एमाले बटमलाइनः ‘१४ जनालाई कारवाही की सभामुखको राजीनामा’

एमाले बटमलाइनः ‘१४ जनालाई कारवाही की सभामुखको राजीनामा’



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्गप्रशस्त गर्नुपर्ने अडान राख्ने भएको छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान राख्ने भएको हो ।

सभामुखले बोलाएको सर्वदलीय बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भेटघाटका लागि आज बिहान समय माग गरे । तर, सभामुख सापकोटाले जवाफमा भने, ‘आज म सिंहदरबार आउँदिनँ, उतै बैठकमा आउनुहोला, त्यहीँ छलफल गरौँला ।’ त्यसपछि सभामुख सापकोटा र एमाले प्रमुख सचेतक भट्टराईबीच टेलिफोन संवादमा थप कुराकानी भयो ।

सभामुख सापकोटाले सिंहदरबार नै नआउने जनाएपछि फेरि भट्टराईले थप कुरा प्रस्ट हुन टेलिफोनबाटै सोधे, ‘कतिवटा दललाई सर्वदलीय बैठकमा बोलाउनु भएको छ ?’ सभामुख सापकोटाले भने, ‘संसदमा रहेका सबै १० दललाई बैठकमा बोलाएको छु ।’

‘नेकपा एकीकृत समाजवादी पनि बैठकमा आउँछन् ?’ भट्टराईको प्रश्न थियो ।

‘उहाँहरूसहित १० दल बैठकमा आउने हो, तपाईहरू पनि आउनुहोला ।’

जवाफमा भट्टराईले भने, ‘जुन पार्टी र सांसदको संवैधानिक मान्यतामा प्रश्न उठाएर हामीले निरन्तर प्रतिनिधिसभा अवरोध गरिरहेका छौँ, त्यो बैठकमा एमाले कसरी आउन सक्छ ?’

जवाफमा सापकोटाले भने, ‘त्यही समस्या समाधान गर्न बैठकमा आउन अनुरोध गरिएको हो, सबैसँग राय लिन बैठक बोलाइएको हो ।’

भट्टराईले अगाडि भने, ‘जुन पार्टी र उनका सांसदको पदमाथि संवैधानिक प्रश्न उठाएर एमालेले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ, त्यो पार्टी उपस्थित बैठकमा कसरी एमाले आउन सक्छ ? उहाँहरू पनि उपस्थित हुने भए एमाले बैठकमा आउँदैन ।’

भट्टराईले बैठकमा एमालेको उपस्थिति नहुने जनाएपछि सभामुख सापकोटाले फेरि भने, ‘निर्वाचन आयोगले मान्यता दिएको पार्टीलाई बैठकमा त बोलाउनु नै पर्छ, त्यो त मेरो धर्म नै हो ।’

‘निर्वाचन आयोगले मान्यता दिएको होइन, तपाईंले पदीय मर्यादाविपरीत कार्य गरेकाले यो अवस्था आएको हो, त्यसैले एमाले बैठकमा आउनका लागि दुईवटा सर्त छन्- पहिला एमालेले पदमुक्तको सिफारिस गरेको सूचना टाँस गर्नुपर्‍यो, दोस्रो, पदीय जिम्मेवारीभन्दा बाहिर गएर काम गरेकाले तपाईंले मार्गप्रशस्त गरिदिनुप-यो भन्ने एमाले अडान छ ।’

भट्टराईले सापकोटालाई एमाले धारणा सुनाए पनि उनले भने बैठकमा उपस्थित हुन आग्रह गरिरहे ।

‘त्यही सन्देश सुनाउन मैले सिंहदरबारमा भेट गर्न खोजेको थिएँ, तपाई नै सिंहदरबार नआउने भएपछि मैले एमालेको सन्देश यहीँबाट सुनाइदिएँ, अब तपाईं आफै निर्णय गर्नुहोस् ।’
एमालेको टेलिफोन सन्देशपछि सभामुख सापकोटाले कुनै जवाफ दिएनन् र अन्तिममा भने – छलफल गरौंला ।

पार्टी गतिविधिविपरीत लागेको भन्दै एमालेले गत १ भदौमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेका थियो । तर सभामुख सापकोटाले पदमुक्त नगरी दिएकाले पार्टी विभाजन भएको एमालेको बुझाई छ । सोही कारण एमाले विभाजित भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरे पछि आज दिउँसो २ बजे सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । तर बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली नजाने बताएका छन् ।