सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य

सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य



काठमाडौँ । हाल सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो ।

प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा १४ दशमलव ८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब एक करोड २९ लाख रुपैयाँ पुगेको छ ।

“अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा तीन हजार ४६ दशमलव २० प्रतिशतले वृद्धि भई गत आर्थिक २०७९/८० मा ४८ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ कायम भएको छ,” प्रतिवेदनमा भनिएको छ, “यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आव २०७८/७९ मा ३८ अर्ब १७ करोड ७८ लाख रुपैयाँ घाटा रहेकोमा आव २०७९/८० मा ११ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफामा रहनु मुख्य कारण हो ।”

आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१ दशमलव ४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी दुई दशमलव ८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३ दशमलव ७९ प्रतिशतले बढेको छ ।

संस्थानको सेयरधनी कोष (नेटवर्थ) अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई नौ खर्ब ८२ अर्ब १३ करोड १७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा ३२ संस्थानको सेयरधनीकोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक रहेको छ ।

संस्थानका नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ६२ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा सेयर लगानी नौ दशमलव १९ प्रतिशतले वृद्धि भई तीन खर्ब ७९ अर्ब ७२ करोड १६ लाख रुपैयाँ पुगेको छ भने ऋण लगानी सात दशमलव ८६ प्रतिशतले कमी आई दुई खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा कोषमा व्यवस्था नभएको दायित्व ११ दशमलव ६३ प्रतिशतले वृद्धि भई ५२ अर्ब ८७ करोड दुई लाख रुपैयाँ पुगेको छ भने सम्भावित दायित्व ४४ दशमलव ८३ प्रतिशतले बढेको छ ।

सार्वजनिक संस्थानमा आव २०७८/७९ को तुलनामा चुक्ता पुँजी १० दशमलव ६२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० मा चार खर्ब १२ अर्ब १२ करोड ८१ लाख रुपैयाँ पुगेको थियो । जसमा नेपाल सरकारको पुँजी लगानी ९२ दशमलव १३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको सात दशमलव ८७ प्रतिशत सेयर स्वामित्व रहेको छ । आर्थिक वर्ष २०७९/८० को कूल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात १२ दशमलव २८ प्रतिशत रहेको छ ।

नेपाल सरकारले प्राप्त गरेको कुल आयकरमा आर्थिक वर्ष २०७८/७९ मा संस्थानको योगदान पाँच दशमलव ५९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ६ दशमलव ९७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थानले कुल १७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ आयकर दाखिला गरेका थिए । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२ हजार १८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १३ हजार ३७७ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम एक हजार ४०८ जना कार्यरत छन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा संस्थानको सञ्चित नाफामा १६ दशमलव ६८ प्रतिशतले वृद्धि भई ६१ अर्ब १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये सातवटा संस्थान नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत छन् । कुल बजार पुँजीकरणमा सूचीकृत सरकारी संस्थानको हिस्सा २०८० असार मसान्तमा १८ दशमलव ३२ प्रतिशत रहेको छ ।

निजीकरण गरिएका १८ सार्वजनिक संस्थानमध्ये १० संस्थान नाफामा छन् । निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता खारेजी भई कानुनीरूपमा अस्तित्व समाप्त भएको छ । कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा मन्त्रिपरिषद्को २०७९ भदौ ३१ को निर्णयानुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन ।

सार्वजनिक संस्थानको प्रशासनिक खर्च आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २३ दशमलव ७९ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९० करोड १८ लाख रुपैयाँ रहेको छ । २० संस्थानले लेखापरीक्षण गराएका छन् भने अन्य २४ संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन् ।

आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल आयल निगम लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् ।

त्यस्तै, उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् । २०८० असार मसान्तसम्म कायम रहेका ४४ संस्थानमध्ये कम्पनी ऐनबमोजिम स्थापना भएका ३३ वटा, विशेष ऐनबमोजिम स्थापना भएका सातवटा, सञ्चार संस्थान ऐनबमोजिम स्थापना भएका दुईवटा, सहकारी ऐन बमोजिम स्थापना भएको एउटा र संस्थान ऐन बमोजिम स्थापना भएको एउटा संस्थान छ ।

स्वामित्वका आधारमा हेर्दा २० वटा सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् । क्षेत्रगतरूपमा वर्गीकरण गर्दा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा चार, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा पाँच, जनोपयोगी क्षेत्रमा पाँच र वित्तीय क्षेत्रमा नौवटा सार्वजनिक संस्थान हाल अस्तित्वमा रहेका छन् ।