म काठमाडौँ आईपुगेँ

म काठमाडौँ आईपुगेँ



सायद त्यो गर्मी दिनको शीतल झिसमिसे थियो । झरी परेको थिएन । पूर्वको आकाश सफा थियो । रामपुर निद्राबाट तन्द्रातिर हिँड्दै थियो । यस्तैमा पूर्वतिर फर्किएको, खरको छाना भएको, भुईँतले मतानको मुलोछ्यानमा सुतिरहेकी मेरी आमाको निद्रा खुल्यो ।
आमाले बोलाउनु भयो बुवालाई, ‘ए, मेनुकाका बाउ ! उठ्नुन !’
हिजो मकै जोत्ने मेलो थियो । थाकेर लोत भएका बुवाले सुन्नु भएन । बरु मतानको उत्तर–पूर्वी कुनामा बाँधेकी सेती बाख्रीले म्याँ–म्याँ गरी ।
फेरि बोलाउनु भयो आमाले, ‘मेनुकाका बाउ, ए मेनुकाका बाउ !’ यो पटक अलि ठूलो स्वरमा ।
बल्ल उठ्नु भयो बुवा । अनि दिदी उठी । दाजुहरू उठे । पल्लो घरबाट हजुरआमा आउनुभयो । ठूलेमा र काकी पनि आउनुभयो । हल्ला–खल्लाले तर्सिएकी बाख्रीलाई दाजुहरूले बाहिर लगे । अनि त्यो बिहानै धमिराले खाएर ढोकाको एक पाटो खुस्किएको, पालीको खरको छाना झरिसकेको, मझेरीमा आलो चिलाउनेको हाँगा धुवाईरहेको, दख्खिनतिर मात्रै एउटा झ्याल भएको मतानमा एउटा शिशुले पहिलो गीत गायो । धर्ती छोयो । आमालाई हेर्यो ।
एघारौँ दिनमा न्वारन भयो । नाम राखियो— हिमाल घिमिरे ।
दुई गह्रा खेत । वर्षमा तीन कमाई हुने । एक फेर धान । अनि गहूँ र मकै । हुँदा–खाँदाको कान्छो छोरो साँहिलो भयो । छ जनाको जहान सात जनाको भयो ।
बेकाममा बाख्री पालेर के गर्नु ! मकैको पीठो त जोगिन्छ । यस्तै सोच्नु भयो होला बुवाले त्यो बेला । त्यसको केही दिनमै बेचिदिनु भयो सेती बाख्री ।
सबै स्कुले । बुवा शिक्षक । दाजु दिदी विद्यार्थी । घरमा आमा र म । म त उही बेला–बेला रूने त हो । अरू त के नै पो गर्नु ! यस्तै–उस्तैमा म हुर्किँदै थिएँ ।
पाँच वर्षको भएँ ।
‘उता जा, उता जा मुतुवा, आमासितै सुत् ।’ दाजु दिदीहरू जिस्क्याउँथे । म साँझमा उनीहरूको किताब च्यातिदिन्थेँ । पढिरहेका बेला उस्तै बोलेर हल्ला गर्थेँ । अनि एकदिन सबैले भने, ‘तँलाई स्कुल पठाउने हो अब । खुब पढ्ने भएको होइनस् ? बुझेको छस् के ? सिस्नु पानीले तँलाई मिसले !’
त्यसपछि म डराएँ । म जिन्दगीमा पहिलो पटक डराएँ । स्कुलमा के चाहिँ हुने हो भनेर डराएँ । किताब च्यात्न र पढेझैँ गर्न बन्द गरेँ । एक–दुई दिन आफैँलाई सम्हालेँ । मुख चिल्चिलाएर आई त हाल्यो । हात सक्सकाएर उस्तै । मैले पनि थालेँ फेरि उस्तै गर्न । आमाले समेत दिक्क मान्नु भएछ । बुवालाई एक रात भन्नुभयो, ‘लैजानु न त यसलाई पनि स्कुल । दिनभरि मलाई काम गर्न पनि दिँदैन । खाली चिनी चोरेर खान्छ । दाँत बिग्रेर हेर्नु त ।’
बुवाले भन्नुभयो, ‘हुन्छ त हुन्छ ।’
मलाई बुवादेखि झ्वाँक चल्यो ।
त्यो रात मनमनै सोचेँ, ‘म स्कुल गए पो ।’ आफैँलाई दह्रो बनाएँ ।
भोलिपल्ट बिहानै रोएर रडाको मच्चाएँ । अहँ, मेरो केही लागेन । म रूँदै–रूँदै स्कुल गएँ ।
बुवाले स्कुल पुगेपछि भन्नुभयो, ‘बस् । एक कक्षामा गएर बस् ।’
फेरि मन दह्रो पारेँ । सोचेँ, ‘म गए पो ! मरे पनि जान्नँ ।’ मैले बुवाको हात बेस्सरी समातेँ । म कक्षामा गईनँ । बरु बुवाको हात समाउँदै बुवाले पढाउने कक्षाहरूमा गएँ । जब एक बजेको घण्टी लाग्यो सबै बाहिर निस्के । बुवाको हात समातेर म पनि गएँ खाजा पसलमा ।

