प्रकृति मानब जीवन कै जननी हुन् । साहस भरिदिने पाठशाला हुन् । नैतिक शिक्षा दिने शिक्षालय हुन् । सहअस्तित्वको असल शिक्षा दिने महाबिद्यालय हुन् । स्वबिबेक, स्वनिर्णय, स्वाभिमान, आत्मसम्मान, अरुको सम्मान, कर्म, धर्म, करुणा, क्षमा, सहनशीलता, बाँच्ने कला, छल्ने कला, सैनिक कला, नेतृत्वकला, सिकाउने बिश्वविद्यालय हुन् । यो मैले फिल्डबाट प्राप्त गरेको ब्यवहारिक ज्ञान र अनुभव हो ।
आफूलाई संरक्षण शिक्षा सिकाउने गुरुआमाहरु सरिता ज्ञवाली र डा. शुशिला चटर्जीलाई १३३ औं अन्तर्राष्ट्रिय नारी दिवसको एकाबिहानै फोनबाट मेसेज पठाएँ – “सबै नारी तपाईहरु जस्तै प्रकृतिबिज्ञ, संरक्षणबिज्ञ, शक्तिशाली स्वाभिमानी र प्रकृतिका पुजारी हुन् ।”
उहाँहरुको संरक्षण शिक्षाले मलाई २३ बर्ष अगाडि अदम्य साहस भरिदिएको थियो । जसको सानो अंश आफ्नो पुस्तक स्वर्गको सेवामा बर्णन गरिसकेको छु । ठूलो अंश बर्णन गर्न बाँकी नै छ । यस बर्षको नारी दिवसलाई शुभ कामना दिदै प्रकृति र नारीको अन्तरसम्बन्ध केलाएर प्रकृतिमा रमाउने ती साहसिक नारीहरुको सम्मान गर्न यो आलेख तयार पारेको छु ।
प्रारम्भ श्रीमतीबाट
“गणेश भगवान् हात्ती मलाई नचढाउनू । आफूहरु पनि नचढ्नू । सैनिकले गस्ती गर्ने र बिरामी बोक्ने सरकारी गाडीमा मलाई नचढाउनू र दुरुपयोग नगर्नु । बरु म निकुञ्ज आउदिन । निकुञ्जको कोसेली हाम्रो घरमा नछिराउनू । आफ्नो तन मन ज्ञान ध्यान निकुञ्ज संरक्षणमा लगाउनू ।”
निकुञ्जमा खट्टिएको आफ्नो युवा श्रीमानलाई पंक्तिकारको श्रीमतीले उतीबेला दिएको अर्ती हो यो । कति अमूल्य अर्ती !
उनी निकुञ्जमा दशैंको टिका थाप्न बाहेक आइनन् र मलाई निकुञ्ज प्रति दत्तचित्त रहन हमेसा उत्प्रेरणा भरिराखिन् । आखिर उनलाई मेरो प्रकृति रक्षाको समर्पण र त्यागको धर्म लाग्यो ।
छोटो भ्रमणमा उनले पेटभरि पाटेबाघ हेर्न पाईन् । एशिया कै अग्लो राजागज र सबैभन्दा ठूलो शक्तिशाली कान्छागजको दर्शन पाईन् । त्यसपछि उनीमा स्वाबलम्बीपन, स्वाभिमान, साहस, सहनशीलता, करुणा, कर्म, धर्म, शान्त स्वभाव भरिएको, बढेको महशुस भयो मलाई । आज उनी प्रकृति कि भक्त र पुजारी हुन् । प्रकृतिको अकल्पनीय शक्ति र देन देखेर म आश्चर्यचकित नहुने कुरै भएन ।
आमाको पाठ
हजुरआमा आमाको थाप्लोमा डोको नाम्लो टुटेन । तर उहाँहरुले सुकेको दाउरा र पत्कर बाहेक हरियो रुख बिरुवा काट्नुभएन, छुनुभएन । हामीलाई काट्न दिनुभएन । निरक्षर काकी, आमा, हजुरआमाहरुको कति ठूलो नैतिकता, धर्म र दूरदृष्टि ? आज त्यो बनमा प्रबेश गर्न डरलाग्छ । घना जंगल, वन्यजन्तु र पंक्षीहरुको खानी । लाली गुराँसको लालीले अहिले त्यो बन राताम्य र सुन्दर छ ।
प्रकृतिबिद् संरक्षणबिद् नारीहरु
