काठमाडौंको ईतिहास र महानगरमा नयाँ नेतृत्व

काठमाडौंको ईतिहास र महानगरमा नयाँ नेतृत्व



अहिले नेपाल निर्वाचनमय भएको छ । मन्जुपतन , कान्तिपुर ,देव पाटन र काठमाडौं अनेक नाम पाएको काठमाडौं महानगर शासकका लागि राजधानी भएकाले राजनैतिक महत्व राख्दछ,आम जनताको लागि यो श्वास्थ,शिक्षा,ब्यापार,रोजगारीको केन्द्र हो । राजाधानीको हिसाबले पुर्वाधार लगायतमा उमेद्वारहरुले ध्यान दिनुपर्ने त छदैछ, यसको नेत्रित्व गर्छु भन्ने र मतदाताले पनि यसको ऐतिहासिक, सांस्कृतिक,सामाजिक महत्वलाई बुझ्नु पर्छ ।

भाषा बंशावली अनुसार आधुनिक काठमाडौंको निर्माण इशाको दशौ शताब्दीतिर राजा गुणकाम देवको पालामा भएको हो भन्ने भनाइ छ कतिपयले राजा हरिहर मल्लको पालामा यो शहरको निर्माण भएको बताउछन् ।

काठमाडौं शब्द काष्टमन्डपबाट आएको हो । मछिन्द्रनाथको जात्रामा एउटा कल्पबृक्ष पनि मान्छेको रुपमा मछिन्द्रनाथको दर्शन गर्न आएको थियो तर एउटा ज्यापुले चिनिहाल्यो र पक्रियो । उसको प्रतिभाको सम्मान गर्दै कल्प बृक्षले ज्यापुको किर्ती राख्ने प्रतिज्ञा गरे अनुसार भोलिपल्ट बिशाल रुख भेटियो र त्यही एउटा रुखबाट एउटा घर निर्माण भयो । त्यो घरमा कुनै देवी देवताको मुर्ती राखिएन, त्यसलाई सत्तलको रुपमा स्थापित गरियो ।

माथि उल्लेखित हरफहरुले काठमाडौसंग बिशेषत: दुई कुराहरु जोडीएर आउछन । एउटा काठमाडौंले लामो ईतिहास बोकेको छ, अर्को शारिरिकरुपमा बल लगाउनु पर्ने काम गरे पनि काठमाडौंबासी किसानको रहस्य पत्ता लगाउन सक्ने अलौकिक क्षमता र समाजप्रतीको जिम्मेवारी बोध सहित सत्तल बनाउने उसको योजना ।

ईतिहास भन्छ मन्जु श्रीले काठमाडौं उपत्यका बसाए पस्चात यहाँ अनेकन आक्रमणहरु भए । अनेक बंशले शासन चलायो |बिभिन्न कालखण्डमा कहिले बौद्ध त कहिले हिन्दू धार्मिकताको बाहुल्य रह्यो । यी सबै हुँदा हुँदै पनि काठमाडौंले धार्मिक सहीष्णुतालाई सधैं कायम राख्यो । सबै भन्दा महत्वपूर्ण कुरा दक्षिणबाट शंकराचार्यले हिन्दूत्वलाई बढाउदै बुद्ध धर्मलाई समाप्त पार्दा पनि काठमाडौंले त्यसलाई मर्न दिएन । बरु शंकराचार्यले कर लगाएपछी बौध्द्द धर्म अनुयायी बांडा लगायत कतिपय जाती बिहार छोडेर गृहस्थ भए । कतिपयको भनाइमा पुरानो अवलोकितेश्वर बोधिसत्वको यात्राा नै शैव धर्मको बिस्तार भएपछी नाथ सम्प्रदायका प्रवर्तक गोरक्षनाथका गुरु मछिन्द्रनाथको यात्राको नामले चल्न थाल्यो । नाम फेरियो तर यहाँको चलन ,चाड पर्व रोकिएन |

काठमाडौं नेवार बाहुल्य भुमि हो । कोही यिनको मुलजरो दक्षिणको “नायर प्रदेश” भन्छन जुन नायरबाट नेवार भयो पनि भनिन्छ । कोही चिनबाट आएका मन्जुश्रीका शिष्यहरु भएकाले मङोल हुन भन्छन् । यो भन्नेहरुको संख्या बढी छ । जरो जहाँको भएपनी नेपाली कला संस्क्रिती र ईतिहासलाई सम्ब्रिद्ध बनाउन यिनको महत्वपूर्ण भूमिका छ । नेवार बिना काठमाडौं मात्रै हैन सिङो नेपालको कला,साहित्यको ईतिहास अधुरो हुन्छ ।

उत्तर र दक्षिणको धर्म र संस्कृती र कलाको संगम ,समिश्रणले काठमाडौंलाई सधैं संबृद्ध बनायो । मन्दिरको शहर भनेर चिनायो जहाँं स्वयम्भु माथि बाट पशुपतीको गजुर हेरेर शिवको प्रार्थना गर्छन् अनि पशुपती बाट निस्किएर बौध्दनाथको परीक्रमा लगाउछन् । त्यसैले काठमाडौं मन्दिरहरुको शहर जहाँं हरेक दिन चाड मनाइन्छ भनिन्छ । घोडेजात्रा,भक्कु भैरब, गठे मंगल, गाइ जात्रा लगायत सयौ जात्रा काठमाडौंमा यद्यपी कायम छ |