‘मिठाई खान्छस् ?’ बुवाले सोध्नुभयो ।
म त के भनूँ के भनूँ भएँ । चिनी चोरेर खाने जन्तुले मिठाई नखाँदो हो अब ! म मुसुक्क हाँसे मात्र ।
भोलिपल्टदेखि त म चुपचाप स्कुल गएँ । कक्षामा त बसे पो ! उही मिठाई खायो । बुवासित पढाउन गयो । चक र डस्टर बोकिदिन्थेँ । यस्तैमा बुवाले एक कक्षामा मेरो नाम लेखाउनु भयो । अनि बिस्तारै कक्षामा बस्ने बानी भयो । अलिपछि मिठाई नभए पनि म स्कुल जान थालेँ ।
‘ए कान्छा कति गिलासमा पढ्छौ हरे ?’ हिलेली कान्छा बाले सोध्नुभयो ।
‘गिलास होइन । किलास हो, किलास । चार किलास पढ्छु ।’ मैले मुख धुँदै भनेँ ।
हिलेली कान्छा बा धारामा पानी थाप्न आउनु भएको थियो ।
उहाँले भन्नुभयो, ‘ल चार किलास हो भने भन, उन्नाईस वटा ओदानका खुट्टा कतिवटा हुन्छन् ?’
मनमनै सोचेँ, ‘बूढाले बिताए !’ अनि बल्ल–बल्ल भनेँ, ‘सन्ताउन्न वटा ।’
अनि त गाग्री पनि भरियो । कान्छा बाले भन्नुभयो, ‘ल जान्ने रहेछौ ।
म फुरूक्क परेँ । फुरूक्क नपर्ने कुरै थिएन । गाउँमा हिलेली कान्छा बाका प्रश्नको उत्तर दिने बिरलै हुन्थे ।

चार कक्षामा प्रथम थिएँ । सबैले मलाई ‘फस बाई’ भन्थे । मैले पनि होला त नि भन्थेँ । तर दशैँमा काठमाण्डुबाट फर्केको मेरो ठूलो दाजुले भन्नुभयो, ‘तँ त फस्र्ट बोय पो रहेछस् है ?’ त्यहाँदेखि मैले बुझेको थिएँ, ‘म फस बाई होइन फस्र्ट बोय पो रहेछु ।’
सधैँझैँ त्यो दिन पनि स्कुल गएँ । त्यो छुच्ची प्रभा मेरो पछिल्तिर बस्थी । क्या राम्रो नीलो ज्याकेट थियो मेरो । ढाडतिर मान्छेको चित्र भएको । अनि त्यो चित्रमा दुईवटा आँखामा चाहिँ मालाका दाना थिए । हो, त्यही छुच्चीले ती आँखा निकाली दिई । मलाई यस्तो लागेको थियो— मेरै आँखा निकालेकी होस् । तर म निक्कै सहनशील मान्छे । मैले केही भनिनँ । मेरो चुपचापको फाइदा उठाएर उसले मलाई कहिले चिमोट्ने, कहिले कपाल तान्ने, कहिले के भनेर जिस्क्याउने, कहिले के, कहिले के गर्न थाली । अनि त मेरो धैर्यता पनि गुम्यो । मैले नेपाली शिक्षक, मेरा बुवालाई गुनासो पोखेँ, घरमा गएर । स्कुलमा त लाज लाग्यो ।
साँझमा बुवाले भन्नुभयो, ‘त्यसले तँलाई मन पराउँछे जस्तो छ । कहिलेकाहीँ मिठाई किनेर दे न बरु !’
मलाई त क्या रिस उठ्यो । तर उत्निखेरै अनौठो भय र उत्सुकताले अँचेट्यो । मलाई त के गरूँ र कसो गरूँ भयो । त्यो साँझ कटहरको रूखमा कराएका चराहरूको चिरबिर पनि मलाई झर्को लागेन । एउटा पहाडी पाखामा गाएको मन छोईदिने भाकाजस्तो पो लाग्यो । किसिमसाथको खुलदुली भयो मनमा । एकै ठाउँमा बस्न सकिरहेकै थिइनँ । मलाई प्रभा सम्झेरै लाज लाग्न थालेको थियो ।
त्यो रात निक्कै अबेला निद्रा प¥यो । उसै पनि म मध्यरातसम्म दाजुहरूको सारमा पढ्न बस्थेँ । तर त्यो अर्कै रात थियो ।
कसोकसो भोलिपल्ट भयो ।
आई त हाली । बसी त गई । उसको अनुहार पनि हेर्न सकिनँ । लाजले मर्नु भयो । अझ बुवाले पढाउने नेपाली विषयको कक्षामा त न बुवालाई हेर्न सकेँ, न त प्रभालाई । क्या फसाद !
सोचेँ, ‘यस्ती छुच्ची केटीसित कसरी बिहे गर्ने होला !’
त्यो बेला कसैले मन पराउनुको मतलब हुन्थ्यो प्रेम हुनु अनि बिहे हुनु । उत्तिकै फोकटमा कसले मन पराउँथ्यो र अर्कालाई ! मेरो मनमा अनेक कुरा खेले । वास्तवमा मलाई प्रभादेखि रिस उठ्यो । त्यति सानी मान्छेले पनि मन पराउने हो अब !
चार बज्यो । स्कुल छुट्टी भयो । कक्षाबाट निस्केपछि चौरमा पुगेर मैले प्रभाको छेवैमा गएर भनेँ, ‘हेर् केटी, तँसित म बिहे गर्दिनँ । मरे पनि गर्दिनँ । बुझिस् के !’
अनि म बेतोडले दौडिएँ घरतिर ।
आज म सोच्दैछु, ‘प्रभा कहाँ छे होला !’
०००

बिहिबारे हाट पनि रमाइलो हुन्थ्यो । एक बजेको छुट्टीमा निस्कियो । घुम्यो बजार । सुकबहादुर दाजुले फिल्म देखाउँथे । सत्र इन्चको कलर टिभीमा । भीसीडी प्लेयरबाट । सिँचाईको अफिसमा । कहिले त स्कुलबाट भागेर फिल्म हेरिन्थ्यो । रोजी पनि भाग्थी । तर हामी कहिल्यै सँगै भागेनौँ । बरु हलमा देख्दा आफुस–आफुसमा फिल्म हेर्नै बिर्सिदिन्थ्यौँ ।
मलाई त्यो दिन भाग्न मन थियो । रोजीलाई चाहिँ के भएको थियो कुन्नी ! कक्षाबाट निस्किँदै निस्किन । म पनि चुपचाप बजारतिर गएँ ।

