‘निष्कलंकित पोखरेलभन्दा निलम्बनमा परेका सिंह कसरी काविल श्रीमान् ?’

‘निष्कलंकित पोखरेलभन्दा निलम्बनमा परेका सिंह कसरी काविल श्रीमान् ?’



काठमाडौं । प्रहरी निरीक्षकमा १२ चैत्र २०४९ मा सँगै सेवा प्रवेश गरेका विश्वराज पोखरेल र धीरजप्रताप सिंह प्रतिस्पर्धी थिए । तर, नवलपरासीको कावासोतीमा इन्चार्ज हुँदा एक सहचालकको हत्या अभियोग लागि निलम्वनमा परेपछि भने सिंह बढुवा प्रतिस्पर्धाबाट रिङ आउट भए । पोखरेल भने प्रहरी संगठनमा व्यवसायिक अफिसरको छवि बनाउँदै उदय भए ।

एसएसपीमा एकै मितिमा बढुवा भए पनि पोखरेल १० औं नम्बरमा थिए भने सिंह १८ औं नम्बरमा बढुवा भएका थिए । डिआईजी बढुवामा भने सिंह पछि परे । पोखरेलभन्दा सिंह एक बर्षपछि मात्र डिआईजी भए । अन्ततः एआईजी पदमा पुग्दा पोखरेलभन्दा सिंह १७ महिनाले जुनियर हुन पुगे । डिआईजी र एआईजीको जेष्ठता अवधि जोड्ने हो भने पोखरेल भन्दा सिंह २८ महिनाले जुनियर छन् । निष्कलंकित तथा काविल प्रहरी अफिसरको छवि बनाएका पोखरेल सफलताको सिंढी चढ्दै गर्दा कलंकित छवि बनाएका सिंह पछि पर्दै गएका थिए ।

‘२९ वर्ष लामो जागीरे जीवनमा पोखरेलले कहिले कारबाही व्यहोर्नु परेन । प्रहरी सेवामा उनको क्षमताको प्रशंसा सर्वत्र भयो । अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवश्रोत विभाग र प्रशासन विभाग सफलापूर्वक सम्हालेर पोखरेलले प्रहरी सेवामा अब्बलताको नमूना नै पेस गरेका छन् श्रीमान् ।’ इजलासमा बहसको क्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले भने ।

सरकारले १७ महिना सिनियर अब्बल प्रहरी अधिकृतलाई छोडेर तेस्रो वरियातामा रहेका विवादित सिंहलाई गत बैशाख १८ गते प्रहरी महानिरीक्षक बनायो । कारबाहीमा परी निलम्बनमा समेत परेको, एक महिना मात्र एआईजी भएको, कुनै विभाग प्रमुखको अनुभव नभएको धीरजप्रताप सिंह के अर्थमा, कुन दृष्टिकोणमा आईजीपी नियुक्त गरियो श्रीमान् ? इजलासमा वरिष्ठ अधिवक्ता उप्रेतीको प्रश्न थियो ।

जुनियरलाई प्रहरी प्रमुख बनाएपछि सिनियर एआईजी पोखरेल न्यायका लागि सर्वोच्च अदालत पुगे । अदालतमा यो मुद्दा अन्तिम चरणमा छ । दुई पटक हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको सम्भवतः आउँदा साता फैसला आउने छ । उक्त मुद्दामा सिंहलाई लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश ग-यो । उनले पेस गरेको लिखित जवाफमा उनले गरेको विशेष काम भनेर बैशाख ३० गतेको स्थानीय चुनाव शान्तिपूर्वक सम्पन्न गरेको उल्लेख गरेका छन् ।

‘१८ गते नियुक्त भएको व्यक्तिले ११ दिनपछि स्थानीय निर्वाचन सम्पन्न गर्न सफल भएको भन्ने हाँस्यास्पद क्षमता उल्लेख गरेका रहेछन् । यही नै पोखरेलभन्दा सिंह काविल भएको उदाहरण हो त श्रीमान् ?’ इजलासमा वहसमा रहेका अर्का अधिवक्ता चन्द्र काफ्लेले प्रश्न गरे ।

