प्राकृतिक सौन्दर्यता र जैबिक बिबिधताको धनी देश नेपालले प्रकृति संरक्षणको क्षेत्रमा कदरयोग्य काम गरेको छ । अग्रजहरुले स्थापना गरिदिएका निकुञ्ज, आरक्ष, संरक्षणक्षेत्र, उद्यानको निरन्तर रक्षा बिस्तार र कल्याण सम्मान भएको छ । कल्याण प्रकृति र हामी मानव दुबैको । निकुञ्ज होस् वा सामुदायिक बन, तिनले बिभिन्न कालखण्डमा बिश्व रेकर्ड राखे । पुरस्कृत भए । आज पर्यन्त हाम्रो संरक्षण, पहल, प्रयास र उपलब्धिलाई उत्कृष्ट मानिन्छ । त्यसको श्रेय निःसन्देह जनता, संरक्षण साझेदार संघ संस्थाहरु र नेपाल सरकारलाई जान्छ । नेपाल सरकारको अभिन्न अंग नेपाली सेना स्थापनाकालदेखि संरक्षणमा सहभागी भई आएको छ । गैंडा गस्तीबाट सुरु भएको उसको प्रत्यक्ष सहभागिता पाँच दशक पूरा भएको छ । पछिल्लो २ दशकको भाग्यमानी संरक्षण सहभागी म आफै हुँ । सेना दिवसको अवसरमा आफ्नो संरक्षण अनुभवको जगमा उभिएर संरक्षणको विगत वर्तमान र भविष्यको खाका उतार्न यो आलेख पस्किएको छु ।
बिगत
ईतिहासमा आफ्नै अमूल्य तराई आफैलाई काल जस्तो थियो । ज्यान लिने रोग र हिंस्रक जनावरको घना चारकोशे झाडीको प्रवेशलाई बहादुरी मानिन्थ्यो । पछि त्यही जोखिमपूर्ण जंगलभित्र साहसिक सिकारको खेल हुन सुरु भयो । नेपाललाई युरोपसम्म चिनाउन सिकार कुटनीतिको प्रयोग भयो । तराई प्रवेश र सिकारसँगै बसाईसराई तीब्र भयो । जंगल फडानी र अतिक्रमण अनियन्त्रित हुन थाल्यो । नेपालको प्रतीक एक सिंगे गैंडाको संख्या चार डिजिटबाट घटेर दुई डिजिट ९० भन्दा कममा झरेपछि विश्व संरक्षण समुदायले गैंडा लोप हुने भविष्यवाणी गरिदिए । गैंडा संरक्षणको लागि चितवन राष्ट्रिय निकुञ्ज स्थापना भयो ।
हिजोसम्म बैध मानिएको सिकार खेल अब अबैध घोषित भयो । हिजो सिकार खेलको प्रबन्ध मिलाउने र देश बिदेशका राजा महाराजाहरुलाई सिकार खेलाउने उही नेपाली सेनाले सिकारी बिरुद्ध कार्वाही गर्नुपर्ने भयो । निकुञ्जको साँधसिमाना लगाएर कडा पहरा दिनासाथ गैंडाको संख्या वृद्धि भयो । उत्साह जाग्यो । अरु थप निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरु विस्तार भए । जहाँ जहाँ माग भयो, नेपाली सेना थप नयाँ निकुञ्जहरुमा तैनाथ हुँदै गयो । सुरक्षा अवस्था सुदृढ बनाइदियो । बन्यजन्तु र तिनको बासस्थानको सुरक्षा सुनिश्चित गरिदियो ।