लौ चौतारामा त घुँईचो पो थियो त । कसले चाहिँ रामधुलाई भेट्यो होला सोच्दै गएँ म पनि त्यता ।
त्यहाँ त बाबाजी पो थियो । ए फटाफट हात पो हेर्दै थियो । भन्दै थियो, ‘हात हेरेको रूपैयाँ पाँच । पैसा नदिए लाउँछु साँप !’
म भविष्यवाणीमा उस्तो विश्वास नगर्ने मान्छे । तर पनि गोजीमा हेरेँ । हाफ–फिल्म हेर्नलाई जोगाएको पाँचको नोट देखेँ ।
बाबाजी भन्दै थियो, ‘तिम्रो त दुईवटा बिहे हुन्छ बालक ।’
भीडमा हाँसो गुन्जीयो । हात देखाउने केटो छक्क पर्यो ।
साथीहरूले उल्क्याए, ‘हिमाल, हेराऊ, हेराऊ । पाँचै रूपैयाँ त हो नि ।’
म पनि उल्किएँ । स्वाट्ट गोजीबाट निकालेँ दाहिने हात । तेस्र्याएँ बाबाजीतिर । कमाण्डलुतिर आँखा पुगे । सर्पले आँखा झिम्क्यायो झिमिक्कै । हत्तनपत्त देब्रे हातले गोजीको पाँचको नोट समातेँ । अलि सास आएझैँ भयो ।
बाबाजीले ओल्टाई पल्टाई हेर्यो हात । अनि छोडिदियो । एकछिन आफ्नू हात आफैँतिर तानूँ कि उतैतिर राखूँ भन्ने लाग्यो । फेरि देखा भन्यो भने निकाल्छु गोजीबाट, आफ्नै हात त हो भन्ने सोचेर प्यान्टको गोजीमा घुसारेँ ।
बाबाजीले भन्यो, ‘वाह् ! बालक, यस्तो राम्रो हात त मैले हेरेकै थिएन । निक्कै ठूलो मान्छे हुने योग छ । किताब लेख्छौ, किताब ।’
म त मख्ख परेँ । साथीहरूले ईष्याको भावले मलाई हेरे । त्यस्तैमा एउटाले सोध्यो, ‘माया पिरतीको पनि अलिकता भन्दिऊँ न बाबाजी ।’
मलाई लाज लागेर सोध्न नसकेको थिएँ । केटोले जे होस् ठीकै गर्‍यो ।
बाबाजी उवाच, ‘माया त बसेको छ तर यो प्यार कहानी भैजान्छ । अबको दश सालपछि गर्नु ईश्क । शहरमा कोही भेट्नेछौ सधैँभरिलाई ।’
मेरो मन खिन्न भयो । म चुपचाप पाँचको नोट दिएर कक्षामा फर्केँ ।
रोजी अझै कक्षामा थिई । मलाई कस्तो–कस्तो भयो । फिल्ममा जस्तै रोजीसित टाँसिएर रून मन लाग्यो । मैले सोचेँ, ‘दश सालपछि रोजी कहाँ जान्छे होला !’ अनि आफैँसित भनेँ, ‘म शहर कहिल्यै पनि जान्नँ ।’
मैले रोजीलाई हेरेँ । उसका आँखामा गाढा प्रेम थियो ।
०००

बर्खाका दिन । झम्झम् पानी पर्ने । घाम बादलभित्र खै के गर्दै बस्थ्यो । रामपुरको रातो माटो । मूलबाटोमा चिप्लिएर लडिएला भन्ने डर हुन्थ्यो । तर पनि मानु रोपेर मुरी उब्जाउने बेला । पहाडी किसानहरू खेतबाट मकै पन्साएर रोपाईँको तरखर गर्दै थिए । टारी खेतको मकै त भाँची सकेका थियौँ हामीले पनि । ढोड ओर्सान चाहिँ बाँकी थियो । बिहिबारको दिन हाट जाने मन हुँदा–हुँदै पनि म बुवाआमालाई सघाउन खेततिरै थिएँ ।
‘अलि मिलाएर काट्न । धेरै होचो पनि होइन । गोरूका खुर लाग्छ ।’ बुवाले ढोड काट्न सिकाउनु भयो ।
माथिल्लो खन्नमा मेलो पन्साइरहेका पण्डितले भने, ‘कान्छा छोरा तगडा रहेछन् है गुरू ।’
‘हामीलाई पाल्ने यही हो । सबै गै हाले शहर । अब यो चाहिँ यहीँ बस्छु भन्छ ।’ गुरूको सट्टा गुरूआमा बोल्नु भयो ।
‘बसिहाल्छ नि !’ आमातिर हेरेर मनमनै भनेँ ।
०००

कति लामा दिन ! ढोड बोक्दा–बोक्दा ढाड नै दुख्यो । दिउँसो खाजामा खाएको मोही मकैले पनि छोडेजस्तो भयो । साँढे छ भैसक्यो । एक सुर्को खेतका ढोड बाँकी नै थिए । फेरि भोलि बिहानै गोरू नार्ने भनेको थियो । चार नाम्ला जसो ढोड बाँकी बसे । अलिक मिलाएर तीन नाम्ला बनायौँ । बुवा, आमा, र म ।
‘हैट् ! के फलामकै भारी भएछ है ।’ बुवाले भन्नुभयो ।
मरेर आईपुगियो घर ।
मैले बाख्रापाठा खोरमा थुनेँ । आमा भान्सातिर लाग्नु भयो । बुवा दुधेँरो लिएर गोठतिर जानुभयो ।
भ्यागुता ट्वार–ट्वार–ट्वार कराईरहन्थे । एउटा आदीम सङ्गीत । चुल्होमा काँचा खोया, भिजेका दाउरा धुवाईरहेथे । आमाको टाउको दुखेकै थियो । ओढ्नेले बाँध्नु भएथ्यो टाउको, टनक्क । फेरि बिजुली पनि कुलो लडेर त्यै रात चाहिँ थिएन । त्यो कामको चटारोमा को पो जाओस् । पुरानो धिप्री खोजेर बाल्यौँ । मट्टीतेल पनि उही अड्कोपड्को राखेको ।
‘सात बजेको समाचार लगा त ।’ बुवाले भन्नुभयो ।
‘सकिन पो लाग्यो होला ।’ भन्दै मैले रेडियो खोलेँ ।
एसएलसीको नतिजा प्रकाशित भएछ ! एउटा अव्यक्त भावले अँचेट्यो । मैले आफ्नो सिम्बोल नम्बर सम्झिएँ ।
०००

