तीन जनालाई ‘वानीरा पुरस्कार’

तीन जनालाई ‘वानीरा पुरस्कार’



काठमाडौं । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा‍‍.पुष्कर लोहनी, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठ यसै गरी कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत् अनिता तुलाधरलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

पुष्कर लोहनी र मदनदास श्रेष्ठलाई जनही एक लाख रुपियाँ, अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको समर्पण गर्ने निर्णय भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको ८१औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरु समर्पण हुनेछ ।

वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।