नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य २०२८ सालमा एसएलसी सकेपछि कम्युनिष्ट आन्दोलनमा होमिएकी थिइन् । राजधानीको एक सम्पन्न परिवारमा जन्मिएर पनि भूमिगत कम्युनिष्ट आन्दोलनको कठिन यात्रा रोज्नुलाई शाक्यले सामाजिक न्याय स्थापना गर्ने संकल्प भनेकी छन् ।
‘विभेदबारे सचेत हुँदै गएँ । धनी, गरिब, ठूलो जात, सानो जात, हेला, अपमान, दुःख, पीडा, छोराछोरीबीच विभेद आदि’, त्यसबेला कम्युनिष्ट पार्टीमा लाग्नुको कारणबारे शाक्यले आफ्नो पुस्तक ‘मेरो पाइला, मेरोे अनुभव’मा लेखेकी छन् ।
शाक्यले आफू भूमिगत हुँदा साथमा लिएर गएको ठूलै मात्राको गरगहना पार्टीलाई बुझाएकी थिइन् । त्यो गरगहना बेचेर तत्कालीन मालेले छापाखाना खरिद गरेको थियो ।
२०५६ को निर्वाचनमा काठमाडौं–६ बाट प्रतिनिधिसभा सदस्य जितेकी शाक्य २०६० सालमा आठ महिना महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भइन् । २०६५ को प्रचण्ड नेतृत्व सरकारमा उद्योग मन्त्री भइन् । त्यो सरकार नौ महिनामै ढल्यो । २०७० मा उनी समानुपातिक पद्धतिबाट सांसद बनिन् । २०७४ मा काठमाडौं–८ (ख) बाट प्रदेशसभा सदस्य जितिन् । शाक्य २ भदौ २०७८ मा बागमतीको मुख्यमन्त्री बनिन् । तर, शाक्यको मुख्यमन्त्री पद दुई महिना मात्र टिक्यो ।
७० वर्षिय शाक्यले गत मंसिरको चुनावमा भने उम्मेदवार बन्न मानिनन् । काठमाडौं–८ मा उम्मेदवार बन्न गरिएको प्रस्तावमा उनले भनिन्, ‘सधैं एउटै मान्छे उम्मेदवार भएर हुँदैन, नयाँलाई अवसर दिनुपर्छ ।’ त्यसयता पनि शाक्य पार्टी राजनीतिमा भने सक्रिय नै छिन् ।
सुविधाको राजनीति त्याग्नुको साथै संसदीय राजनीतिबाट विश्राम लिएर सरकार र पार्टीको कामकारबाहीलाई नियालिरहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग एमाले पार्टी, वर्तमान सरकारको कार्यशैली र समसामयिक विषयमा रहेर ग्लोब नेपालका रामनाथ कुँवरले गरेको कुराकानी :
देशमा संघिय शासन प्रणाली लागू भएपछि नेकपा एमालेले प्रथम प्रदेश अधिवेशन ग-यो । पार्टीले सकेसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्नु भनेको थियो । तर सबै प्रदेशमा मतदान गर्नु प-यो । प्यानल बनाएमा उम्मेदवारी नै खारेज गर्ने भनिएको थियो तर प्रायः सबै प्रदेशमा प्यानल बन्यो । एमालेमा फेरी गुटगत राजनीति सुरु भएको हो ?