शिवदेव प्रथमले राजगद्दी पाउनसाथ जब अंशुबर्मा शक्तिशाली भए, त्यसपछि गोकर्णको दरबार सरेर देवपाटनमा बनेको नौ तल्ले (कतै सात तल्ले) दरबारमा सरेको उल्लेख छ । बिभिन्न चिनिया यात्रीहरुले पनि यो दरबार र अन्य कला कृति देखेको र यसको सुन्दरताको खुलेर प्रशंसा गरेको पाईन्छ । काठमा जती मसिनु काम हरु गरिएको छ, हातबाट त्यती मिहिन र सुन्दर कालिगढी अन्त शायद नै गरिएको होला । काठमाडौंले चिन वा उत्तर बाट झिंगटीको छाना भएका अनेक तले दरबार पनि भित्र्यायो भने अर्को तिर “नगर शैली” को कलालाई पनि भित्र्यायो ।भनिन्छ लिछ्छवीकालिन कैलाश कुट भवनमा माथिल्लो तलामा १००० जना भन्दा बढी मान्क्छे अटाउन सक्थे जुन त्यो समयको कलाको बिकासको उत्कर्शको उदाहरण मानिन्छ ।

मल्ल कालमा आइपुग्दा काठमाडौंले आफ्नो छुट्टै स्थान सुरक्षित गरिसकेको थियो । भोट,पाटन र भक्तपुरमा समेत काठमाडौंका तत्कालिन राजा महिन्द्र मल्लको नोट चल्थ्यो । भोटलाई मुद्रा दिएर चांदी लिदा बर्षको १ लाख नाफा गर्थ्यो । महिन्द्र मल्लले अरुतिरबाट मान्छेहरु ल्याएर जनसंख्या बढाए जसले कृषि ,ब्यापारमा उत्पादकत्व बढ्यो । उनको पालादेखी सर्व साधारणले अग्ला घरहरु बनाउन थालेको ईतिहास पाईन्छ । धेरै अघिदेखि काठमाडौंको तराइसंग बिशेष सम्बन्ध छ अझ मल्ल राजाहरुले तराइको कर्नाट बंशसित आफ्नो सम्बन्ध छ भनेर उल्लेख गरेका छन् । जयस्थिती मल्लको सामाजिक ब्यवस्थामा पनि तेर्हौते पण्डितहरुको हात थियो । काठमाडौं शहरको मुल ढोकाटोलमा अझै तिनको उपस्थिती देखिन्छ । रत्न मल्लको पालामा नेपालमा पहिलो पटक मुसलमानहरुको प्रवेश भएको मानिन्छ । बाहिरबाट आउने लाई स्विकार र स्वागत गर्ने काठमाडौंको पुरानो ईतिहास छ ।

काठमाडौंमा थरिथरिका उमेद्वार देखिएका छन् । पार्टीका कतिपय उमेद्वार माथी यौन दुराचारको आरोप लागेको छ । काठमाडौंको मेयरका उमेद्वार माथीको यो आरोप सामान्य रुपमा लिइनु हुन्न । बिगतमा जिम्मेवारी पाउदा उसले कसरी काम गरेको छ । चरित्रको बारेमा प्रश्न उठ्दा त्यसको जवाफ दिनु पर्छ या सजाय दिइनु पर्छ । मल्लकालमा राजा महिन्द्र मल्लका छोरा सदाशिव मल्ल ब्यभिचारी निस्किए । बाटोमा युवतीहरुलाई निस्किन गाहोरो हुन लाग्यो । एकदिन जनताले उनलाई कुटेर राज्यबाट धपाए र उनी भक्तपुर गएर लुके । भादगाउले राजाले समेत शरण नदिएर थुनेर राख्दा तिनी त्यहाबाट समेत झुक्काएर भागे । उनको कारण पुरानो बंशबाट राजसत्ता अर्कैमा सर्न पुग्यो । प्रजातन्त्रमा निर्वाचन नै खराब ,असक्षमलाई सत्तामा पुग्नबाट रोक्ने सबै भन्दा राम्रो माध्यम हो । जनताले पुरस्कार र दण्ड दिन सक्ने हैसियत पाउनु नै प्रजातन्त्रको सुन्दर पक्ष हो ।

यो आज महानगर बन्दै गर्दा यसले धिमेबाजा, नौबाजालाई पनि संरक्षित गर्नुपर्छ नयाँ आउने र्याप पुस्तालाई पनि स्विकार्नुपर्छ । काठमाडौंको माटोले कोतपर्व,नारायणहिटी काण्ड पनि भोगेको छ । प्रजातन्त्र र गणतन्त्रको लागी लड्ने र मर्नेको रगत पनि भोगेको छ । सिंहदरबारभित्र छिर्ने चिल्ला गाडी देखि सडक पेटीमा सामन बेच्ने गरीब पनि समेटेको छ । निर्वाचनमा मत दिदै गर्दा राजनीतिक पार्टीप्रतिको आक्रोशको प्रतिकृया स्वरुप दिइने मत काठमाडौंका लागि प्रत्युत्पादक बन्नु हुँदैन । राजनीतिक रुपले अस्थिर नेपाल जस्तो देशमा सयौं दल हुंदाहुंदै कुनै एउटा ब्यक्तिलाई जिताउने प्रयासले बहुदल काम नलागेको प्रमाणित गर्ने कोसिसमा हाम्रो युवा पुस्तालाई नजानिदो ढंगले प्रयोग पो गरिदैछ कि भन्ने पनि सोचिनु पर्छ ।

समग्रमा माथि उल्लेख गरिए जस्तै काठमाडौंका जनता रुप फेरेर आउने मछिन्द्रलाई त चिन्न सक्छन् भने पक्कै पनि आउने निर्वाचनमा असल र खराब उमेद्वार पनि चिन्नेछन् र योग्यलाई महानगरको मेयरमा निर्वाचित गर्ने छन् ।