केपी ओलीको दुवै हातमा लड्डु

केपी ओलीको दुवै हातमा लड्डु



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दुवै हातमा लड्डु बोकेर हिजोआज दिनमा एक पटक बालकोट–बालुवाटार–बालकोटको यात्रा गर्छन् । संसदमा तेस्रो ठूलो दल (३२ सिट) को नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई नाटकीय रुपमा प्रधानमन्त्रीको सिटमा बसाएपछि दोस्रो ठूलो दल (७९ सिट) का एमाले अध्यक्ष ओलीको दुवै हातमा लड्डू हुने चिठ्ठा परेको छ ।

अध्यक्ष ओली यतिबेला एमालेलाई संसदको सबैभन्दा ठूलो दल बनाउने रणनीतिमा लागेका छन् । नेकपा एकीकृत समाजवादीलाई सरकारमा जानबाट रोकिएको मात्र छैन, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनसमेत अध्यक्ष ओलीले रोकिरहेका थिए । राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीको उनकै भाषामा ‘एैंजेरु’ हटाएर बाँकी सांसद एमालेमा विलय गराउने रणनीति २६ गते अगाडि नै सफल भयो भने प्रधानमन्त्री दाहालको कुर्सीमा गम्भीर धक्का पुग्ने देखिन्छ ।

संसदमा एमालेलाई सबैभन्दा ठूलो दल बन्न अब १० सांसदको आवश्यकता छ । अहिले एमालेसँग ७९ जना सांसद छन् भने संसदको ठूलो दल कांग्रेससँग ८८ जना सांसद छन् । एकीकृत समाजवादी र केही स्वतन्त्र सांसदहरुलाई मिलाए संसदमा एमाले सबैभन्दा ठूलो दल बन्न सक्छ । एमाले संसदमा सबैभन्दा ठूलो दल बन्यो भने प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने सम्भावना रहँदैन ।

२६ गते अगाडिसम्म एमाले संसदमा ठूलो दल हुन सकेन भने मात्र प्रधानमन्त्री दाहाललाई एमालेले विश्वासको मत दिनेछ । विश्वासको मत पाएसँगै एमालेले पहिलो चरणमै राष्ट्रपति र सभामुख पाउँने छ । यी दुई महत्वपुर्ण पद एमालेले प्राप्त गरिसकेपछि प्रधानमन्त्री दाहालको उपयोगिता ओलीको लागि लगभग समाप्त हुनेछ । त्यसपछि अध्यक्ष ओलीको आफू सत्तामा पुग्ने फाइनल खेल शुरु हुनेछ ।

विश्वासको मत दिएर अथवा विश्वासको मत लिनुभन्दा अगाडि नै दाहाललाई प्रधानमन्त्रीको कुर्सीबाट लखेट्ने मुङ्ग्रो केपी ओलीको हातमा सुरक्षित छ ।

संविधानको धारा १०० (४) मा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र फेरी अविश्वासको प्रस्ताव पेस गर्न सकिने छैन भन्ने उल्लेख छ । तर, सोही धाराको उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ भन्ने व्यवस्था छ ।

धारा १०० उपधारा (७) अनुसार उपधारा (६) बमोजिम अविश्वासको प्रस्ताव पारित भइ प्रधानमन्त्रीको पद रिक्त भएमा उपधारा (५) बमोजिम प्रस्ताव गरिएको प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले धारा ७६ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने लेखिएको छ ।

विश्वासको मत दिएर अथवा विश्वासको मत लिनुभन्दा अगाडि नै दाहाललाई प्रधानमन्त्रीको कुर्सीबाट लखेट्ने मुङ्ग्रो केपी ओलीको हातमा सुरक्षित छ । पुस २६ गते अगाडि नै लखेट्ने हो कि त्यसपछि भन्ने कुराको निक्र्योल विकसित राजनीतिक घटनाक्रमले देखाउँदै जाने छ । कांग्रेसलाई जिल्याउँदै प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका दाहालले भर्खरै मात्र केपी ओलीको हातको मुङ्ग्रो देखेका छन् । ओलीको हातको मुङ्ग्रो देखेपछि प्रधानमन्त्री दाहालको रातको निद र दिनको चयन एकाएक अन्त्य भएको छ । उनी अहिले सार्वजनिक कार्यक्रममा मलिनो अनुहार लगाएर निरिह भएर प्रस्तुत हुने गरेका छन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस (८८ सिट) ले केन्द्रीय समितिको बैठक पुस २२ गतेका लागि तय गरेको थियो । तर, कांग्रेसले केन्द्रीय समितिको बैठक २८ गतेलाई सारेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने तय भएको हो । यसको सोझो अर्थ विश्वासको मत अगाडि नै राजनीति घटनाक्रमले नयाँ आयाम लिन सक्छ भन्ने हुन्छ ।

रक्षात्मक अवस्थामा पुगेको कांग्रेस यतिबेला ओलीको ‘मुभ’ हेरिरहेको छ । यदि ओलीले प्रचण्डलाई विश्वासको मत दिनु अगावै एमालेलाई संसदको पहिलो दल बनाए भने संविधानको धारा १०० को उपधारा ५ बमोजिम आफैं प्रधाानमन्त्री हुन ओलीले प्रचण्डलाई गलहत्याउने छन् । यदि त्यस्तो भएन भने प्रचण्ड सरकारले ‘हनिमुन पिरियड’ कटाउने वित्तिकै समर्थन फिर्ता लिएर धरापमा पारिदिन सक्छन् । त्यतिबेलासम्म राष्ट्रपति र सभामुख जस्तो महत्वपूर्ण पद एमालेसँग आइसकेको हुनेछ ।

एमालेले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रचण्डले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । त्यतिबेला प्रचण्डसँग एउटै मात्र विकल्प कांग्रेस हुनेछ । तर, भर्खरै धोका दिएर सत्तामा पुगेका प्रचण्डलाई कांग्रेसले काँध थाप्छ भनेर अनुमान समेत गर्न सकिदैन । यसको निचोड भनेको घुमाइफिराई एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने हो । ओली अहिले यहि चाल चलिरहेका छन् भनेर राजनीतिक विश्लेषकहरु बताउँछन् ।

दुबै हातमा सत्ताको लड्डू बोकेका अध्यक्ष ओलीले विश्वासको मत अगाडि नै सरकार ढालेर दायाँ हातको लड्डू खान्छन् कि विश्वासको मत दिएको केही समयपछि सरकार ढालेर बायाँ हातको लड्डू खान्छन् भन्ने निक्र्यौल गर्न केही दिनको राजनीतिक घटनाक्रमलाई कुर्नुपर्ने हुन्छ ।