मेलो छोडेर कहाँ जानु ? पास भए पनि होस्, फेल भए पनि होस् । म त आली लगाउँदै बसेँ । टारी खेतको रोपाईँ सकियो । घरबारी चाहिँ बाँझै राख्नु ? त्यहाँ पनि रोपाईँ गर्नै पर्यो । गर्दा–गर्दै आठ–दश दिन बिते ।
मैजारो भयो । तल्लाघरे कहाँ खसी काटे । बल्ल आँत आयो गाँठे !
साउनको दोस्रो बिहिबार हाट गएँ । अनि पो बल्ल नतिजको खोजीमा लागेँ । हाटमा एउटा टेलिफोन थियो । एक मिनेटको आठ रूपैयाँ लिन्थ्यो । सुनेँ, लेजर आउनै लागेको छ । तर पनि मनको खसखस थाम्न सकिनँ । फोन गरूँ–गरूँ लाग्यो दाजुलाई । र, सोध्न मन लाग्यो नतिजा ।
साहुले लगाईदियो फोन । पहिलो पटक फोनमा बोलेँ । अचम्मै हुँदो रहेछ ।
‘अनि यति दिनसम्म रिजल्ट नहेरी बसिस् त ?’ दाजुले सोध्नुभयो ।
‘अँ ।’ भनेँ मैले ।
‘अनि गोरखापत्र आएन ?’ सोध्नुभयो ।
‘खै, रोपाईँ भर्खर सकियो ।’ भनेँ ।
‘कति रे तेरो सिम्बोल नम्बर ?’ सोध्नुभयो ।
‘एक–लाख–तीस–हजार–सात–सय–साठ्ठी–एफ् ।’ भनेँ ।
‘एकै छिन है । खुल्दैछ ।’ भन्नुभयो ।
मैले पर्खेँ । पर्खिँदासम्म यताउताका कुरा भए ।
‘ल बधाई छ तँलाई । पर्सेन्ट पनि निक्कै राम्रो रहेछ ।’ भन्नुभयो ।
म प्रतिशत सुनेर मख्ख परेँ ।
‘अनि कहिले आउँछस् त अब ?’ सोध्नुभयो ।
म त रूम्ला–रूम्ला नै भएँ । भनेँ, ‘यहीँ बस् भन्नुहुन्छ बुवा त ।’
हाँस्नु भयो दाजु र भन्नुभयो, ‘यतै आउनु ।’
मैले फोन राखेँ । आठ मिनेट भएछ । आठ आठा चौसठ्ठी । साहुनीले हिसाब गरी । पैँतीस रूपैयाँ र एक रूपैयाँको चकलेट फिर्ता लिएँ ।
के हेर्नु हाट ! फुङ्ङ उडेजस्तो लाग्यो । खुरूखुरू लागेँ घरतिर ।
‘अनुहार त अँध्यारो छ है । फेल भयो क्या हो केटो !’ दलानमा काँचा–मुखेका मकै छुट्याउँदै बुवाले भन्नुभयो ।
‘खै, पास त हुनु पर्ने ।’ आमाले भन्नुभयो ।
‘हुन्छ फेल ! पास भएँ ।’ मैले भनेँ ।
‘राम्रो भएछ । ल अब यहीँ पढ्नु पर्छ । हामीलाई साथी बस् । दाजुहरू उता गए ।’ बुवाले भन्नुभयो ।
‘हामी मात्र त यो घर शून्य लाग्छ । यहीँ बस् कान्छा ।’ आमाले थप्नुभयो ।
‘दाजुले आउनु भन्नुभएको छ । फोन गरेको थिएँ ।’ भनेँ ।
‘तेरो दाजु भन्छ नि । यहाँ मेरो टुप्पी बिक्न लागेको छ ! म सक्दिनँ ।’ बुवाले भन्नुभयो ।
अनि म मौन । मानैका मौन । त्यही रातबाट शुरू भयो मौन ब्रत तथा भोक हड्ताल ! माग थियो— काठमाण्डु जान पाउनु पर्ने !
‘रोपो नसर्ने भयो । पानी लगाउन जा त ।’ बुवाले भन्नुभयो ।
म सुनेको नसुन्यै ।
‘भात त खाई दे । कस्तो दुःख दिन सकेको होला । जति ठूला भए उति हैरानी ।’ आमाको ममता झल्कियो झलक्कै ।
म ढुङ्गा बनेको थिएँ । मूर्ति जस्तो । देउता जस्तो । कुनै भावले नछोइदिने । म मौन बसेँ । चोटबाट झर्दै झरिनँ ।
‘होइन अझै ओर्लेन हिमाल ? एघार बजिसक्यो ।’ टारी खेतबाट फर्केपछि आमालाई बुवाको प्रश्न ।
‘सात दिन भैसक्यो । मन गरी गयो । जाओस् न त ।’ आमाले भन्नुभयो ।
म सुन्दै थिएँ जस्केलामा बुवाआमाको गुनमुन । अलिकता आश पलायो । एक फेरा खाना खान बोलाए त झर्थेँ लिस्नु भन्ने पनि सोचेँ । सोच्नु मात्रै के थियो— ‘ल आइज, आइज । पारि खत्रीकहाँ घ्यू भन्देको छु । भात खाएर जा त । अनि भोलि जानु । अर्जुन जान्छ रे कटारीसम्म । त्यहाँबाट बस चढाईदिन्छ ।’— बुवाले भन्नुभयो ।
एक सातादेखि रिसाएको मनुख्खे म ! ह्वात्त आवेगमा आएर खुशी हुन पनि त भएन । मनमनै खुशी भएँ । त्यो बेलासम्मको सबैभन्दा खुशीको क्ष्ण त्यही थियो । अनि आलेटाले गर्दै ओर्र्लिलएँ चोटबाट । बाँस झ्याङतिर गएँ । मुत्र विसर्जन गरेँ । त्यतै–त्यतै धारातिर गएँ । मुख धोएँ । भिन्नै खुशीले मग्न थिएँ ।
०००