संरक्षण गोष्ठीहरुमा संरक्षणकर्मी महिलाहरुको अध्ययन, अनुसन्धान, सहभागिता, संरक्षण वकालत र उपलब्धि देखेर आज मलाई गर्वबोध हुन्छ । आई यु सि एन को आफू सहभागी बिश्व सम्मेलनले काबिल र प्रतिबद्ध नारीको नेतृत्व पाउदा हर्षको सीमा रहेन । २ हप्ता अगाडि आइ युसि एन को आफ्नै कमिसन चेयर डा. पासाङ्ग डोल्मा सेर्पालाई भेट्दा हर्ष बिभोर भएँ । उहाँको संरक्षण ज्ञान, अनुभव, योगदान र अन्तर्राष्ट्रिय नेतृत्वको उचाई देखेर को गौरवान्वित् नहोला ? संरक्षणमा समर्पित महिला प्रकृतिबिज्ञ र संरक्षणकर्मीहरुको खानी देखेको छु नेपालमा । तिनिहरुको सम्मान र ज्ञान अनुभव सदुपयोग गर्ने हो भने हाम्रो प्रकृति चुनौतिरहित् र भाग्यशाली हुनेछ ।
साहसिक आरोही महान् महिलाहरु
सगरमाथा आरोही संघले नारी दिवसको अवसरमा ३५ जना सगरमाथा चढ्ने नारीहलाई सम्मान र कदर गर्यो । आफ्नो घर, परिवार, जीवन जोखिममा राखेर बिश्व सम्पदामा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जमा अवस्थित सगरमाथाको चुचुरो चुम्ने ती महसुर नारीहरुको अदम्य साहसको जति वर्णन गरेपनि कम हुन्छ ।
सगरमाथालाई पवित्र र भाग्यशाली बनाउने ती महान् नारीहरुलाई धेरै धेरै सलाम छ र राज्यले तिनीहको रक्षा कल्याण सम्मानमा कुनै कञ्जुस्याँई नगरोस् भन्ने पुकार छ । राज्य महिलामैत्री होस् । महिलाहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारको अवसरमा अग्रगामी प्राथमिकता दिन पहलकदमी उठावस् ।
अदम्य साहस कि श्रोत राजकुमारी
कतारकी राजकुमारी आश्मा अल्थानी ८ हजार १९ मि अग्लो अन्नुपूर्ण हिमाल आरोहण गर्न नेपाल आउनु भएको छ । यस अघि सगरमाथा, धौलागिरी, कंचनजंघा, लोत्से, आमादब्लाम्, मनास्लु, केटू लगायतका हिमालको सफल आरोहण गरेर अन्नपूर्ण आरोहण गर्न आउनु भएकी राजकुमारीको अदम्य साहस विश्वका नारीहरुलाई मात्र होईन पुरुषहरुलाई समेत असल र तारिफयोग्य पाठ हुनेछ । “असम्भव केही छैन र नारीको शक्ति तथा साहस अकल्पनीय धेरै छ” भन्ने उदाहरण हो उहाँको आरोहण यात्रा ।
पेशाले चिकित्सक राजकुमारीको यो साहसिक पहलकदमीले बिश्वका धनाढ्य बिलासी महिलाहरुलाई साहसिक खेल तर्फ आकर्षित गर्ने छ । नेपालको सुन्दर हिमाल र पर्यटन विकासलाई प्रबद्र्धन गर्ने छ । संसारका राजपरिवारहरु बिकृति, विसंगति, लागू पदार्थ र अल्छीको बदनाम हुँदै भूमिगत र गायब भईरहेको बर्तमान परिवेशमा यी राजकुमारीको नेतृत्व, ब्यवस्थापन क्षमता, साहस, समर्पण र त्याग अपबादको रुपमा अघि आएको छ । उहाँको यो आरोहण सफल र अबिश्मरणीय रहोस । राज्यले ती राजकुमारीलाई सभ्य र भब्य सम्मान दिएर बिदाई गरोस् ।
आफ्नै पहिलो महिला राष्ट्रपतिको प्रकृति प्रेम
राष्ट्रपतिको मूल्यांकन भविष्यले गर्ला । तर उहाँ रक्षामन्त्री हुँदा रक्षाबिद्हरुको मुखारबिन्दुबाट सुनिन्थ्यो–“आजसम्म यति साहसिक र शक्तिसाली कोही पुरुष रक्षामन्त्री थिएन ।”