यसलाई हामीले नकारात्मक रुपमा हेर्नु हुँदैन भन्ने मेरो धारणा हो । किनभने हामी लोकतन्त्रमा छौं, लोकतन्त्रको विश्वास गर्छौं । त्यसो हुनाले सर्वसम्मत पनि लोकतन्त्रको एउटा सुन्दर पक्ष हो । तर स्वस्थ प्रतिस्पर्धा गरेर नेतृत्व चुनिनु पनि लोकतन्त्रकै अर्को पक्ष हो ।
हाम्रो प्रथम प्रदेश अधिवेशन हो, सकेसम्म सर्वसम्मत गर्नु तर प्यानल भने बनाउँदै नबनाउनु भन्ने हाम्रो अध्यक्ष केपी शर्मा ओलीको निर्देशन थियो । तर, स्वस्थ प्रतिस्पर्धा गर्ने प्रदेशका साथीहरुको धारणा रह्यो । पार्टीमा तल्लो तहबाट धेरै नेतृत्वहरु विकास भएर आएको छ । हिजो हामीले टिम नै घोषणा गरेर ताली बजाउने पनि गरिन्थ्यो । तर अहिले त्यो स्थिति छैन । परिवर्तन भइसक्यो । धेरै कार्यकर्ता र नेताहरुको उदय भएको छ । हामी स्वस्थ ढंगले प्रतिस्पर्धाबाटै आउँछौं भनेर आउनु नराम्रो कुरा होइन । यसरी अधिवेशन सम्पन्न हुँदा मलाई एकदमै राम्रो लागेको छ ।
प्रदेश अधिवेशनहरुलाई हेर्दा एमाले दुई पक्षमा विभाजन भएको छ । पार्टीका महासचिवले नै एक पक्षलाई मतदान गर्न निर्देशन दिएको भन्ने आएको छ । यसो गर्न मिल्छ ?
हाम्रो पार्टीमा सिद्धान्त र विचारको हिसावमा कसैको पनि विमति छैन । पार्टीको नीति र सिद्धान्तलाई सर्वसम्मत ढंगले नै मानेर आएका छौं । जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, नेतृत्वको कुरा छ, त्यसमा अहिले हामीले केपी कमरेडलाई अध्यक्ष मानेका छौं । सबैले स्विकारेका छौं, अगाडि बढिरहेका छौं । निर्वाचन हुने वित्तिकै हामी आतिन्छौं । यो कसको नेतृत्व हो, कहाँबाट परिचालित छ भनेर हामी हेर्छौं । तर त्यसरी नहेरियोस् भन्न चाहन्छु ।
परिस्थिति परिवर्तन भइसकेपछि मानिसको चाहना, इच्छा र अवस्थालाई पनि ध्यान दिनुपर्छ । अधिवेशनमा पार्टी महासचिवलगायत सचिवालयका साथीहरुले फलनालाई जिताउनु भन्नु ठिक होइन । त्यो गलत भएको छ । किनभने पार्टी भनेको परिवार हो । त्यसो हुनाले परिवारभित्र यो मन पर्छ, यो मन पर्दैन भनेर भन्नु र फलना नजिकको होइन भनेर भनिराख्नु आवश्यक छैन । त्यसो गर्न हुँदैन् ।
पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान सबैको उचित मुल्याङकन गर्नुपर्छ । सबैलाई प्रतिस्पर्धामा स्वस्थ ढंगले लाग्नु भनेर भन्नु ठिकै हो । तर, हराउ र जिताउ भनेर निर्देशन दिने गलत परिपाटी स्थापित गर्नु हुँदैन ।
पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी फेरी एमालेको सक्रिय राजनीतिमा आउने सम्भावना कति देख्नुहुन्छ ?
यसमा मेरो प्रष्ट मान्यता के हो भने उहाँको हाइट माथि उठिसक्यो । उहाँ एउटा सम्मानित व्यक्तित्व हो । सबैले त्यहि ढंगले हेरिएको छ । उहाँ त्यहि तरिकाले बसिराख्नुभएको छ । राजनीतिक व्यक्तित्व भएपछि राजनीतिप्रति चासो हुन्छ । तर, राष्ट्रिय राजनीतिमा चासै लिन हुँदैन, पार्टीको राजनीतिमा चासै राख्न हुँदैन भन्ने मलाई लाग्दैन । कुनै विधान, संविधानले पनि छेकेको छैन तर सक्रिय राजनीतिमा आउने सवालमा भने उहाँले अलिकति ध्यान दिनुपर्छ, गम्भीर भएर सोच्नु पर्छ भन्ने मलाई लाग्छ । किनभने त्यस्तो सम्मानित पदमा पुगिसकेको व्यक्ति तल झरेर एउटा पार्टीको नेता भएर बस्न, अध्यक्ष भएर बस्न भने सुहाउँदैन । राम्रो हुँदैन । त्यो नजिर पनि नबसोस्, परिपाटी पनि नबनोस् भन्छु । तर उहाँको चाहना के छ मलाई थाहा छैन ।
ओलीविरुद्ध एमालेमा अर्को पक्ष निर्माण हुँदैछ भन्ने चर्चा सत्य हो ?
