काठमाडौं । महिला नेतृ उत्पादनको कारखाना ठानिएको पद्मकन्या क्याम्पसमा बिहीबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा ५ वटा विद्यार्थी संगठन चुनावी मैदानमा छन् ।
नेपाल विद्यार्थी संघको नै दुईवटा प्यानल चुनावी मैदानमा छन् । पार्टी संस्थापन पक्षको नेतृत्व पूर्णिमाया परियारले गरेकी छन् भने महामन्त्री गगन थापाको समूहबाट भूपेश्वरी ऐरले नेतृत्व गरेको नेविसंघ चुनावी मैदानमा छ । परियारको समूहले नेविसंघको तर्फबाट उम्मेदवारी मनोनय गराएको छ भने ऐरको समूहले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनय गरेका छन् ।
नेविसंघको आधिकारिक उम्मेदवार स्वतन्त्र भनेर ऐर समूहले बताएको छ । ऐर समूहको उपाध्यक्षकी उम्मेदवार चन्द्रकला तामाङका अनुसार पहिला स्वतन्त्र उम्मेदवारका रुपमा मनोनय दर्ता गरिएको थियो, पछि आधिकारिकताको पत्र आयो । पत्र आउँदा मनोनय दर्ता फिर्ता लिने समय घर्की सकेको थियो । उनले भनिन्, ‘निर्वाचन होस् भनेरै हामीले नेविसंघको आधिकारिक स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका छौं ।’
यता, अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझा उम्मेदवारको नेतृत्व सुनिता घिमिरेले गरेकी छन् । अखिल क्रान्तिकारीबाट रविना सथशंकर र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) को नेतृत्व प्रजिना दर्नालले गरेकी छन् । दर्नाल यसअघिको निर्वाचनमा विपल्व निकट अखिल क्रान्तिकारीको सभापतिको उम्मेदवार थिइन् । ३ समूहले प्रतिस्पर्धा गरेको उक्त निर्वाचनमा दर्नाल तेस्रो नम्बरमा थिइन् ।
यो निर्वाचनपछि पद्म कन्या क्याम्पसले १६ औं सभापति पाउने छ । २०३६ सालमा नेविसंघको तर्फबाट मीना पाण्डे पहिलो निर्वाचित सभापति हुन् । त्यसपछि २०३८ सालमा भएको दोस्रो स्ववियु सभापतिमा जनमोर्चाको विद्यार्थी संगठन (अखिल छैठौं) को तर्फबाट शशी श्रेष्ठ निर्वाचित भएकी थिइन् । त्यसपछि नेविसंघबाहेक अन्य विद्यार्थी संगठनले स्ववियु निर्वाचन जित्न सकेका छैनन् ।
पद्म कन्या क्याम्पस स्ववियु निर्वाचनको ४३ वर्षे इतिहासमा २०३८ सालपछि २०७९ सम्म १३ वटा निर्वाचनमा नेविसंघ विजयी भएको छ । प्रथम निर्वाचित मीना पाण्डेसँग अहिलेसम्म नेविसंघले १४ पटक नेविसंघ सभापति जितेको छ । गत निर्वाचनमा नेविसंघकै ज्योति पनेरु निर्वाचित भएकी थिइन् ।
६ हजार २ सय ३ मतदाता रहेको बिहीबारको निर्वाचनमा दुई प्यानल भएपनि नेविसंघकै जीत हुने बताइएको छ । संस्थापनकी परियार अथवा महामन्त्री गगनको प्यानलकी ऐरमध्ये एउटा समूह निर्वाचित हुने सम्भावना बलियो रहेको बुझिएको छ । लगभग ४ हजार मत खस्ने आंकलन गरिएको उक्त निर्वाचनमा संस्थापनका उम्मेदवार परियारलाई महामन्त्री गगनको उम्मेदवार ऐरले चुनौति दिने अनुमान गरिएको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको चलाखी
दुई समूहमा खुट्टा राखेका नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पद्म कन्या क्याम्पसमा आधिकारिक उम्मेदवार घोषणा गर्न चलाखी अपनाएका थिए । संस्थापन समूहकी परियारलाई आधिकारिक तिमीहरु नै हौ, उम्मेदवारी दर्ता गर भनेर मौखिक निर्देशन दिएका थिए । यता, मनोनय फिर्ता लिने समय सकिएको १५ मिनेटपछि शेर्पाले ऐरको समूह नेविसंघको आधिकारिक भनेर पत्र थमाइदिए । समय सकिए पनि स्वतन्त्र उम्मेदवारमा मनोनय गरेकी ऐर नेविसंघको आधिकारिक पत्र बोकेर निर्वाचन समितिमा पुगेकी थिइन् । तर निर्वाचन समितिले उनको पत्र बुझ्न मानेन ।
नेविसंघको दुवै समूहको उम्मेदवारी कायम रहेको छ । दुवै समूह प्रचारप्रसारमा लागेका छन् । नेविसंघको मत स्पष्टसँग विभाजन हुने देखिएको छ । यद्यपि संस्थापन र संस्थापनइतरको लडाइँमा को बलियो भन्ने छिनोफानो मत परिणामले गर्ने नै छ ।
सुदूरपश्चिम हाबी
पद्म कन्यामा नेविसंघको पछिल्लो ३ कार्यकाल सुदूरपश्चिम हाबी भएको छ । महामन्त्री गगन समूहबाट उम्मेदवार बनेकी ऐर पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लाकी हुन् । पूर्वस्ववियु सचिवसमेत रहेकी ऐरलाई महामन्त्री थापाले संस्थापनबाट थुतेर सभापतिको उम्मेदवार बनाएका हुन् । २०७९ मा सभापति निर्वाचित ज्योति पनेरु बैतडीकी हुन् । पनेरुभन्दा अघि स्ववियु निर्वाचन नभए पनि इकाइ सभापतिका रुपमा कौशिला भट्ट डडेल्धुराकै थिइन् । स्ववियु निर्वाचन विथोलिएपछि भागेश्वरी गाउँपालिका अध्यक्षमा चुनाव लडेकी थिइन । त्यसबेला उनी निर्वाचित भएकी थिइन् ।
(तस्बिर हामीले रातोपाटीबाट साभार गरेका हौं । सं.)
प्रतिक्रिया