माने चहुर गएका रहेछन् खत्री बूढा घाँस कट्न । बल्ल एक बज्दा पो मतान जत्रो खरको भारी बिसाए ।
खत्री बूढा— रामपुर साहिला मास्टरका छोरा ?
म— हजुर ।
खत्री बूढा— कुन भाइ त ?
म— कान्छो चाहिँ हूँ ।
यस्तै ऐरेगैह्रे कुरा भएपछि थालियो घ्यू भर्न । बूढाले एक कुरूवा घ्यू झिके । मेरो ग्यालेनको मुखमा काग लगाए । अनि खन्याउँदै भने, ‘एक, एक, एक … !’ (दोस्रो कुरूवा नखन्याउन्जेलसम्म ।)
फेरि भरे अर्को कुरूवा । खन्याए मेरो ग्यालेनमा । भने, ‘दुई, दुई, दुई, … !’ (तेस्रो कुरूवा नखन्याउन्जेलसम्म ।)
त्यसरी नै भने—
‘तीन, तीन, तीन, … !
‘चार, चार, चार, … !
‘पाँच, पाँच, पाँच, … !
‘छ, छ, छ, … !’
पैसा दिएँ । एकै सेकेण्ड पनि खर्च नगरी फटाफट हिँडे । एकै सासमा उक्लिएँ मोलुङ्ग खोलबाट रामपुरको डिलमा ।
मलाई मीठो लाग्ने तरकारी पकाउनु भयो आमाले त्यो बेलुका । चुचेका सिम्रा । तीतेकरेला–आलुको भुटुवा । अनि घ्यू चाम्रे ।
खाना खाँदै गर्दा आमाले भन्नुभयो, ‘भोलि त यो बेला कटारी पुग्छ कान्छो ।’
म सुपु–सुपु–सुपु भात खान्छु । मन्द–मन्द मख्ख पर्दै ।
‘अलिकता घ्यू थप्दिन्छेस् कि कान्छालाई ।’ आमालाई बुवाको आग्रह ।
अबका दुई महिनामै त दशैँ पनि आईहाल्छ । दाजुहरूसित फर्किहाल्छस् नि ।’ आमाले घ्यू थपिदिँदै भन्नुभयो ।
म चुपचाप । मन्द मुस्कान थियो अनुहारमा ।
‘मन लगाएर पढ्नु । दाजुहरूसित मिलेर बस्नु ।’ बुवा ।
यस्तै–उस्तैमा खाना पनि खाइसकियो ।

बेलुका झोला मिलाईदिनु भयो आमाले । झोला मिलाउँदै भन्नुभयो, ‘फेदमा चाहिँ सातु छन् । मकै–भटमासका । लेकालीसत किनेका काला भटमास । बिहान–बिहान चियासित खानु । अनि यो घ्यूको ग्यालेन भै गयो । बिहान–बेलुका भातसित खानु । अलिकता चुचेका सिम्रा छन्, तँलाई मन पर्छ भनेर । त्यहाँको भुटुनमा तरकारी पनि मुख लाग्दो हुँदैन । माना दुएक तोरीको तेल छ । कसरी पो जोगाएर पुर्याउँछस् । अनि तेरा लुगा ।’
गर्दा–गर्दै भरियो झोला । आमाले सिकाउन्जेल मैले, ‘अँ, हुन्छ, ल ल’ जस्ता सही लगाउने शब्दहरू बोलिरहेँ ।
‘खै त खर्च ? चाहिने मात्र बाहिर राख्नु । अरू लुगाभित्र राख,’ भन्नुभयो मलाई र बुवातिर फर्किएर भन्नुभयो, ‘खै दिनु त ।’
‘ल यो पच्चीस सय चाहिँ बाहिरै राख् । बाँकी सात हजार पाँच सय छ । त्यो झोलाभित्र राख् ।’ बुवाले दिनुभयो पैसा ।
‘क्याम्पस भर्ना गर्न पुगीहाल्छ । दाजुसित पनि त होला अलिकता । अब त अफिसर भैसक्यो ।’ मैले बुवालाई सुनिरहेँ ।
‘विज्ञान नपढ्नु । सजिलो विषय छानेर पढ्नु । तँलाई छिटो चिसोले समात्छ । धेरै नुहाउनु पनि पर्दैन । नचिनेको मान्छेसित नबोल्नू । केही दिए भने पनि नखानू । मधेशका खोलामा भास हुन्छ । साथीको हात समात्नु है खोला तर्दा ।’ आमालाई पनि सुनिरहेँ ।
झोला पनि तयार भयो । आमाले भन्नुभयो, ‘ल अब सुत् । बिहान फेरि बेलामा निद्राले छोड्दैन ।’
म गह्रौँ मन लिएर चोटमा उक्लेँ । कस्तो–कस्तो भयो ।
सार्की गाउँमा एउटा धिप्री बलिरहेको थियो । डम्बर दाजुको कुकुर एक तमास भुकिरहेथ्यो । आकाश रिसाएझैँ धुम्म थियो । कालो–कालो । झरी परेको थिएन । भुईँ कुहिरो डम्म थियो । अनि उही भ्यागुताको सङ्गीत— ट्वार–ट्वार–ट्वार । मलाई त्यो रात झ्याल बन्द गर्नै मन लागेन ।
बिहान बुवाले बोलाउँदा म मस्त निद्रामा थिएँ ।
सुनकोशी गढतिरको बजार— ओखलढुङ्गा, सिन्धुली, र उदयपुरको जोड्ती— घुर्मी बजार । हामी घुर्मी बजार पुग्दा ठ्याक्कै सवा एक भएको थियो दिउँसो ।
०००

