिष्ठ नेता पौडेल समूहमा लागेसँगै उनको गुट परिवर्तन आठौं चरणमा पुगेको हो । १३औँ महाधिवेशनमा उनले दाङबाट महामन्त्री पदको उम्मेदवार घोषणा गरेका थिए । १४औँमा भने काठमाडौं–४ अन्तर्गत ३० नम्बर वडाबाट महामन्त्री उम्मेदवार हुने घोषणा गरे ।

‘आफ्नै वडाबाट उम्मेदवार घोषणा गर्न पाउँदा म खुसी छु, अब म महामन्त्रीको उम्मेदवार हुँँ’ उनकाे भनाइ थियाे । उम्मेदवार घोषणा गरेर तीन दिनपछि उनी पौडेल पक्षको भेलामा उपस्थित भए । यसअघि उनी कृष्णप्रसाद सिटौलाको समूहका जिम्मेवार नेता मानिन्थे ।

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्री नियुक्ति गरेका युवा नेता थापा जनआन्दोलन-२ मा ‘चर्चित’ भएपछि उनै कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको सूचीमा राखेका थिए ।

पहिलो संविधानसभा निर्वाचन अर्थात् २०६४ मा तत्कालीन कांग्रेस सभापति काेइरालाले समानुपातिकतर्फबाट सभासद् बनाएलगत्तै थापाले कांग्रेसको राजनीतिमा पहिलोपटक गुट परिवर्तन गरे । कांग्रेसको आन्तरिक शक्ति संघर्षमा कोइराला छाडेर युवा नेता थापा भीमबहादुर तामाङ र नरहरि आचार्यको पक्षमा देखापर्न थाले । र, सार्वजनिक रूपमा नै सभापति कोइरालाविरुद्ध अभिव्यक्ति पनि दिन थाले, जसले उनलाई थप ‘चर्चित’ बनायो ।

जनआन्दोलनका कमान्डर ‘गिरिजाबाबु’को निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारीमा उनका भाइ सुशील कोइराला आए । उनै कोइराला १२औँ महाधिवेशनमा सभापतिका उम्मेदवार भए, तर थापा भने कोइरालाविरुद्ध क्रमशः सभापति र महामन्त्री उठेका तामाङ र आचार्यको पक्षमा देखापरेका थिए । त्यहीबेला थापा कांग्रेस केन्द्रीय समितिमा भारी मतले विजयी पनि भए ।

१४औँ महाधिवेशनको पूर्वसन्ध्यामा ‘सुशील दा’को निधन भयो । सो घटनापछि थापा पूर्वमहामन्त्री कृष्ण सिटौलाको खेमाबाट १३औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भए । तर, आफ्नै ससुरा अर्जुननरसिंह केसीविरुद्ध उठेका थापाले ससुराको मत पनि काटेर उनलाई पनि हराए र आफूले पनि जित हासिल गर्न सकेनन् ।

सभापति वा अन्य पदाधिकारी विजयी हुन ५१ प्रतिशत मत अनिवार्य चाहिने भएकाले तेस्रो स्थानमा सीमित भएका सिटौला र थापा समूहले अन्ततः देउवाको पक्षमा मतदान गर्ने निर्णय गर्यो, त्यो निर्णयसँगै थापाले पौडेलविरुद्धका उम्मेदवार देउवालाई मतदान गरिदिए ।

१३औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थापाका समेत मतले देउवा सभापतिमा विजयी भए, पौडेलले पराजय भोग्नु पर्यो । सोही गुनको बदलामा सिटौलाको सिफारिसमा सभापति देउवाले थापालाई तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सुम्पे ।

तर, २०७४ सालमा भएको पहिलो संघीय आमनिर्वाचनपछि पुनः थापाको गुट परिवर्तन भयो । सो निर्वाचनपछि कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह उम्मेदवारको रुपमा देखापरे । तर, देउवाले मन्त्री बनाएका थापाले देउवालाई मत नदिई संसदीय दलको निर्वाचनमा भने सिंहको पक्षमा मतदान गरेर गुट परिवर्तनको प्रमाण दिए ।

संसदीय दलको निर्वाचनमा सिंहलाई मत दिएका उनै थापाले कांग्रेस काठमाडौंको अधिवेशनमा भने सिंहविरुद्ध थिए । सिंह निकटका उम्मेदवार सबुज बानियाँलाई समर्थन नगरेर सिंहका उम्मेदवारविरुद्ध उठेका भीमसेनदास प्रधानलाई समर्थन जनाउन पुगेपछि उनको गुट परिवर्तनको शृंखला अर्को चरणमा प्रवेश गरेको थियो ।

१४औँ महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सिटौला पनि एक हुन् । तर, १३औं महाधिवेशनमा सिटौलाका महामन्त्री उम्मेदवार भएका थापाले गत १४ भदौमा सिटौलाबिनै महामन्त्रीको उम्मेदवार घोषणा गरे, जुन घोषणाका बेला उनीसँग कुनै टिम थिएनन् ।

तर, १३औँ महाधिवेशनमा पौडेल पक्षधरविरुद्ध उभिएर मतदान गरेका थापा तीन दिनपछि अर्थात् १७ भदौमा भने सो पक्षधरको बैठकमा मात्रै सामेल भएनन्, पत्रकार सम्मेलनमा पनि उपस्थित भइदिए । जुन पत्रकार सम्मेलनले सो समूहबाट सभापतिलगायतमा साझा उम्मेदवार चयन गर्ने घोषणा गरेको थियो ।

‘कांग्रेस काठमाडौंको राजनीतिमा यतिखेर गगनजी प्रकाशमान निकट हुनुहुन्छ, प्रकाशमानजीसँग सहकार्य गरेर उहाँले काठमाडौंको राजनीति गरिरहनुभएको छ,’ सिंह निकट एक नेताले भने, ‘काठमाडौंको राजनीतिमा प्रकाशमान निकट भए पनि महाधिवेशनमा भने के गर्नुहुन्छ ? यसै भन्न सक्ने अवस्था छैन किनभने उहाँले धेरैपटक कित्ता परिवर्तन गर्दै आउनु भएको छ ।’ १७ भदौबाट पौडेल पक्षधरमा देखापरेका थापा महाधिवेशनसम्म कता खुल्छन् ? अझै ठेगान नभएकाले प्रतीक्षा गर्नुपर्ने कांग्रेस नेताहरु बताउँछन् ।

यस्तो छ गगनको विगत

१. गिरिजाप्रसाद कोइराला समूहबाट नेविसंघ महामन्त्री र समानुपातिक सभासद्

२. १२औँ महाधिवेशनमा कोइराला समूह छाडेर भीमबहादुर तामाङ र नरहरि आचार्यको समूहमा

३. काठमाडौं राजनीतिमा प्रकाशमानविरुद्ध भीमसेनदास प्रधानको समूहमा

४. १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री उम्मेदवार

५. १३औं महाधिवेशनको सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवा समूहमा, रामचन्द्र पौडेल समूहको विपक्षमा

६. सिटौलाको सिफारिसमा देउवाद्वारा प्रचण्ड सरकारमा स्वास्थ्यमन्त्री नियुक्त

७. संघीय संसदीय दलको निर्वाचनमा देउवा छाडेर पौडेल समूहका सिंहको पक्षमा

८. १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाबिना महामन्त्रीको उम्मेदवारी घोषणा, लगत्तै पौडेल समूहमा