सिकारीबाट रक्षकमा रुपान्तरण भएर कडा पहरेदार हुनु आफैमा ठूलो परिवर्तन थियो । आधुनिक संरक्षण ईतिहासको ३ दशकपछि संरक्षणमा खटिने अवसर आफैलाई प्राप्त भयो । जुन बेलासम्म निकुञ्जमा सिकार निषेध तर निकुञ्ज बाहिर खुलमखुला थियो । सीमाना छुट्याउन र भित्र कोर इलाकामा बस्न नजान्ने अबोध बन्यजन्तुहरुले निकुञ्ज बाहिर निस्कनासाथ ठहरै मर्नु पर्दथ्यो । सीमाना नचिनेको नक्कल गरेर सीमा भित्र पनि सिकार गर्ने चलन थियो ।
मद्यवर्ती क्षेत्रको सीमांकन नहुनु, ऐन नीति समयमा नआउनु, संरक्षित क्षेत्रहरुको सीमांकन स्पष्ट र भिजिबल नहुनुले संरक्षण चुनौतिपूर्ण थियो । मेरो अर्जुनदृष्टि निकुञ्जलाई हरेक सेकेण्ड पूर्ण सुरक्षाको प्रत्याभूति दिनुपर्छ भन्ने महत्वकांक्षामा केन्द्रित भयो । जब यो इच्छा पूरा भयो अनि मद्यवर्ती क्षेत्र निकुञ्जको अभिन्न अंग हो र त्यहाँको बन्यजन्तु पनि हाम्रो हो, तसर्थ त्यसलाई अनुगमन र सुरक्षा प्रदान गर्ने जिम्मेवारी हाम्रो हो भन्ने ज्ञान पलायो । त्यो इच्छा पनि पूरा भयो । रक्षा, गृह, बन मन्त्रालयको संयुक्त बैठकले गहन छलफलपछि मन्त्रीपरिषद्बाट निर्णय गरि मद्यवर्ती क्षेत्रको बन्यजन्तु संरक्षणको जिम्मेवारी नेपाली सेनालाई भन्ने अधिकार दिएपछि नयाँ स्थायी कार्य सञ्चालन विधिले संरक्षण दायरा फराकिलो बनाइदियो । नेपाली सेनाको बाधाफुकाउ भयो । हामी निकुञ्ज भित्रमात्र सीमित रहेनौं । गैंडालाई फिर्ता ल्याउन हेटौडा र भारतसम्म पुग्यौं । मलाई संरक्षणको थप इच्छा जाग्यो । हाम्रो निकुञ्ज आफ्नो कार्यकालमा मात्र सुरक्षित भएर पुग्दैन । अर्को दुई दशक त्यसको रक्षा, कल्याण, सम्मान हुनुपर्दछ ।
हामीले चोरी सिकारीको अभिलेख राख्यौं । अद्याबधिक गर्दै गयौं । त्यो सूचना सञ्जाल चोरी सिकारी र तस्करहरुको ट्रयाकिङ गर्न रामबाण भयो । चोरी सिकार र बन्यजन्तुको अबैध अंग व्यापारको जालो सर्वत्र फैलिएको थियो । नेपाल यो अबैध व्यापारको ट्रान्जिट् पोइन्ट र ट्रान्जिट रुट थियो । हामीलाई चीन भारत हङकङ मलेसियासम्म जाने र व्यापार नियन्त्रण गर्ने संयन्त्रको खाँचो थियो । यो संरक्षण खाल्डो पुर्न नेपाल प्रहरीले सिआईबिभित्र पिलार फोर स्थापना गरेर अपरेसनमा ल्याइदियो । आधुनिक संरक्षण इतिहासमा त्यो एउटा अपूर्व कोसेढुंगा थियो । नेपाल प्रहरीले स्थापनाकालदेखि यो जिम्मेवारी स्वस्फूर्तरुपमा विशेष चाख र दिलचस्पीका साथ पूरा गर्दै आएको छ । अन्तर्राष्ट्रिय लगानी, माग र राष्ट्रिय आपूर्ति तथा फिल्डमा चोरी सिकारीको सञ्जाललाई नष्ट गरिदिएको छ ।
