यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत

यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत

कसिलो मौद्रिक नीतिले राजस्व कम उठ्यो



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए ।

‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’

महतले राजस्व कम उठ्नुमा यसअघि राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिलाई दोष दिएका छन् । उनले अब मौद्रिक नीति खुकुलो बनाएर जानुपर्ने बताए ।

‘कोभिडका बेला सहज मौद्रिक नीतिमार्फत पुँजी प्रवाह भयो, त्यसले अरुखाले समस्या निम्त्यायो, रिजर्भ र मूल्यवृद्धि अथाह बढ्न थाल्छ भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिलाई टाइट गर्‍यो, राजस्वमा पनि प्रभाव पर्‍यो’ उनले भने ‘आर्थिक गतिविधि कम भएपछि राजस्व पनि कम हुन्छ ।’ मौद्रिक नीतिलाई खुकुलो बनाउनेवित्तिकै राजस्व बढ्न जाने उनको दाबी छ ।‘अब राष्ट्र बैंकले पनि मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, उद्योग व्यवसायका लागि लागत कम हुन्छ र बिजनेस चलायमान पार्छौं’ महतले भने ।

सरकारले लिएको ८ प्रतिशतकाे आर्थिक वृद्धिको लक्ष्य यो आर्थिक वर्ष हासिल हुन नसक्ने उनले स्वीकार गरेका छन् । ‘एकातर्फ सरकारको तर्फबाट पुँजी नै कम खर्च भइरहेको छ, अर्कोतिर मौद्रिक नीतिका कारण बैंकिङ क्षेत्रबाट पुँजी परिचालनमा पनि समस्या देखिएको छ’ महतले भने ‘मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ, मलाई विश्वास छ, राष्ट्र बैंकले चाँडै नै मौद्रिक नीति खुकुलो बनाउँछ ।’

अनावश्यक साधारण खर्च घटाउने लक्ष्यमा सरकार रहेको उनको भनाइ छ । आगामी बजेटमा प्राप्त स्रोतलाई प्रभावकारी परिचालन गर्न आफूले ध्यान दिने उनले बताए । ‘राजस्व, आन्तरिक ऋण, वाहृय ऋण तथा अनुदान जति प्राप्त गर्छौं, त्यसलाई प्रभावकारी र समयमै खर्च गर्न सक्यौं भने त्यसले अर्थतन्त्रमा पुँजी प्रवाह हुन्छ, उत्पादन र रोजगारी बढाउँछ’ उनले भने । त्यति मात्रै नभई ब्याजदर पनि घट्नुपर्ने उनको भनाइ छ । कतिपय सरकारी संयन्त्रमा ढिलासुस्ती हुने गरेको महतले स्वीकारे । कुनै व्यवसायिक घरानालाई फाइदा हुने र कुनैलाई नोक्सानी पुर्‍याउनेगरी आफूले काम नगर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

यसैबीच, राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ ।

गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि मंगलबारसम्म राष्ट्रिय सभामा छलफल भयाे । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाबारे अर्थमन्त्री डा. महतले जवाफ दिएका छन् । छलफलमा व्यक्त विचार र सुझावलाई एकीकृत गरी संघीय संसद सचिवालयमार्फत् अर्थमन्त्रालयमा पठाइने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभाको अर्काे बैठक आगामी ३ जेठ बुधबार साँझ ६ः३१ बजे बस्नेछ ।