स्कुलबाट शैक्षिक कार्यक्रममा ओखलढुङ्गा गएको थिएँ । त्यो बेला भर्खर–भर्खर गाडी आईपुगेको थियो । त्यसो त गाडी हेर्नकै रहर थियो । कार्यक्रम सकिएपछि सबै साथीहरू, ओखलढुङ्गाको बसपार्क रमाइलो डाँडामा गाडी छ रे भन्ने सुनेर, त्यतै लाग्यौँ । अलिकता उकालो चढियो गाडी देख्ने खुसीमा । डाँडामा पुग्ने बेला टिङ–टिङ टिङ–टिङ घन्टी सुनियो । हामी मख्ख पर्यौँ । एउटाले भन्यो, ‘लौ हरन लायो है गाडीले, हाम्रो स्वागत गर्नलाई होला !’ होला त नि भन्यौँ । अझै छिटो हिँड्यौँ । लौ, पुगेर हेर्छौँ त बस पार्कमा खच्चड पो घण्टी हल्लाउँदै चरिरहेका ! खत्तमै भयो नि ।
एउटा चम्पुत्ले साथीले सोध्यो पसलेलाई, ‘दाई, यहाँ गाडी आउँदैनन् ?’
पसले चिया उम्लिएर पोखिएको झोँकमा रहेछ कि क्या हो ! भन्यो, ‘यी यहाँ छ गाँडी ! हेर्ने ?’ प्यान्टको जिपर खोलुँलाझैँ गर्यो ।
हैट् ! कस्सो बूढाले ‘गाडी’ देखाएन । हामी अर्को पसलेकहाँ पुग्यौँ । सोध्यौँ, ‘दाई गाडी आ छैन आज ?’
पसले उवाच, ‘काँदेखि आयो हौ भाइहरू गाडी हेर्न ?’
चम्पुत्ले उवाच, ‘हेर्न होइन । चढेर जान लागेको काठमाण्डुतिर ।’
पसले हाँस्यो । भन्यो, ‘हिजोको फुल आजको बच्चा । कुरा गर्छ काठमाण्डुको । गोरूमारे भञ्ज्याङ्गमा छ कि ।’
हामी लाग्यौँ गोरूमारे भञ्ज्याङ्गतिर ।
हो रहेछ । पहिलो पटक काठमाण्डुबाट फर्किँदा दाजुले भन्नुभएको सत्य रहेछ । उहाँले भन्नु भएथ्यो, ‘गाडी हाम्रो घर जत्रै हुन्छ । अनि गुड्ने पाँग्रा हुन्छन् ।’ अनि मैले हाम्रो घर गुड्दै गरेको कल्पना गरेको थिएँ । तर हाम्रो घर भन्दा चाहिँ अलिकता सानै हो है गाडी ।
०००

मैले एकोहोरो लागेर घुर्मी बजारका गाडीहरू हेरिरहँदा हर्कपुरको कोइराला (लेख्दै गर्दा नाम बिर्सेँ)ले भन्यो, ‘तिमी गाडी चढेको छौ पहिला ?’
अनि पो मेरो पहिलो गाडी हेराईको याद श्रृङ्खला टुट्यो । उसलाई भनेँ, ‘अहँ, छैन ।’
उसले भन्यो, ‘मेरो पनि पहिलो पटक हो ।’
हामीभित्र अनौठो कौतुहलत भरियो ।
त्यस्तैमा हामीले सुन्यौँ, ‘ल पैँतीस जना नपुगी सिट फुल हुँदैन । गाडी सिट फुल भए मात्र जान्छ है ।’ यौटा मान्छेको उर्दी । हामी खत्र्क्क परेर घुर्मीको एउटा चिया पसलभित्र पस्यौँ ।
पूरा सात घण्टाको बाटो । पैदल यात्राले हामी थाकेका थियौँ । साथीहरू चिया खाजा खान लागे । मलाई भने त्यहाँको पानी नै एक भल्को उमालेकोजस्तो लाग्यो । केही खानै मन लागेन । चुपचाप पल्टिएँ खाटमा ।
०००

‘अलिकता थप्न ।’ आमाले एक पुनियूँ भात मतिर बढाएर भन्नुभयो, ‘बाटामा जहाँ पायो त्यहीँ पसल हुँदैनन् । एकै फेरा ढाँडखोला पुग्नु पर्छ ।’
‘निगुरेदेखि कति टाढा छ ढाँडखोला ?’ फेरि आमालाई सोधेँ ।
म निगुरेसम्म गएको थिएँ । दुई साल पहिले । तिहारमा फूल–टीका लगाईदिन आएकी दिदीलाई घर पुर्याउन । निगुरेबाट मोलुङ्ग तरेर माधवपुरको उकालो हुँदै टोक्सेल पुगेका थियौँ । हामीलाई त्यहाँ निगुरेसम्म पुग्नै चार घण्टा लागेको थियो । हो, त्यही निगुरेदेखि उताको बाटो भने मलाई थाहा थिएन ।

‘नजिकै हो । त्यस्तै आधा घण्टा लाग्ला कि,’ आमाले भात थपिदिँदै भन्नुभयो, ‘त्यहाँ पुगेर दही चिउरा खानु । अलि आडिलो हुन्छ । बजारीया कुरा नखानु । सन्च गर्दैन ।’
मैले हुन्छ भनेँ । छिटो–छिटो खाएँ भात ।
बुवाले भन्नुभयो, ‘पाँच बज्यो है । अब अबेर नगर ।’
त्यसपछि आमाले दुईवटा आम्खोरामा पानी सार्नु भयो । दुबो हाल्नु भयो तिनै आम्खोरामा । राता अक्षता भिजाउनु भयो । राख्नुभयो ढोकाका दुईतिर कलस भनेर ती आम्खोराहरू । म मूलोछ्यानमा थिएँ । अनि बोकेँ झोला ।
‘अचाएर जा न,’ भन्दै बुवाले पढ्नु भयो मन्त्र, ‘मङ्गगलम् भगवान विष्णु… !’
दलानमा उभिएरै लगाईदिनु भयो टीका ।

