काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकाश शिक्षकको तबल वृद्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले २०७८–७९ मा संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप गरी १० हजार तलब बनाइएको बताए।
चालु आव २०७८–७९ मा संघीय सरकारबाट रु ८ हजार र स्थानीय तहबाट रु ७ हजार गरी न्युनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएकोमा बालविकास शिक्षकको हकमा संघीय सरकारबाट रु २ हजार थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको जानकारी दिए ।‘चालु आर्थिक वर्ष २०७८–०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो,’ उनले भने, ‘बालविकाश शिक्षकको हकमा संघीय सरकारबाट २ हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’
सरकारले बालविकास शिक्षक, प्रत्येक सामुदायिक विद्यालयमा एक एक जना विद्यालय सहयोगी कर्मचारी र प्रत्येक माध्यमिक विद्यालयमा थप एक जना सहायक कर्मचारी गरी ३६ हजार कर्मचारी व्यवस्था गर्न एकमुष्ठ अनुदान उपलब्ध गराउँदै आएको छ ।हाल विद्यालयमा कार्यरत पूर्व प्राथमिक शिक्षक, कर्मचारीको विवरण अध्यावधिक गरी कर्मचारी व्यवस्थापनको सेवा शर्त निर्धारणका लागि कार्य अघि बढाइए समेत जानकारी दिए । सेवा शर्त निर्धारण भए पश्चात सोही अनुरुप कर्मचारीको तलब निर्धारण हुने गरी अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाईने बताए ।
शिक्षक दरवन्दी मिलान तथा दरवन्दी थप गरिने
शिक्षक दरवन्दी मिलान प्रतिवेदनका अधारमा प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरवन्दी थप गर्नु पर्ने अवस्था रहेको छ । उक्त प्रतिवेदन अनसार १२हजार ८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नु पर्ने देखिएको छ ।
सो संख्या मध्ये ९ हजार ४९६ जना शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने एवं ३ हजार ३३९ जना शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुने पर्ने अवस्था रहेको जवाफका क्रममा जानकारी गराए ।स्थानीय तहभित्रनै मिलान हुनुपर्ने संख्यामध्ये ८ हजार ५०० जना शिक्षकको मिलान सम्पन्न भै सकेको छ र बाँकी ९९६ जना शिक्षकको मिलान चालु शैक्षिक सत्रमा नै गरिसक्ने लक्ष्य रहेको छ । जिल्लान्तर सरुवाबाट मिलान हुनु पर्ने संख्यामध्ये १ हजार ४८६ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी संख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पौडेलले जानकारी गराए ।
न्यून रहेको शिक्षक दरवन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अंग्रेजी विषयका ४ हजार ७५० जना र आधारभूत तह कक्षा ६–८ मा २ हजार ६०० जना गरी ७ हजार ३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको उनले जानकारी गराए । उक्त संख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रुपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको छ ।
प्रतिक्रिया