विश्वका सबैजसो महासागर प्रदूषित हुँदा समुद्री जीव र वनस्पति संकटमा

विश्वका सबैजसो महासागर प्रदूषित हुँदा समुद्री जीव र वनस्पति संकटमा



काठमाडौं । विश्वका सबैजसो महासागरहरू प्रदूषित हुँदा समुद्री जीव र वनस्पति संकटमा पर्न थालेका एक अध्ययनले जनाएको छ । पृथ्वीमा बढ्दो विषादीको प्रयोग, कार्बन उत्सर्जन र प्लास्टिकको प्रयोगले गर्दा समुद्रको पानीमा अम्लीयपन बढेको पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) को प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले समुद्रको जीवनलाई निरन्तरता दिने क्षमता कायम राख्न महत्त्वपूर्ण नौ वटा कारकको विवरण दिएको छ । यीमध्ये ६ वटा कारक मानवीय गतिविधिका कारण यसअघि नै असुरक्षित भइसकेका छन् । समुद्रको अम्लीयपनका कारण सातौं कारक पनि भंग हुन सक्ने रिपोर्टले चेतावनी दिएको छ

समुद्रमा प्रदूषण बढ्दै जाँदा प्राकृतिक प्रजातिहरूको हानि, प्राकृतिक वासस्थान र ताजा पानीमा क्षति लगायतका समस्या बढ्न थालेका छन् । समुद्रको पानीमा अम्लीयपन बढ्नुमा सबैभन्दा ठूलो भूमिका कार्बन उत्सर्जनको रहेको छ ।

तेल, कोइला र ग्यास जस्ता जीवाश्म इन्धनहरू जलाएर सिर्जना गरिएको वायु प्रदूषण वायुमण्डलसम्म पुगेको र वर्षा हुँदा त्यो प्रदूषण समुद्रमा मिसिने गरेको छ । यस्तै विभिन्न फोहोर सिधै पनि समुद्रमा पुग्ने गरेको छ ।

समुद्री जीव र वनस्पति बचाइराख्न पहिलो कदमका रूपमा अम्लीयपनमा कमी ल्याउनुपर्ने र त्यसका लागि कार्बन उत्सर्जन हुने गतिविधि घटाउन रिपोर्टले सुझाव दिएको छ ।