यो बाहिरको मन्थन मात्रै हो । एमाले विरोधीहरुको टिकाटिप्पणी मात्रै हो । हाम्रो पार्टीमा अहिले केपी कमरेडको विकल्प छैन । उहाँलाई नै मानेका छौं, सम्मान गरेका छौं । दशौँ महाधिवेशनबाट उहाँलाई नै सर्वसम्मत ढंगले अगाडि बढाएका हौं । त्यसो हुनाले आउँदो ११ औं महाधिवेशनको तयारीमा तपाईँहरु कमरेड केपी ओलीविरद्ध लाग्नुभा’छ भन्ने प्रश्न गलत हो । त्यसरी हामी विल्कुल लागेका छैनौं । तैपनि यसरी बाहिरबाट धेरै टिकाटिप्पणीहरु अहिले आइराखेका छन् ।
मलाई लाग्छ, मुलुकको स्थितिलाई हेर्ने हो भने एमाले बलियो नभइ हुँदै हुँदैन । राष्ट्रिय राजनीतिको सवालमा एमाले फेरी पनि अगाडि आउनु पर्छ । नेतृत्व कायम गर्नुपर्छ । यसको लागि एक ढिक्का भएर अगाडि जानु वाहेक अरु विकल्प छैन । त्यसैले एमालेमा गुट सुरु भयो भन्ने कुरा टिकाटिप्पणी मात्रै हो ।
वर्तमान सरकार पूर्ण रुपमा असफल भयो भनेर एमालेले भनिरहेको छ । के–के कारणले सरकार असफल भएको हो ?
सरकार असफल भयो भनेर मैले, हाम्रो पार्टी अध्यक्षले र एमालेले मात्र भन्ने कुरा होइन । यो तपाईँ हामी सबैले देखेका छौं, भोगिरहेका छौं । सरकार कहाँ चै सफल भयो भनेर पहिला खोजी गर्नुपर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्ने सवालमा, महंगी बढेको सवालमा, जनताको दुःखकष्ट दिनहुँ बढिरहेकै छ । सुशासन कायम गर्न सकेको छैन । आर्थिक अवस्था डामाडोल छ । हामी कुन ठाउँमा पुगिरहेका छौं ? जनताले दैनिक जिवन चलाउन पनि कठिन भइरहेको छ । यि विषयहरुमा सरकारलाई कुनै मतलब छैन ।
सामाजिक अपराध बढेकोबढै छ । त्यसमा नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने ठाउँमा अपराधीहरुलाई देशको मूल नेतृत्व राष्ट्रपतिबाटै छुट दिने, सजाय मिनाह गर्ने काम भएको छ । यसले गर्दा सामाजिक अपराध, अन्याय धेरै बढेको छ । सरकारको यस्तो तरिकाले हुन्छ ? सरकारले त न्याय दिनुपर्छ, सुरक्षा दिनुपर्छ ।
यसरी चारैतिर सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, सुशासनको क्षेत्र सबैतिर अस्तव्यस्त भएको छ । संसद पनि प्रभावकारी ढंगले अगाडि बढाउन सकेको छैन । यो एमालले मात्रै भनेको होइन । हरेक जनताले महसुस गरेको कुरा हो । चारैतिरबाट सरकारको बारेमा टिकाटिप्पणी आइरहेका छन् । तर, राम्रो तरिकाले सरकार चलाएको भए हामी कुनै टिकाटिप्पणी नै गर्ने थिएनौं नी । यो अस्तव्यस्तता, यो भ्रष्टाचार, अनैतिकता, सामाजिक अपराध हामीले चाहेको होइन । यस्तो खालको सरकार हामीले चाहेको होईन ।
परिवर्तन पश्चात् अहिले जुन समृद्ध देश बनाउनु पर्ने, सुशासनयुक्त समाज निर्माण गरेर अगाडि बढ्नु पर्ने, सबैलाई गाँस, बास, कपासको ग्यारेन्टी दिएर अगाडि जानु पर्ने । यत्रो यूवाहरु विदेशिरहेको अवस्था छ । यस्तो अवस्थामा कति गम्भीर भयो त सरकार ? कुर्सी मात्रै ठूलो कुरा होइन, पद मात्रै ठूलो कुरा होइन । जवाफदेहिता कति भयो ? जनताप्रतिको इमानदारीता कति भयो ? देशप्रति कति जवाफदेही र इमानदारी भयो भन्ने कुराहरु महत्वपूर्ण हुन्छ । त्यसो भएको हुनाले एमालेको नजरले मात्रै होइन, सबैतिर अस्तव्यस्त भएको कुरा सबैले देखिराखेको छन् । यो तरिकाले अब सरकार रहन दिनु हुँदैन । लामो समय टिक्न दिनु हुँदैन । देश बर्बादितिर गयो भन्ने कुराहरु हो ।
प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्छ भन्ने तपाईँको भनाइ हो ?