राष्ट्रपति निवासमा रहेर उहाँले गर्नु भएको प्रकृतिको प्रार्थना र पुकार गर्वयोग्य छ । सम्पूर्ण प्रकृतिप्रेमी प्रकृतिबिद् र संरक्षणबिद्हरुलाई एउटा साझा छातामुनि गोलबद्ध भई प्रकृतिरक्षाको लागि योगदान गर्न गर्नु भएको आह्वान ज्यादै गम्भीर र समयसान्दर्भिक छ । र, आफू आजीवन प्रकृतिको रक्षा कल्याण सम्मानमा लागि पर्ने उहाँको बाँकी जीवनको दृढ संकल्प सम्बेदनशील, धार्मिक र मर्मस्पर्शी छ ।
जलवायु परिवर्तनको जोखिममा महिला
चुलो–चौका, मेलापात देखि रोग भोक बेरोजगार सम्म महिलाहरु जोखिममा छन् । जलवायु परिवर्तनले कृषि, पर्यटन, स्वास्थ्य, उद्यम सबै क्षेत्रमा महिलालाई बढी जोखिममा पुर्याएको छ । बिपद्को जोखिम उस्तै बिकराल छ ।
नेपालको हकमा जलवायु परिवर्तनको प्रभाव भ्रष्टाचारले चौगुना बढाएको छ । जलवायुको असर भन्दा भ्रष्टाचारजन्य सरकारका क्रियाकलापले प्रकृतिमा निर्भर महिलाहरुको जनजीवन कष्टकर भएको छ । भ्रष्टाचारजन्य कुशासनको कारण बिपद्को भार र मारले महिलाहरुलाई जोखिम थोपरेको छ । हर क्षेत्रमा तनाब चुलिएको छ । निकुञ्ज आरक्ष र संरक्षण क्षेत्र जति सुन्दर र धनी छन्, त्यहाँ वरिपरि बस्ने सीमान्तकृत र आदिवासीको जीवन उती कुरुप, कष्टकर र गरिबीको चक्रमा पिसिएको छ । अन्याय, अत्याचार, असमानता र बिभेदले त्यहाँ गणतन्त्रको खिल्ली उडाई रहेको छ ।
यो बिकराल समस्याको समाधान प्रकृतिमा हरित् सुशासन हो । संरक्षण क्षेत्रका अधिकारी कर्मचारीहरु बढी संयमित, अनुशासित र जवाफदेही भई संरक्षण क्षेत्रभित्र राजनीतिक हस्तक्षेप र भ्रष्टाचारमुखी कुशासन छिर्न नदिन दृढ संकल्प गर्नुपर्दछ । मानाव–बन्यजन्तु द्वन्द्व न्यूनीकरण र राहत प्रदानको सहजिकरणमा बिशेष ध्यान दिनुपर्दछ । प्रकृति संरक्षण गरे बापत प्राप्त हुने राष्ट्रिय नाफाबाट महिलाहरु लाभान्वित हुने नीतिगत प्रावधान हुनुपर्दछ । शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, रोजगारको अवसरबाट महिलाहरुलाई प्राथमिकताका साथ सम्मान गरिनुपर्दछ । र, नारामा होईन ब्यबहारमा, समृद्धि महिलाहरुको घर आँगनमा बिना बिलम्ब पुर्याईनुपर्दछ । तबमात्र प्रकृतिका बिशेष पुजारी महिलाहरुको ईमान्दार योगदानबाट मात्र बिरामी धर्ती माता
(मदरअर्थ) र प्रकृतिमाता (मदरनेचर) को उपचार र पुनरप्राप्ती सम्भव हुन्छ ।
अन्त्यमा, प्रकृतिका पुजारी सम्पूर्ण प्रकृतिप्रेमी संरक्षणप्रेमी नारीहरुलाई प्रकृति रक्षामा पुर्याएको उल्लेखनीय योगदानको लागि सगौरव कृतज्ञता जाहेर गर्दै पुरुष दोहन प्रकृतिको रोकथाम र पुनर्प्राप्तीलाई उनै महिलाहरुको दृढ संकल्प सहितको रक्षाकवच प्राप्त भईरहने छ भन्ने अपेक्षा राख्दै यो बर्षको नारी दिवसलाई हार्दिक शुभकामना अर्पण गर्दछु ।
प्रतिक्रिया