‘बाटोमा चिया खानू ।’ भन्दै आमाले मेरो हातमा केही पैसा राखिदिनुभयो । मैले गोजीमा राखेँ ।
सिमसिम पानी परेको थियो । छातै ओढ्नु चाहिँ नपर्ने । आमा गौँडासम्म आउनुभयो । टिलपिल थिए आमाका आँखा । मैले फर्केर हेर्ने हिम्मत गरिनँ । तर मलाई विश्वास छ— आमाले गौँडाको बकाईनाको फेदमा उभिएर निक्कै बेरसम्म् काठमाण्डु जाँदै गरेको आफ्नो कान्छो छोरालाई हेर्नुभयो ।
बाटो हिँडेपछि नै त भेटिँदा रहेछन् नि साथीहरू !
मोतेको चौतारामा पुगेपछि भेटिए माथिल्लो टोलका साथीहरू । शम्भु र पोषक । पोषक चाहिँ मेरै ब्याचको साथी र शम्भु चाहिँ एक ब्याच सिनियर । अनि त चार जना भयौँ । लाग्यौँ ओरालो ।

बुवा त्यहाँबाट फर्किनुभयो । के के सोच्नुभयो होला बुवाले म काठमाण्डु जाँदै गरेको देख्दा !
बर्खाका खोला । दङ–दङ उर्लेको थियो मोलुङ्गमा भेल । मोलुङ्गको साँघु तरेपछि भेटिए कोइरालाका बावु–छोरा । बूढा छोरालाई आईए पढाउन काठमाण्डु हिँडेका रहेछन् ।
छ जना भयौँ । पहाडी उर्लँदा खहरेहरू मैले साथीहरूको हात समातेर तरेँ । जँघार तर्नु पनि निक्कै हिम्मत र कौशलको काम रहेछ नि !

ढाँडखोलामा दही चिउरा खायौँ । अनि कतै नबिसाई हामी घुर्मी पुग्यौँ ।
मैले सरसर्ती सम्झिसक्दा त्यो यात्रा अर्जुन दाईले भन्नुभयो, ‘दुई बज्यो । अब हिँड्नु पर्छ । गाडी जाँदैन रे । बाटो पनि राम्रो छैन होला । भोलि दिउँसै पुगिन्छ कटारी रोडै–रोड हिँडे पनि !’
०००

मेरो गाडी चढ्ने रहर घुर्मीमा पूरा भएन । हामी झोला बोकेर लाग्यौँ उकालो । कहिले घाम कहिले पानी । साथीहरूका गफ सुन्दै म पछि–पछि हिँडिरहेको थिएँ । झोला निक्कै गह्रौँ थियो । तर पनि नदेखेको काठमाण्डु मेरो आँखै अघितिर नाच्थ्यो । म हिँडिरहेँ ।

साँझमा पुगियो बाँसबारी । झोला हेरेँ । तुरूक्क रून मन लाग्यो । तर कसको अगाडी रोऊँ ? एक मन त बिच्चैमा हिँडेको काठमाण्डु भन्ने पनि सोचेँ । मेरो दुःखलाई बुझेर पोषकले अर्को एउटा ग्यालेन किन्यो । अनि खन्याइदियो घ्यू । सबै लुगामा चुहेछ । धन्न बाँचेछ एसएलसीको मार्कसीट चाहिँ । एकछिनमा आफूलाई ठीक गरेँ । त्यसपछि त्यो नयाँ गाउँलाई देखेसम्म हेरेँ । रमाइलो लाग्यो ।

बेलुका खाना खान बसेपछि एउटा साथीले रमाइलो गर्यो । मलाई देखाएर भन्यो, ‘तिमी पनि भित्रै बसेर खाने ?’ अनि त होटल साहुले मलाई शङ्कास्पद नजरले हेर्यो । अर्को पटक खाना थप्न आउँदा साहुनी आई । सोधी, ‘तपाईँहरू बाहुन÷क्षेत्री नै त हो नि ?’ अघि जिस्किने साथी चाहिँ अलि धेरै हाँस्यो । म अलमलमा परेँ । साथीले नै भन्यो, ‘सबै बाहुन, ऊ बाहेक ।’ मलाई देखाएर । फेरि एक हलको मेलो हाँसो गुन्जीयो । छुवाछुत होटलमा पनि रहेछ । साथीहरूले खाना खाएपछि भन्थे, ‘यहाँ मात्र हो यस्तो । मुलाङ साहू पण्डित रहेछ । उँधोतिर यस्तो छैन ।’

घरबाट हिँडेको पनि एक दिन बित्यो । बुवाआमाको खुब याद आयो । होटलको पीरो खाना । उमालेकोझैँ लाग्ने खल्लो पानी । कस्तो–कस्तो त्यो वातावरण नै ठुस्स गनाएजस्तो । नमीठो लाग्यो ठाउँ नै । कसो–कसो त्यो रात बित्यो ।

बेतीनीको डाँडामा पुग्दा आइतबारको बिहान घाम झुल्किए । त्यहाँबाट देखियो समथर ठाउँ । लौ कस्तो अचम्म ! डाँडाहरू नै थिएनन् । मैले पहिलो पटक त्यति धेरै सम्म ठाउँ देखेको थिएँ । कता–कता होचा डाँडाहरू । सायद त्यही होला महाभारत पर्वतको मुनितिर रहेको चुरे क्षेत्र । त्यहाँ नसोचेको अर्को कुरा भयो । कटारी नपुगी बस पाईँदैन भन्ने लागेको थियो । त्यहाँबाटै पो बस चढ्यौँ हामी त । कटारीसम्म साठ्ठी रूपैयाँ लियो भाडा ।