एउटा सरकारलाई विस्थापित गर्ने, अर्को सरकार गठन गर्ने, फेरी उस्तै रोग, उस्तै पिडा, उस्तै स्थिति भोग्न पर्यो भने सरकार मात्रै परिवर्तन गरेर हुँदैन । कुनै परिवर्तन देखिएन, सामाजिक अपराध जिउँकोतिउँ भयो भने, गरिबी र जनताको अवस्था उस्तै रहिरह्यो भने सरकार परिवर्तन गर्ने कुराले मात्रै देश चल्दैन भन्ने मलाई लाग्छ ।
त्यसो भएको हुनाले मेरो एकदमै प्रष्ट कुरा अब सबै पार्टीका नेताहरुले सोच्ने बेला आएको छ । देश बर्बाद भयो । यत्रो राजनीतिक परिवर्तन हामीले ल्याइसक्यौं । तर जनताले के पाए ? देशको स्थिति के भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतै हामीले गल्ति गरिरहेका त छैनौं भनेर नेताहरुले सोच्ने, छलफल गर्नुपर्ने बेला आयो । नेताहरु मिलेर नै हामीले गणतन्त्र ल्याएको हो । नेताहरुकोबीचमा सहमति भएको हुनाले समाजवादको लक्ष्य बोकेको संविधान निर्माण भयो । मिलेर नै हामी संघिय व्यवस्थामा गइरहेका छौं । हाम्रो लक्ष्य समृद्ध देश निर्माण गर्नु हो । सामाजिक, आर्थिक रुपान्तरण गर्दै जनतालाई न्याय दिने र सुशासनयुक्त बनाउने हो । जनतालाई आफ्नै देशमा जिउन सक्ने स्थिति बनाउने हो । त्यसो हुनाले अब नेताहरुले ठण्डा दिमागले सोचेर मिलेर जाने बाहेक अरु विकल्प छैन । देशको विकासका लागि एक जुट भएर जानु पर्छ ।
तर, अहिले यति नकारात्मक परिपाटि विकास भएको छ कि एकले अर्कालाई देखिनसहने । राजनीतिमा यस्तो ढंगको व्यवहार गर्न हुँदैन । यो पुरानो र अत्यन्तै निरङकुस शैली भयो । अत्यन्तै अलोकतान्त्रिक संस्कार र संस्कृति भयो । त्यसो हुनाले यस्तो परिपाटि परिवर्तन हुनुपर्छ । नयाँ परिवेश आएपछि नयाँ ढंगले सोच्न सक्नुपर्छ । मनलाई फराकिलो बनाउन सक्नुपर्छ । यसमा मैले कुनै पार्टी र कुनै नेतालाई मात्रै लक्ष्ति गरेको छैन । यो सबै पार्टीका नेताहरुले सोच्नै पर्ने विषय हो ।
त्यसो हुनाले यो सरकार ढलेर अर्को बनेपछि राम्रो हुन्छ भन्ने आशा हुनु स्वभाविक हो । तर मलाई चै सबै नमिलेसम्म देश बन्दैन भन्ने लाग्छ । सबै नेतृत्वले आफूलाई रुपान्तरित नगरिकन, काम गर्ने शैलीलाई लोकतान्त्रिक ढंगले जनताको सेवामा समर्पित नभएसम्म समाज रुपान्तरण हुँदैन । त्यसकारण सबैले गम्भीर भएर मनन् गर्नुपर्ने बेला आयो ।
कोशी प्रदेश सरकार अस्थिर हुनाले संघियतामाथि नै प्रश्न उठेको छ । यसलाई के भन्नु हुन्छ ?