बृहद् टिमको परिकल्पना अनुसार हामीले निकुञ्जमा आधुनिक सूचना प्रविधि (आईटी), डग् युनिट, महिला संरक्षणकर्मी, बिशेष फौजको बिशेष मदत (महाहण्ट) लाई संलग्न गर्दै गयौं । जवाफदेहिता बढायौं ।
प्रकृति संरक्षणको जिम्मेवारी झारा टार्ने सामान्य जिम्मेवारी होईन, बरु यो सेना—नागरिक सम्बन्ध, विदेश सम्बन्ध र अन्तर्राष्ट्रिय नेटवर्किङ विस्तार गर्ने अपूर्व अवसरको महत्वपूर्ण प्लेटफार्म हो भन्ने कुरालाई नेपाली सेनाले मनन् र आत्मसात गर्यो । यो जनहितको अपूर्व अवसर मात्र होईन बरु अघोषित् राष्ट्रिय गौरवको पवित्र र गौरवशाली सहभागिता हो भन्ने गर्वबोध भयो ।
वर्तमान
आजको संरक्षण पहल र प्रयासको गर्बिलो जग हिजोको मान्यता र अभ्यास हो । सोको निरन्तरता हो । आज नेपाली सेनाले आफ्नो प्रकृति संरक्षण शिक्षालय स्थापना गरेर जंगल डिउटी तालिमलाई अनिवार्य बनाएको छ । मानवीय र भौतिक क्षति न्यूनिकरण गरेको छ । मानव अधिकारको पूर्ण पालना गर्दै पहिला समुदायको रक्षा, कल्याण, सम्मान गरेर बन्यजन्तु र तिनको बासस्थान रक्षा गर्दै आएको छ । शून्य सिकार उपलब्धि नेपाली सेनाको अहोरात्र खटाई र पसिनाको प्रतिफल हो । गैंडाको करिब दोब्बर संख्या र पाटेबाघको करिब तेब्बर बृद्धि हिजोको शून्य सिकारको प्रतिफल हो ।
यी उल्लेखनीय उपलब्धि हासिल गर्न नेपाली सेनाले आफूलाई ठूलो रुपान्तरण गरेको छ । चोरी सिकार, अबैध व्यापारमा शून्य सहनशिलता अपनाएको छ । दण्ड पुरस्कार नीतिलाई कडाईका साथ अबलम्बन गरेको छ । आफ्नो ग्लोबल इन्फर्मेसन सिष्टम (जिआईएस) सेललाई संरक्षणमा समर्पण गरेको छ । द्वन्द्वकालको लगत्तैपछि खाली निकुञ्जमा बन्यजन्तु पुनस्र्थापना गर्न सेनाले आफ्नो हवाई साधन, यातायात, सञ्चार शक्तिलाई केन्द्रिकृत गरेको थियो । हामीले आइल्याण्डर जहाजबाट निकुञ्जमाथि हवाई गस्ती गरेका थियौं ।
जंगल डिउटीमा साहस, प्रतिभा, सृजना खन्याएर उत्कृष्ट परिणाम निकाल्न नेपाली सेनाले विशेष फौज लगायतका अतियोग्य, बढियोग्य कमाण्डरहरु खटाउने नयाँ अभ्यासको प्रयोग गर्यो । यो प्रयोगले निकुञ्जमा कायापलट भयो । शून्य सिकार हासिल भयो र त्यसले धेरै वर्षसम्म निरन्तरता पायो । फलस्वरुप, आजसम्म प्रकृति संरक्षणको जिम्मेवारी सफल छ, सुखद् छ । र, गौरवयोग्य छ ।
यी उपलब्धिभन्दा ठूलो उपलब्धि ठान्ने विज्ञहरुको तर्क अर्कै छ- सार्वजनिक धारो, कुवा, कुलो, नहर, खोलो, सडक, मन्दिर, सम्पदा र बालुवाटार प्रधानमन्त्री निवास भित्रको जग्गा खाने माफिया विकृति र भ्रष्ट प्रवृतिले संरक्षण क्षेत्रहरु खाईसकेका हुने थिए । संरक्षण क्षेत्रको साँध सीमाना जस्ताको तस्तै रहनु भनेको नेपाली सेनाको अहोरात्र इमानदार पहरा नै हो । सेना सकरात्मक र तयारी हुँदा संरक्षण क्षेत्रको विस्तार सम्भव भएको हो । सुन्दर बाँके राष्ट्रिय निकुञ्ज त्यसको ज्वलन्त उदाहरण हो ।
