रोचक बन्दै ढोक्सा भर्सेस पिंजडाको राष्ट्रपति कप

रोचक बन्दै ढोक्सा भर्सेस पिंजडाको राष्ट्रपति कप

राष्ट्रिय सहमतिबाट फाइदा लिने दाउमा माओवादी



राष्ट्रपति निर्वाचन नेपालकाे राजनीतिको फाइनल खेल बनेको छ । मंसिर ४ पछि सुरु भएको नयाँ सरकार गठनको यो खेलमा मुख्य दुई टिम प्रतिस्पर्धी छन् । अहिलेसम्म अग्रता लिइरहेको टिम पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिम हो । प्रमुख प्रतिस्पर्धी पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टिम भने फाइनल जित्नका लागि अवसरको खोजीमा छ । ओली टिमले खेल जित्नका लागि पिञ्जडा र देउवा टिमले ढोक्सालाई प्रयोग गरेका छन् । हालसम्म पिञ्जडा बलियो देखिए पनि फाइनल खेलमा कुन हतियार बलियो हुन्छ भन्नेमा दर्शक अन्योलमा छन् ।

यो रोचक खेलमा निर्णायक भूमिका निभाइ रहेका खेलाडी भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा छ । कुनै पनि खेलको निश्चित नियमहरु हुन्छ । तर यस खेलमा भने कुनै नियम र मापदण्डहरु छैनन् । खेलमा निर्णायक बनेका खेलाडीहरुलाई आफ्नो टिम मन परेन भने सहजै टिम परिवर्तन गर्न पाउँछन् । सुरुवाती चरणदेखि नै मुस्किलले खेलको अग्रता लिइरहेको टिमलाई खेलाडीले टिम परिवर्तन गर्छन् की भन्ने डर छ । खेलमा पछ्याइरहेको अर्को टिमलाई बलिया खेलाडीहरु आफ्नो पक्षमा आए खेल जितिने आस छ । यस खेलमा फाइनल जित्नेले राष्ट्रपति नामक उपाधि पाउने छ ।

देशको सम्माननीय पदमा विराजमान हुनका लागि खेल यतिको रोचक त हुनैपर्छ । तर राष्ट्रपति पदकै कारण फेरि सत्ता समीकरण बदलिने देखिएको छ । प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले बिश्वासको मत दिएपछि देशको राजनीति रोचक बनेको हो । यो परिस्थितिमा नेकपा माओवादी केन्द्र दोधारमा परेको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै पनि पार्टीले बहुमत नल्याएपछि देशमा राजनीतिक अस्तिरता हुने निश्चित भएको हो । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनुलाई एमालेले ढोक्सा थापेको टिप्पणी गरेको थियो । त्यसलगतै एमालेले देशको प्रधानमन्त्रीलाई एमालेले पिञ्जडामा राख्न खोजेकाले आफूहरुले विश्वासको मत दिनपरेको कांग्रेसको जवाफ थियो । यस विषयमा के छर्लङ्ग हुन्छ भने यदि प्रधानमन्त्रीले काम गर्ने सिलसिलामा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेबाट कुनै पनि किसिमको दबाब भएमा तत्कालै सत्ता समीकरण बदल्न सक्ने अफर कांग्रेसले गरेको हो । हाल संसदका तीनैवटा ठुला पार्टी फुकीफुकी पाइला चालिरहेका छन् ।

राष्ट्रिय सहमतिबाट फइदा लिने दाउमा माओवादी
पछिल्लो समय नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमती गर्न जोड दिइरहेको छ । संसदका दुई ठूला दलको लडाइँको फाइदा उठाउने रणनीतिमा माओवादी लागेको छ । राष्ट्रिय सहमति गरेर अगाडि जाने भनिरहँदा कांग्रेस आशावादी बनेको छ भने एमाले शसंकित बनेको छ । तर माओवादीले राष्ट्रिय सहमति भनेर राष्ट्रपति निर्वाचनमा न एमालेको उम्मेदवार जिताउन चाहान्छ नत कांग्रेसको, सर्प मरोस् लाठी पनि नभाँचियोस् भने झै, गठबन्धन पनि जोगियोस् आफूले चाहेको व्यक्ति राष्ट्रपतिमा निर्वाचित होस् भन्ने प्रयत्न माओवादीको छ ।

राष्ट्रिय सहमति भनेर आफू निकटस्त व्यक्तिलाई राष्ट्रपति बनाउन सकेमा यो पाँच वर्ष माओवादीलाई सत्तामा शासन गर्न निकै सहज हुन्छ । उसले त्यही चाहेको हो । माओवादीको यो रणनीति सफल भएमा एमालेको पिञ्जडा र कांग्रेसको ढोक्सा दुवै काम लाग्ने छैन । माओवादी पाँच दलीय गठबन्धन छाडेर एमाले नेतृत्वको सात दलीय गठबन्धनमा आएपछि समान्य रुपमा राजनीतिमा कांग्रेसलाई घाटा भएको र एमालेलाई नाफा भएको देखियो । जब प्रधानमन्त्रीले कांग्रेसबाट पनि विश्वासको मत पाए तब माओवादीले दुई शक्तिको युद्धबाट फाइदा उठाउने वातावरण सिर्जना भएको छ । आगामी दिनमा एमाले सत्तामा आफुलाई टिकाइराख्नका लागि जुनसुकै मुल्य चुकाउने छ ।

त्यसैगरी सत्तामा जानका लागि कांग्रेसले सकेसम्मको जोडबल लगाएर प्रयास गर्नेछ । यसो हुँदा दुबै तर्फबाट माओवादीलाई नाफा हुने देखिएको छ । सत्ता समीकरण जस्तो बन्दा पनि माओवादी बिनाको सत्ता यो पाँच वर्षमा नबन्ने देखिएको छ ।