सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, कम मनाङमा

सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, कम मनाङमा

बागमती र मधेस प्रदेशको जनसङ्ख्या उस्तै



काठमाडौं । जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बीच अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५ सय ८७ रहेको छ । त्यस्तै सबैभन्दा कम भने मनाङ जिल्लाको जनसंख्या रहेको छ । मनाङ जिल्लामा ५,६५८ जनाको अक्सर बसोबास रहेको जनगणनामा उल्ल्खे छ ।

मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

त्सैगरी, नतिजाअनुसार बागमती र मधेस प्रदेशको जनसङ्ख्या उस्तै उस्तै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कमा थोरै मात्र फरक रहेको छ । विभागका अनुसार मधेस र बागमती प्रदेशमा २१ प्रतिशत (६१ लाख हाराहारी) जनसङ्ख्याको बसोबास रहेको छ ।

त्यस्तै सबैभन्दा कम बसोबास कर्णालीमा ६ प्रतिशत रहेको छ । त्यस्तै २५३ वटा नगरपालिकाको बसोबास बढेको छ । सहरी क्षेत्रको बसोबास झन्डै दुई तिहाइ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । विभागका अनुसार सहरी क्षेत्रमा मात्रै १ करोड ९२ लाखको बसोबास भएको तथ्याङ्क विभागको रेकर्ड छ ।

विगत १० वर्षमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा जनसङ्ख्या वृद्धि दरको परिवर्तन भएको छ ।

यो प्रदेशमा करिब १४ प्रतिशतले जनसङ्ख्या वृद्धि दर छ । त्यस्तै गण्डकी प्रदेशको सबैभन्दा कम वृद्धिदर छ । यहाँ २ दशमलव ६१ प्रतिशतको वृद्धिदर छ । उमेर समूहका आधारमा नेपालको जनसङ्ख्या १५ देखि १९ वर्षको उमेर समूहको धेरै रहेको छ ।