म अस्थिर छैन, गतिशील छु : प्रधानमन्त्री प्रचण्ड

म अस्थिर छैन, गतिशील छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफ्नो बारेमा ‘अस्थिर’ भनेर टिप्पणी गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु अस्थिर नभएर गतिशील रहेको दाबी गरेका छन् ।

उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद भएको बताउदै आफु अस्थिर नरहेको जिकिर गरे ।

उनले भने, ‘मैले तपाईंहरूको दस्तावेज पूरै पढ्न त भ्याएको छैन । तर तपाईंहरूले विभिन्न राजनीतिक दलहरूको मूल्यांकन गर्दा हामीलाई अलि नजिकको मित्र पनि भन्नु भएको छ । साथसाथै अलि बढी अस्थिर भन्नुभएको छ । तपाईंहरूको त्यो भन्ने अधिकारमाथि म प्रश्न उठाउन चाहन्न । हरेक पार्टीले अर्को राजनीतिक दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ। तपाईंहरू बनाउनूस्, जे बनाउन मन लाग्छ, त्यो तपाईंहरूको अधिकार क्षेत्रको कुरा हो । तर म यति त भन्छु । आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो, शान्ति प्रक्रिया भयो, संवृद्धिको प्रक्रिया चलिरहेको छ, प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो ।’

उनले यो परिवर्तन निम्त्याउने गतिशील पात्र अरू कोही छ भन्दै प्रश्न पनि गरे । र, गतिशीलताको लामो व्याख्या गरे ।

‘गतिशीलता भनेको के हो? द्वन्द्वात्मक भौतिकवाद; हरेक चिज परिवर्तनको प्रवाहमा हुन्छ प्रक्रियाभन्ने कुरा के हो? किलोजस्तो एक ठाउँमा ठोक्किएर बसिराख्नु मार्क्सवाद हो कि? जमेको पानी पोखरीजस्तो मार्क्सवाद हो कि गडगडाउँदो नदीजस्तो भएर हुर्रिएर बग्ने मार्क्सवाद हो? तपाईं सबैले यो कुरालाई विचार गर्नुपर्छ। मार्क्सवाद जमेको पोखरीजस्तो एउटा कुरा भनेपछि भनेको भन्दै गर्ने होइन, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार अगाडि बढ्ने मार्क्सवादी हो,’ उनले भने ।

उनले नेकपा (माओवादी केन्द्र) मात्र नभई माओवादी आन्दोलनबाट आएका नेताहरू एकै ठाउँमा बस्न नरुचाउने बताए । उनले विप्लवतिर देखाउँदै भने, ‘यहाँ विप्लवजी पनि हुनुहुन्छ, एक ठाउँमा बस्ने भन्ने हुँदैन हाम्रो, हामी दौडिराखेका छौं,’ उनले भने ।

यो प्रवृत्ति सही हो कि गलत भनेर अहिलेको परिवर्तनको आँखाबाट मूल्यांकन गर्नुपर्ने उनको तर्क थियो ।

‘यो सही थियो कि गलत हो भनेर मूल्यांकन कसरी गर्ने एउटा सवाल छ । त्यो दौडाइबाट नेपाली समाज अगाडि बढ्यो, सामन्ती निरङ्कुशतन्त्रबाट देश लोकतान्त्रिक गणतन्त्रमा गयो भने त्यो गतिशीलता हो, अस्थिरता होइन,’ उनकाे तर्क छ ।

कार्यक्रममा उनले नेकपा(एस) र नेकपा(माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।