युक्रेनमाथि रुसले गरेको सैन्य हमला दादागिरीको भद्धा प्रदर्शन

युक्रेनमाथि रुसले गरेको सैन्य हमला दादागिरीको भद्धा प्रदर्शन



रूसी सैनिकले बिहीबार जल, स्थल र हवाई मार्गबाट युक्रेनमाथि आक्रमण शुरु गरेपछि विश्व शान्ति नराम्ररी खलबलिएको छ । युद्धको त्रास बढेको छ भने मानवतावादमाथि ठूलो प्रहार भएको छ ।

लडाइको दौरान हालसम्म युक्रेन र रुसी सुरक्षाकर्मी गरि ६ सय नागरिकको ज्यान गइसकेको छ । युद्ध तत्काल नरोकिए ५० लाख मानिस विस्थापित हुने अनुमान गरिएको छ । युक्रेनमाथि आक्रमण शुरु गरेकोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तराष्ट्रिय स्तरमा व्यापक निन्दा र आलोचना भएको छ । सार्वभौम देशमाथि रुसले गरेको सैन्य हमला कुनै पनि हिसावले जायज मान्न सकिदैन ।

युक्रेन पूर्वी युरोपमा अवस्थित देश हो । पूर्वमा रूस, पश्चिममा हंगेरी, उत्तरमा बेलारूस, पोल्यान्ड, स्लोभाकिया तथा दक्षिणपश्चिममा रोमानिया,दक्षिणमा कारी सागरले घेरिएको युक्रेनको राजधानी किभ शहरमा रुसले एक्कासी गरेको सैन्य आक्रमणको कुनै पनि हिसावले औचित्य पुष्टि हुन सक्दैन ।

रूसको स्थल, हवाई र नौसेनाले युक्रेनका दर्जनभन्दा बढी प्रमुख सहर तथा सैनिक संरचनामा बम तथा क्षेप्यास्त्र प्रहार गरिरहेका छन् । युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसा र मरिउपोलमा पनि रुसी नौसेना पुगेका छन् । त्यस्तै, राजधानी किभस्थित बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैनिक अखाडा, सैनिक मुख्यालय तथा किभ, डिनिप्रो र खर्किभस्थित सैनिक गोदामहरूमा पनि रुसी सेनाले आक्रमण गरेको छ । इभानो–फ्रांकिभ्स्कस्थित विमानस्थलमा पनि क्षेप्यास्त्र प्रहार भएको छ । युक्रेनको सीमामा रुसले कम्तीमा दुई लाख सैनिक तैनाथ गरेको छ । रुसका यी सबै गतिविधिले युक्रेनको जनजीवन अस्तब्यस्त बन्न पुगेको छ भने विश्व समुदायमा भय र त्रासको वातावरण सृजना भएको छ ।

सन् २०१४ मा क्रिमियालाइ सहजै आफुमा विलय गराएको रूसले युक्रेनलाइ पनि त्यसरिनै हडप्ने योजना बनाएको छ । कुनै बेला क्रिमिया र युक्रेन सोभियत संघकै भाग थियो । सन् १९९१ मा सोभियत संघको पतनसगै यी देशहरु सार्वभौम बनेका हुन । अहिले आएर सार्वभौम देश युक्रेनमाथि रुसले गरेको सैन्य हमला दादागिरीको भद्धा प्रदर्शन हो ।

छिमेकी राष्ट्रमाथि रुसले गरेको सैनिक कारबाहीको विश्वका शक्ति राष्ट्रहरूले विरोध गरेका छन् । संयुक्त राज्य अमेरिका, युरोपियन युनियन, क्यानडा, अष्ट्रेलियालगायत मुलुकले राष्ट्रपति पुटिनको कदमको निन्दा गरेका छन् तर रुस विरुद्ध सेना भने नपठाउने वताएका छन् । नेपालले पनि बिहीबार नै विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने र त्यसो नगर्नु संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत हुने बताएको छ ।

युक्रेनमाथी रुसले गरेको ज्यादतीको जति निन्दा गरेपनि कम नै हुनेछ । अब रुसले विनासर्त लडाई बन्द गर्नुपर्छ र वार्ताको बाटोमा फर्कनुपर्छ । युक्रेनमा शान्ति पुनस्र्थापित हुनुपर्छ र मानव नरसंहार रोकिनु पर्दछ । विश्वसमुदायले अपनाइरहेको संयम र धैर्यतालाई कमजोरी ठानेर शान्तिको पक्षमा गरिरहेको प्रार्थनालाई वेवास्ता गरे त्यसको मुल्य रुसले अबश्य चुकाउनु पर्ने छ ।