आईजीपी बढुवालाई अन्यायपूर्ण छ भनी न्यायका लागि सम्मानित सर्वोच्च अदालत पुगेका पोखरेललाई मेरो नेतृत्वमा काममा फर्क भन्ने सिंह संगठनमा कतिसम्म अव्यवसायिक अफिसर रहेछन् भनेर बाहिर मात्र होइन प्रहरी संगठनभित्र समेत चर्चा चलेको छ ।

निर्वाचन हुने दिनसम्म आईजीपी बनेको बधाई थाप्ने र भोज खुवाउँदैमा व्यस्त भेटिएका सिंहले निर्वाचन सम्पन्नलाई आफ्नो क्षमतासँग जोडेछन् । तर, उनले निर्वाचनमा प्रहरीकै सामुन्नेबाट ब्यालेट लिएर गएको घटना, ब्यालेट साटपाट भएको, दर्जनौ ठाउँमा गोली चलेको, कतिपय ठाउँमा मतदान नै स्थगित भएको घटना चाहिँ लुकाएका रहेछन् । कति काविल रहेछन् भन्ने त देखियो नि श्रीमान् । वरिष्ठ अधिवक्ता उप्रेतीले व्यंग्यात्मक टिप्पणी गरे ।

उनी कतिसम्म कच्चा रहेछन् भन्ने उनको पछिल्लो एक निर्णयले छर्लङ्ग हुन्छ । उनको बढुवालाई नै कानुनी तथा नैतिक दुवै हिसाबले अस्वीकार गरी अदालत गएका उनीभन्दा सिनियर एआईजी विश्वराज पोखरेलको विदा थप गर्ने निवेदन अस्वीकृत गरे । आफ्नो बढुवा तथा नेतृत्व अस्वीकार गरिरहेको, सोही दिन अदालत पुगेका व्यक्तिको विदा अस्वीकार गर्नुको कुनै अर्थ छैन भन्नेसम्मको समान्य कुरा बुझ्न नसक्ने सिंह कति काविल रहेछन् भन्ने त सबैले देखिरहेकै छन् भन्ने दलिल अधिवक्ता काफ्लेले इजलास समक्ष पेश गरेका थिए ।

आईजीपी बढुवालाई अन्यायपूर्ण छ भनी न्यायका लागि सम्मानित सर्वोच्च अदालत पुगेका पोखरेललाई मेरो नेतृत्वमा काममा फर्क भन्ने सिंह संगठनमा कतिसम्म अव्यवसायिक अफिसर रहेछन् भनेर बाहिर मात्र होइन प्रहरी संगठनभित्र समेत चर्चा चलेको छ ।

क्षेत्रीयता, जातियता लगायतमा चलखेल गरेर डिआईजीमै रहेका व्यक्तिलाई एकाएक तानेर आईजीपीमा पु-याउँदैमा काविल हुन्छन् भन्ने हुँदैन । यस अगाडिका प्रहरी महानिरीक्षकहरुले विश्वराज पोखरेललाई भावी आईजीपीको रुपमा तयार गर्न प्रहरी संगठनको विभिन्न महत्वपूर्ण विभागहरुको नेतृत्व सुम्पिएका थिए । पोखरेलले ती जिम्मेवारीहरु सफलतापुर्वक सम्पन्न गरेर आफूलाई प्रमाणित गरिसकेका छन् ।

प्रहरी नेतृत्व तयार गर्न संगठनले बर्षौंदेखि लगानी गरेको हुन्छ । बर्षौँदेखि तयार गरिरहेको व्यक्तिलाई हटाएर एकाएक अनुभवहिन जुनियरलाई नेतृत्व दिएपछि संगठनका हजारौं काविल अफिसरहरु तथा नेतृत्वको सपना बोकेका अफिसरहरु अब कसरी व्यवसायिक प्रहरी अफिसर बन्न प्रेरित हुन्छन् श्रीमान् ? वरिष्ठ अधिवक्ता हरि उप्रेतीको अर्को प्रश्न थियो ।

प्रहरी फोर्सलाई राजनीतिक नेतृत्वले आफू अनुकूल चलाउन विधि विधान विपरितका निर्णय गर्दा प्रहरी संगठनलाई दीर्घकालीन नोक्सानी पु-याउने कुरामा दुईमत छैन । यस्ता निर्णयले अपराध अनुसन्धानमा दक्षिण एशियाकै उत्कृष्ट मानिएको नेपाल प्रहरीको साख अन्तर्राष्ट्रिय रुपमै धुलिसात् नहोला भन्न सकिन्न ।