कोशी प्रदेशको अस्थिरताले त हामी सबैलाई धेरै अफ्ट्यारो पारेको छ । संघियताको आलोचना गर्नेहरुलाई धेरै सजिलो भएको छ । यहि हो नि संघियता भनेको, कोशी प्रदेश हेर्नुस् भनेर देखाउने स्थिति बनेको छ । राजनीतिक दलहरुबाट त्यहाँ कमिकमजोरी भएकै हो । त्यसो गर्नु हुँदैन थियो । मैले अगाडि पनि भने मेलमिलाप नभएपछि एकले अर्कालाई सिध्याउने खेल त्यहाँ भएको छ । मिलेर अगाडि नबढ्ने, जेसुकै होस् भन्ने, जनताप्रति जवाफदेही नबन्ने, एकले अर्कालाई निषेध गर्ने, बेमेलको राजनीतिक संकृतिबाट अगाडि बढेकोले कोशीमा अहिले यस्तो भएको हो । यसमा अब बेलैमा सोच्नु पर्छ ।
एमालेसँग विभाजन भएर बनेको पार्टी एकिकृत समाजवादीसँग तत्काल एकताको सम्भावना कति देख्नुहुन्छ ?
यस विषयमा खासै छलफल भएको छैन । मेरो प्रष्ट कुरा पार्टी नफुट्नु पर्ने फुट्यो । अब अलग भएर आ—आफ्नो ढंगले लागिसकेको छ । जुट्ने कुरा भनेको हृदयको विशालता हो । जनता र राष्ट्रप्रतिको जवाफदेहिता हो । त्यो सोच बोकेर मनन् गरियो भने, कम्युनिष्टहरु टुक्राटुक्रा भएर हुँदैन भन्ने सोच आयो भने, सबै मिलेर कम्युनिष्ट आन्दोलन सफल हुन्छ भन्ने चेत आयो भने मिल्न पनि सक्छ । त्यसो हुनाले हृदय फराकिलो बनाएर देश र जनताप्रति समर्पित हुन्छु भनेर लाग्न सक्नुपर्छ । सुविधाको राजनीति त्याग्न सक्नुपर्छ ।
हिजो त्यागको राजनीतिमा बलिदान दिन तयार भएको हामी अहिले सुविधाको राजनीतिले स्वार्थी बनाएको छ । साँघुरो बनाएको छ । निषेधको र गुटको राजनीतिमा पुराएको छ । मुख्य कुरा यत्रो फराकिलो सिद्धान्तलाई बोक्ने हाम्रो व्यावहार कहाँनेर गतल भयो भन्ने हामीले सोच्न जरुरी छ । त्यसो हुनाले जुन परिवर्तनमा हामी छौं सोही अनुसार आफूलाई रुपान्तरण गर्न सक्नुपर्छ । आफ्नो गल्ती कहाँ भएको छ भनेर सोच्नु पर्ने देखिएको छ ।
पछिल्लो समय समाजमा साम्प्रादायिक विवादहरु बढिरहेको छ । यसो हुनुको पछाडि के कारण देख्नुहुन्छ ?