चार बजेतिर हामी कटारी बजारमा पुग्यौँ । साथीहरूले चिनाए— त्यै हो मकालु, त्यै हो तावा खोलो । मैले खोलो हेरेँ । लौ पुल नभए पनि बस गुड्छ त ! मलाई अचम्म लाग्यो । साथीहरूले भने, ‘धन्न बाढी आएन यसपाला र पो ! नभए त हामी छेकिन्थ्यौँ ।’
छिटो–छिटो नुहाएँ । खानाको बेला हुँदै थियो । ज्यान अलि सन्चो भयो । त्यो गढतिरको बालुवा पखालियो । त्यो मैलो सबै पखालियो । म उही पहाडे केटो भएँ । ऐना हेरेँ । र, त्यतिको मान्छेलाई ह्याण्डसम भन्न सकिन्छ भन्ने निश्चय गरेँ ।
त्यसपछि हामी खानाको लागि तयार भयौँ ।

लौ दालमा त खुर्सानीको ढिँडी पो छ त ! अनि फेरि कस्तो पातलो ! मलाई त्यहाँको खाना अनौठो लाग्यो ।
खाना खाईसकेपछि कोइरालाले भन्यो, ‘गाडी चढ्न त मज्जा आउँदो रहेछ है !’
मैले भनेँ, ‘ठीकै रहेछ ।’

वास्तवमा यस्ता कुरामा म त्यति उत्सुक हुन किसिमको मान्छे होइन ।
अरू साथीहरूले भने, ‘लौ सुत है टाइममा । बिहान गाडी छुट्ला !’
मैले फेरि गाडीको टिकट छामेँ । गोजीमै रहेछ । ढुक्क भएँ ।
भोलिपल्ट बिहान—
गाडीमा सीट थिएन । टिकट काटेको जुध्यो रे । हामी अलमल्ल पर्यौँ । गाडीवालाले भन्यो, ‘मिर्चैयासम्म छतमा बस्नु है भाइहरू । त्यहाँदेखि पूर्वबाट आएको गाडीमा सीट मिलाउँला ।

कोइराला र म त रिसाएनौ । साथीहरू चाहिँ निक्कै रिसाए । आखिरीमा छतमा बसेर करीब चार घण्टाको यात्रा गर्नु पर्यो ।
बिजुलीका तारहरू, फराकिला फाँटहरूमा हरियो धान, टाउकोमा सामान बोकेर हिँडिरहेका मान्छेहरू, होचा र प्रायः काठ तथा बाँसले बनेका घरहरू मेरा लागि नयाँ थिए । मैले चाख मानेर हेरेँ ।
बिहान सकियो । मिर्चैया पुग्दा घाम एक जुवा आइसकेका थिए । हामी अर्को गाडीमा चढ्यौँ । सीट रहेछन् तीन वटा मात्र । अझै दुई जना उभिनु पर्यो । केही समयमै अरू दुई सीट खाली हुने आश्वासन थियो गाडीवालाको ।

पूर्व–पश्चिम राजमार्गमा गाडी बेतोडले हुईँकियो । अन्तिम सीटको झ्यातिर थिए कोइराला बूढा । अनि उनको छोरो । अनि म । अनि मेरो बायाँतिर नचिनेका मान्छेहरू । दुई जना साथीहरू एकछिन उभिएपछि अगाडीको सीटमा बसेका थिए । यस्तैमा कोइराला बूढालाई बान्ता भयो । लगातारको बान्ताले बूढा थलिए । नभए त अघिदेखि यो ठाउँ यो हो भन्दै चिनाउँदै थिए आफ्नो छोरोलाई । म पनि उनका कुरा सुन्दै थिएँ । क्या फसाद ! बूढालाई त निक्कै गाह्रो पो भयो । त्यस्तो बेलामा पनि गाडीले उफार्दा उनको छोरो भन्दै थियो, ‘ क्या मज्जा हुँदो रहेछ गाडीमा !’

म बेलाबेला साथीहरूलाई सोधिरहन्थेँ, ‘कति समय लाग्छ अझै काठमाण्डु पुग्न ?’ उनीहरू हाँस्थे र भन्थे, ‘किन हतार । बेलुका मात्र हो ।’

नदी किनारमा यस्सो गाडी कोल्टिँदा पल्टेला कि भन्ने डर लाग्थ्यो । त्यस्तै डर लाग्थ्यो रे मेरी दिदीलाई पनि । दिदी उहिल्यै काठमाण्डु जानु भएको थियो । फर्किएपछि भन्नुहुन्थ्यो, ‘मैले त भित्तातिर ठेलेँ गाडी !’ बुवाआमा हाँस्नुभएको थियो । त्यही सम्झेर मैले पनि आफ्नो सीट समातेर भित्तातिर धकेल्थेँ । नभन्दै गाडी पल्टिँदैनथ्यो । म आफैँदेखि खुसी हुन्थेँ ।
रोमाञ्चक यात्रा गरियो काठमाण्डुसम्म ।

बेलुका साँढे पाँच बजेतिर हामी कलंकीमा ओर्लियौँ । त्यति धेरै मान्छेहरू र गाडीहरू पहिलो पटक देखेँ मैले । मेरो हात समाएर मलाई साथीले बाटो कटाउनै लाग्दा मेरा आँखा सडकको पल्लो किनारमा हिँडिरहेकी केटीमा पर्यो । उसले घुँडासम्मको घाँगर लगाएकी थिई । र, दुईवटा गोरा पिँडौला हावाको लयमा थिए । यस्तो लाग्थ्यो— एउटी पुतली उडीरहिथी !

(लेखक घिमिरेको ‘प्रयोग’ कथा संग्रह प्रकाशित छ ।)