तनहुँ–१ मा अब को बन्ला सांसद ?

तनहुँ–१ मा अब को बन्ला सांसद ?

गोविन्द भट्टराई र दिपकराज जोशीबीच प्रतिस्पर्धा हुनसक्ने



काठमाडौं । कुनै तिलस्मी घटना भएन भने राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुने छन् । कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाट निर्वाचित भएका हुन् । यदि पौडेल राष्ट्रपतिमा निर्वाचित भए भने तनहुँ–१ मा उपनिर्वाचन हुने निश्चित छ । निर्वाचन आयोगले बैशाख १० मा सबै उपनिर्वाचन एकपटक गर्ने घोषणा गरिसकेको छ ।

तनहुँ–१ मा उपनिर्वाचन भए परिणाम के आउँला भन्ने विश्लेषण सुरु भएको छ । पछिल्लो समय स्वतन्त्र उम्मेदवारको हावाले तनहुँ पनि अछुतो छैन, यद्यपि कांग्रेस र एमालेकै संगठन बलियो ठानिन्छ । बलिया ठानिएका दलमा प्रतिशोध र जुँगाको लडाइँले तनहुँ–१ यसैपटक नयाँ शक्ति उदाउन सक्ने सम्भावनालाई ठाडै नकार्न सकिँदैन ।

मंसिर–४ मा सम्पन्न निर्वाचनमा कांग्रेस नेता पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत पाए । कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवार दिएका थिए, उनले ६ हजार ८ सय ८६ मत पाएका थिए । जोशी आफू जित्नेभन्दा पनि कांग्रेस उम्मेदवारलाई हराउन उम्मेदवार बनेको चर्चा त्यसबेला व्यापक भएको थियो ।

वरिष्ठ नेता पौडेलपछि तनहुँ–१ मा दुईजना सम्भावित उम्मेदवार थिए । गोविन्द भट्टराई र प्रदीप पौडेल वरिष्ठ नेता पौडेलका उत्तराधिकारी थिए । दुवै नेविसंघ हाँकेर अनुभवले खारिएका छन् । प्रदीप पौडेल काठमाडौं–५ मा भइसकेका छन् भने भट्टराई तनहुँमै छन् । गत निर्वाचनमा समानुपातिक तर्फ ४ नम्बर सूचीमा भट्टराईको नाम थियो । तर, समानुपातिकबाट सांसद नपाइने पक्का भएसंगै उनले सूचीबाट नाम हटाएका थिए । अहिले भट्टराई नै नेता पौडेलका निर्विकल्प उत्तराधिकारी हुन् । सम्भवतः कांगे्रसले तनहुँ–१ बाट भट्टराईलाई नै उम्मेदवार बनाउने छ ।

यता, एमालेको रणनीति भने बेग्लै छ । उसले कांग्रेसको सांसद संख्या बढ्न नदिने रणनीति अख्तियार गर्दैछ । अर्थात् आफ्नो उम्मेदवार नउठाइ कांग्रेसको उम्मेदवार हराउने रणनीतिमा लागेको बुझिएको छ । एमालेले गोविन्दराज जोशीका छोरा दिपकराज जोशीलाई समर्थन गर्ने तयारी गरेको छ । यसअघि स्थानीय निर्वाचनमा ब्यास नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका जोशी कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मतको अन्तरले पराजित भएका थिए ।

यदि एमालेले जोशीलाई समर्थन गरे कांगे्रस उम्मेदवार भट्टराईलाई चुनाव जित्न धेरै मेहनत गर्नुपर्ने देखिन्छ । तर भट्टराईको पक्षमा युवाहरुले गरेको आशा र पौडेलपछि यस क्षेत्रको नेताको उनलाई नै हेरिएको छ । पौडेलजस्तो टावर पर्सनालिटी नभएका भट्टराईले अर्को युवा उम्मेदवार जोशीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । स्थानीय तहको निर्वाचनलाई विश्लेषण गर्दा आठ दलीय गठबन्धनका उम्मेदवारसँग ३० हजारभन्दा बढी मत सुरक्षित छ भने एमालेसँग इन्ट्याक मत २१ हजारभन्दा बढी छैन । एमाले र गत निर्वाचनमा गोविन्दराज जोशीले पाएको ६ हजार ८ सय ८६ मत जोड्दा २७ हजारभन्दा बढी मत पुग्दैन ।

तनहुँ–१ को उपनिर्वाचनमा दुई युवा उम्मेदवारले प्रतिस्पर्धा गरे भने चुनाव रोमाञ्चक हुनेमा दुई मत छैन, यद्यपि विद्यार्थी राजनीतिको पृष्ठभूमि बोकेर खारिएका कांग्रेस उम्मेदवार भट्टराई र प्रतिशोधको राजनीतिमा उत्रेका जोशीबीचको लडाइमा कसको जीत हुन्छ, त्यो हेर्न बैशाख १० को उपनिर्वाचन पर्खिनै पर्ने हुन्छ ।