सिर्जना गर्नुको पिडा थाहा होला सबैलाई
म भन्छु–
हत्या गर्न झन् गाह्रो छ ।
बाँच्नुको अप्सन खोजेर धेरै समय खर्च गरेँ
हत्याभन्दा अर्का उपायहरु खोजेर
जीवनका उत्कर्ष यामहरु बिताएँ
जतिजति अगाडि बढ्दै गयो
उतिउति अत्यासिँदा मन्दीहरुले छोपिएँ
भविश्य अझ अन्धकार रहेछ
आधारातमा प्रेमलाई खोकिलाभित्र लुकाएर
यो संसारभन्दा बाहिर जाने बाटो खोजेँ
सम्भव नभएपछि
मैले प्रेमको हत्या गरेकी हुँ
म शुन्य हुन तयार भएकी हुँ ।
प्रिय !
सम्भोग अघिको स्पर्श जति रोमान्चक छ
स्खलनपछिको समय उति नै भयानक हुँदै गइरहेको छ
यो महामारी/ गरिबी
या तल सडकमा आगो ताप्दै काप्दैँ गरेका नानीहरु
उफ् ! युद्धको भयानक कालमा
प्रत्येक कुमारीहरुजस्तै
म पनि त्रसित छु आमा हुनबाट ।
जीवन दिन नसक्नुको औचित्यहीन सम्भोग
सम्भोग स्विकार्न नसक्नुको अर्थहीन प्रेम
प्रेमलाई जीवन्तता दिन नपाउनुको बेअर्थ साथ
बेहद–बेहद दुखिरहन्छ
सपनामा देखेका फूलजस्ता नानीहरु
हृदयको पन्नापन्नामा नाचिरहन्छन्
तिम्रो आँखाको भाका म बुझ्छु
तिम्रो हृदयको व्यग्र इच्छा म सुन्छु
तिम्रो अंकुराउँदै गरेको सपना म छुन्छु
तर पनि
म त्रसित छु आमा हुन ।
प्रिय, मलाई माफ गर!
आज मैले आफ्नै प्रेमको हत्या गरेँ
त्यो हत्याभन्दा भयानक त्रास
बिहानको अखबारमा आफ्नै डरलाग्दो तस्विर देखेँ
जो भोका बच्चाहरुको अनुहारबाट लखेटिएर
कहालिदै चिच्याउँदै गन्तव्यहीन भागिरहेकी थिएँ म ।
प्रिय !
सक्छौ भने तिम्रा स्वप्निल क्रोमोजोमहरु
त्यतिबेलासम्मका लागि बचाएर राख ।
जतिबेला म
उर्बर बिहानीको समाचार लिएर
सहवासको लागि आइपुग्नेछु ।
प्रतिक्रिया