दलित समुदायका लागि नयाँ कार्यक्रम घोषणा गर्छु : प्रधानमन्त्री

दलित समुदायका लागि नयाँ कार्यक्रम घोषणा गर्छु : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायले पछिसम्म सम्झने गरी कार्यक्रमको घोषणा गर्ने बताएका छन् । जातीय छुवाछुतविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा उनले दलित समुदायका माग पूरा गर्नसक्ने आफू मात्रै भएको बताए ।

‘जे जति माग दलित समुदायबाट आएको छ आजको मितिमा कसैले पूरा गर्छन् भने मैले हो, अरुले गर्न सक्दैनन् । दलितहरुले सम्झने गरी केही कार्यक्रम घोषणा गर्छु,’ उनले भने ।

दलित समुदायले जेजति अधिकार प्राप्त गरेका छन् त्यो सबै संघर्षबाट मात्रै प्राप्त गरेको भन्दै दाहालले अधिकार प्राप्तिको लडाईँलाई संस्कृतिक संघर्षको रुपमा बुझ्नुपर्ने बताए ।

‘उत्पीडकहरुबाट आशा र भरोसा गरेर, उनीहरुको दयाको भिख मागेर अधिकार पाइने कुरा होइन । भिख मागेर अधिकार पाइँदैन खोसेर लिने हो । जेजति अधिकारको पाएका छन् त्यो लडेर प्राप्त गरेका हुन्,’ दाहालले भने ‘अधिकारप्राप्तिको यो लडाईँ अलि लामो हुन्छ । यो वर्ग संघर्ष मुद्दामा पनि, संस्कृतिक संघर्षको मुद्दा र राजनीतिक संघर्षको पनि मुद्दा हो । यसलाई सांस्कृतिक क्रान्तिको रुपमा बुझ्न आवश्यक छ ।’

दक्षिण एशियाको विशिष्ट समस्याका रूपमा रहेको छुवाछुत र जातीय विभेदको उत्पीडनमा दलित समुदाय शताब्दीयौँदेखि पर्दै आएको जनाउँदै उनले यो समुदायमाथि मनुस्मृतिकालदेखि राज्य स्वयंले नै विभेदकारी नीति, नियम बनाएर विभेद र ज्यादती गर्दै आएको ऐतिहासिक तथ्यबाट स्पष्ट रहेको बताए ।

नेपाली दलित आन्दोलनले यस दिवसलाई विसं २०४६ देखि निरन्तर देशव्यापीरूपमा मनाउँदै आएको उल्लेख गर्दै उहाँले यसैकारण दलितको मुद्दा र अधिकार प्राप्तिको सङ्घर्ष अन्तर्राष्ट्रियकरण मात्र नभई नयाँ सङ्घर्षका निम्ति पृष्ठपोषणको भूमिकासमेत खेलिरहेको बताए ।

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको दिनमा न्याय र स्वतन्त्रताको चेतसहित समानताको भावना विकसित गर्न एवं छुवाछुतमुक्त समाज र राष्ट्र निर्माणको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गरे । अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस हरेक वर्ष मार्च २१ मा विश्वभर मनाइन्छ । यसवर्षको नारा ‘संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौँ, जातीय छुवाछुत तथा भेदभावका विरुद्ध प्रतिरोध गरौँ’ रहेको छ ।

सन् १९६० को मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रङ्गभेदी कानुनविरूद्ध कालाजातिद्वारा गरिएको शान्तिपूर्ण जनप्रदर्शनमाथि सरकारी दमन र नरसंहारमा ६९ आन्दोलनकारीको हत्या र तीन सय भन्दाबढीलाई घाइते बनाइएको नरसंहारकारी दमनका विरूद्ध उभिँदै सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले सार्पभिल्लेमा भएको दुःखान्त घटनाको स्मरणमा सबै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरी मार्च २१ लाई जातीय भेदभाव उन्मूलनको अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरिएको थियो ।

नेपालले सन् १९७१ मा उक्त महासन्धिलाई अनुमोदन गरेको थियो । न्यायपूर्ण आन्दोलनको स्मरण र थप अधिकार प्राप्तिको आन्दोलनमा ऊर्जा एवं प्रेरणा प्राप्तिका निम्ति नेपालमा पनि हरेक वर्ष मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका रूपमा मनाइँदै आइएको छ ।