भविष्य
यो नितान्त धार्मिक र पवित्र राष्ट्रिय गौरवको भूमिका निर्वाह गर्न नेपाली सेना अझ धेरै सकृय हुन जरुरी छ । संरक्षण ज्ञान, कला, त्याग र समर्पणलाई गुणात्मक वृद्धि गरेर पुर्खाका सम्पदाहरु भावी पिंढीका लागि सुरक्षित राखिदिन सेनाको पुर्बवत् जिम्मेवारीले अझ धेरै सफलता प्राप्त गरोस् ।
भविष्य निःसन्देह चुनौतीपूर्ण छ । केन्द्रको कुशासन र भ्रष्ट आचरणको प्रतिविम्ब हो फिल्डको प्राकृतिक श्रोत साधनको अबैध उत्खनन्, दोहन्, विनास र बिक्रीबितरण । चोरी सिकार र अंग व्यापार । अतिक्रमण र अबैध घुसपैठ ।
आशा गरौं सुशासनको नारा र सपना छिटो पूरा हुनेछ । प्रकृतिको धनी र विछट्टै सुन्दर देश नेपालले प्रकृतिको रक्षा गरेर हरित् समृद्धि मार्फत प्राकृतिक स्वर्गलाई सभ्य सांस्कृतिक स्वर्गमा फ्युजन गराउने छ ।
प्राचिन र परम्परागत संरक्षण मोडलले भावी चुनौतीको सामना सम्भव छैन । आईटी र ईण्टेलिजेन्स प्रधान संरक्षण मोडलले मात्र भावी चुनौतीको सामना सम्भव छ । संख्यात्मक होईन गुणात्मक फड्को मार्नुपर्दछ हामीले । आउने सिक्ने जाने हचुवा तरिका होईन, तालिमप्राप्त जंगल डिउटी फर्मेसन निर्माण र समर्पण गर्नुपर्दछ सेनाले । सरकारलाई सुझाब र दबाब दिएर समृद्धिलाई छिटो भन्दा छिटो दुरदराजका मद्यवर्ती क्षेत्रमा पुर्याउनुपर्दछ । हेक्का रहोस् वाह्य सुरक्षाको रामबाण औजार प्रतिरक्षा होईन सुशासन र समृद्धि हो ।
जलबायु परिवर्तन पृथ्वीको सबैभन्दा ठूलो कठिन र भयानक भावी चुनौती हो । विश्वको सेनाले यो ध्रुबसत्य शीघ्र मनन् र आत्मसात गर्दै जारी र भावी युद्ध हापेर जलवायु परिवर्तनका चुनौतीसँग लड्न जरुरी छ । वातावरण सुरक्षा सबै सेनाको साझा भावी नारा र रोडम्याप हुनुपर्दछ । नेपाली सेनाले विश्वमा त्यसको सफल नजीर स्थापना गरिदिएको छ । अरुले उसबाट पाठ सिक्न र संरक्षण योगदानमा हामफाल्न जरुरी छ ।
यो ऐतिहासिक, धार्मिक, पवित्र काममा अनबरत योगदान पु्र्याउने मातृसंगठन नेपाली सेनालाई सलाम छ । भोलिको सेना दिवशले यो पवित्र जिम्मेवारीलाई माझ्ने टल्काउने र अझ परिस्कृत गर्ने ईच्छाशक्ति र दूरदर्शन प्राप्त होस् ।
२६०औं सेना दिवसलाई हार्दिक शुभकामना ।
प्रतिक्रिया