कति सम्भव: कांग्रेस–एमाले गठबन्धन !

कति सम्भव: कांग्रेस–एमाले गठबन्धन !



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । अध्यक्ष ओलीलाई भेटेकै भोलिपल्ट सभापति देउवाले पदाधिकारी बैठक बोलाउनु र प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहनुले राजनीतिमा नयाँ तरंग आएको छ ।

अध्यक्ष ओलीसँग भएको भेटवार्तालाई सभापति देउवाले पदाधिकारी बैठकमा छलफल चलाउने अनुमान गरेर आइतबार धेरै अनलाइन प्रोटलमा समाचार विश्लेषण आए । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव, निर्वाचन प्रणालीमा संविधान संशोधन र २०८४ को निर्वाचनमा गठबन्धन गर्ने वा नगर्नेलगायतका विषय समाचार टिप्पणीमा समेटिएका थिए ।

सत्ता परिवर्तनका लागि सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता नगरेको दाबी कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले दाबी गरे । ०४६ सालपछि सबै परिवर्तनमा कांग्रेस–एमालेको सहकार्यमा मात्र सम्भव भएको उनको भनाइ छ । राजनीतिमा देखिएको झिनाझम्टी र निर्वाचन प्रणालीमा संविधान संशोधनलगायतका विषयमा सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको सांसद खतिवडाले दाबी गरे ।

‘संविधान निर्माण, शान्ति प्रकृया, राजनीतिक परिवर्तन, संविधानसभाबाट संविधान निर्माणमा कांग्रेस–एमालेसँगसँगै छन् । अहिले संविधान संशोधनको कुरा आएको छ’ सांसद खतिवडाले भने, ‘यो विषयलाई कसरी अगाडि बढाएर लैजाने भन्ने विषयमा छलफल भएको हो, सत्ता परिवर्तनका लागि मात्र भएको होइन ।’

अध्यक्ष ओलीसँग भेटेको भोलिपल्टै सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुलाई चाहिँ धेरैले कांग्रेस–एमाले गठबन्धन बन्ने र सत्ता परिवर्तनको संकेतका रुपमा हेरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार भ्रातृ संस्थाको मुद्दा पदाधिकारी बैठकमा छलफलको मूल एजेन्डा हो । त्यसबाहेक वर्तमान राजनीतिक घटनाक्रममको समीक्षा हुनसक्ने उनले बताए ।

अत्यन्त गोप्य राखिएको देउवा–ओली भेटवार्ता संविधान संशोधनमा मात्र सीमित नरहेको जानकारहरु बताउँछन् । बजेट सार्वजनिक भएसँगै अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहालसँग टाढिन खोजेका हुन् । ओली र दाहालबीचको सम्बन्धमा खटपट सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि क्याम्प चेन्ज गर्नु र कांग्रेस–एमाले मिल्छन् भने मिलून भन्ने अर्थमन्त्री वर्षमान पुनको आसयलाई गठबन्धन परिवर्तनको संकेतका रुपमा विश्लेषण गरिएको छ । 

भारत भ्रमणबाट फर्किपछि निचोरेको कागतीजस्तो अनुहार पारेर प्रधानमन्त्री दाहाल हरेक कार्यक्रममा प्रस्तुत हुने गरेका छन् । त्यसपछि चिनियाँ नेताहरुको लगातार नेपाल भ्रमणलाई वर्तमान गठबन्धनसँग जोडिएर हेर्ने गरिएको छ । सके कम्युनिष्ट पार्टीलाई एक बनाउन नसके गठबन्धन बलियो बनाइ राख्ने चिनियाँ रणनीति रहेको बताइन्छ ।

देउवा–ओलीको भेटपछि प्रधानमन्त्री दाहाल अझ निराश बनेको बुझिएको छ । आइतबार बिहान एमाले अध्यक्ष ओलीसँगको भेट उपलब्धिमूलक हुन नसकेपछि सोमबार बिहान भेट्ने कार्यक्रम छ । उक्त भेटमा अध्यक्ष ओलीलाई प्रधानमन्त्री दाहालले आश्वस्त पार्न सकेनन् भने चिनियाँ रणनीतिले हावा खाने राजनीतिवृत्तमा चर्चा चलेको छ । सभापति देउवा र अध्यक्ष ओलीबीचको छलफलको वास्तविकता कांग्रेस पदाधिकारी बैठकपछि मात्र सार्वजनिक हुनसक्ने बताइएको छ ।