नेपाल सबैखाले समुदाय मिलेर बसेको देश हो । हामी नेपालीहरु मिल्न मात्रै जानेका छौं । एक अर्कालाई माया गरेर, सद्भाव देखाएर, एक अर्काको दुःखप्रति सहयोग गरेर बस्ने नेपालीको संकृति हो । बहुजाति, बहुधार्मिक, भौगोलिक विविधता भएपनि नेपाली भन्ने वित्तिकै त्यो खालको हो भन्ने भावना हामीमा छ । त्यसरी हाम्रो समाज र संस्कृति अगाडि बढिरहेको छ । हामी कसैले पनि यो हाम्रो संस्कृति, त्यो फलनाको संस्कृति भनेर नछुट्याइ मिलेर बसेको समाज हो ।
अहिले भने मलाई कता–कता लोकतन्त्रलाई, गणतन्त्रलाई कमजोर बनाउन यस्तो भूमिका खेलेको आभास भएको छ । यसरी लोकतन्त्रलाई कमजोर बनाउन जातिय, धार्मिक र सामुदायिक हिसाबले बेमेल ल्याउने तत्वले काम गरेको देखिन्छ । मनमुटाव सिर्जना गर्ने, एक अर्कालाई निषेध गर्ने र सामाजिक मेलमिलापलाई भड्काउने काम भएको छ ।
त्यसो हुनाले हामीले बलिदान गरेर ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्रलाई एक ढिक्का भएर अगाडि बढाउनु पर्छ । सबै मिलेरै हामीले हाम्रो देशलाई समृद्धि तर्फ लैजानु पर्छ । हामीले यो संघिय गणतन्त्रप्रति, संविधानप्रति, समाजवादप्रति विश्वास राखेर एकताका साथ सबै बलियो भएर अगाडि बढ्नु पर्छ । यसरी समाजलाई विभाजित गर्ने तत्वहरुलाई निषेध गर्नुपर्छ ।
अन्त्यमा, तपाईँ संसदीय राजनीतिबाट विश्राम लिने भन्नु भएको थियो । तर, पार्टी राजनीतिमा भने सक्रिय हुनुहुन्छ । अबको राजनीतिक यात्रा कसरी अगाडि बढाउनुहुन्छ ?
मैले गत चुनावको बेलामा नै मलाई सुविधाको राजनीतिबाट पाउने चीज सांसद, मन्त्री, मुख्यमन्त्रीसम्म भएँ अब पुग्यो भनेको थिएँ । बैठकमा नै मैले यो कुरा प्रष्ट भनेको थिएँ । अहिले पनि मेरो मान्यता के छ भने यत्रो विशाल परिवर्तनको निम्ती ठुलो पंक्तिले दुःख गरेको छ, बलिदान दिएको छ । यसमा मैले त काम गर्ने मौका पाएँ दुई पटक मन्त्री भएँ, पटक-पटक सांसद भएँ, छोटै समय भएपनि बागमती प्रदेशको मुख्यमन्त्री भएँ ।
त्यो सबै हेर्दाखेरी मसँगै राजनीतिमा लाग्ने साथीले यसरी काम गर्ने मौका पाएको छैन । त्यसैगरी अब युवापुस्ता धेरै सक्रिय भएर लागिरहेको अवस्था छ । ठूलो संख्यामा सक्रिय भएर युवा पुस्ता आएको अवस्थामा हामीले ठाउँ ओगटिरहेमा तिनले कहिले ठाउँ पाउँने ? म ७० वर्ष पुगेँ, युवापुस्ता भनेको पनि ५५ पुगिसक्यो होला । यी सबै कुरा मैले मनन् गरेपछि मैले सुविधाको राजनीति त्याग्नुपर्छ भन्ने लाग्यो ।
तर, पार्टी राजनीति त म गर्छु नै । तपाईँले भनेझै म सक्रिय नै भइरहेकै छु । यसमा निरन्तरै हुन्छु । पार्टीलाई बलियो बनाउने, एक ढिक्का बनाउने, विचारित बनाउने, विधिसंगत ढंगले पार्टीलाई चलाउने, पार्टीभित्र सबैलाई न्याय होस्, जवाफदेहिता होस्, संस्थागत प्रणाली, सामुहिक नेतृत्व हुनुपर्छ भन्ने मान्यता अनुसार म अगाडि बढ्छु । मैले पनि लामो समय भूमिगत जिवन विताएको हो, ११ वर्ष । त्यसरी सबै कुरा त्यागेर कम्युनिष्ट आन्दोलनले मात्रै परिवर्तन ल्याउन सक्छ भनेर लागेको हो । अब ७० वर्ष पुगेपछि सुविधाको राजनीतिबाट रिटायर्ड भएर युवा पुस्तालाई ठाउँ दिएको हो ।
प्रतिक्रिया