घुसकाण्डमा कारवाही भोगेका कर्मचारीलाई वन निर्देशनालयको जिम्मेवारी !

घुसकाण्डमा कारवाही भोगेका कर्मचारीलाई वन निर्देशनालयको जिम्मेवारी !


ग्लोब नेपाल
54
Shares

भैरहवा । भैरहवास्थित लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा १५ असारमा कर्मचारीबीच हातपात भएको घटना १५ दिनपछि सार्वजनिक भएको छ । 

निर्देशनालयका निमित्त निर्देशक र सोही तहका अधिकृतबीच धान दिवसका दिन हानहान भएको थियो । अनियमितताको आरोपमा कारबाहीमा परेका जिल्ला वन अधिकृत (डिएफओ) जीवन पंगेनी निर्देशनालयको निमित्त निर्देशक भएर आएपछि कार्यालयका कर्मचारीहरूले कसैलाई टेर्न छाडेका छन् । 

दुई साताअघि निर्देशनालयकै अर्का उप-सचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछि पंगेनी विवादमा तानिएका हुन् । चौधरीलाई हातपात गर्ने पंगेनीले उल्टो आफूलाई आक्रमण प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा उजुरी दिए।

उनको उजुरीपछि प्रहरीले दुवै जनालाई राखेर छलफल गराएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी आएपछि छलफल गराउने भन्दै जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले उनीहरूलाई बिदा गरेका थिए । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर दीपक कुँवरले भने ‘दुई हप्ताअघि उजुरी आएको हो, त्यसपछि दुवै जनालाई बोलाएर राखेर कुरा गरायौं, मिल्नु भएन। सिडीओसाब आएपछि छलफल गराउने समन्वय भएको हो । चौधरीजी बाहिर जानु भएको भन्ने जानकारी आएकोले छलफल हुन सकेको छैन् ।’

घटना विवरण अनुसार, पंगेनीले उप-सचिव चौधरीलाई कार्यालयको कामको सिलसिलामा अर्घाखाँची जान स्वीकृत दिएका थिए । स्वीकृतीपछि चौधरी अर्घाखाँची जान तयार भए । तर, अर्घाखाँची जान भनेर घरबाट निस्केका उनी कार्यालयमा जाँदा कार्यालयको गाडी देखेनन् । उनले चालकलाई त्यहींबाट फोन गरे । अनि चालकले पंगेनीलाई लिएर बुटवल गएको बताए । त्यसपछि चौधरीले कार्यालय प्रमुख पंंगेनीलाई टेलिफोन गरे । पंगेनीले ‘जान मन नभए नगए हुन्छ’ भन्दै ठाडो जवाफ फर्काए ।

पंंगेनी कार्यालयमा आएर चुक्कल लगाएर बसेका थिए । त्यही विषयमा कुरा गर्न कार्यालय प्रमुखको कार्यकक्षमा गएका चौधरीले चुक्कल लगाएको कोठा ढकढक्काए । अनि, त्यही विषयलाई पंगेनीले हातपात भएको वहाना बनाए । यसबारेमा पंगेनीसँग सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । उनको मोबाइल स्वीच अफ छ । कार्यालयका कर्मचारीहरूले उनी १ साउनसम्म बिदामा बसेको बताएका छन् ।

प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले उनीहरूबीच विवाद भएको र पंगेनी प्रहरी कहाँ गएर गल्ती गरेको बताए । ‘प्रहरी कहाँ गएपछि म कहाँ पनि निवेदन आएको थियो ,’ उनले भने । वन निर्देशक इन्द्रबहादुर पछाई २२ असारमा अवकाशमा जानुअघि दुई साताको बिदा बसेपछि पंगेनीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

रुकुम पूर्वमा डिभिजन वन अधिकृत समेत रहेका पंगेनीले नौ महिनाअघि यार्सागुम्बा संकलन गर्ने एक सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको अडियोसहित वन तथा वातावरण मन्त्रालयमा उजुरी परेपछि छानबिन भएको थियो । मन्त्रालय स्रोतका अनुसार उजुरीपछि भएको छानबिनले उनलाई दोषी ठहर गरेको थियो । छानबिनपछि साविकमा कार्यरत रूकुमबाट प्रदेश वन निर्देशनालय भैरहवामा राखिएको थियो ।

रूकुमको पुथा उत्तरगंगा गाउँपालिका-१ मैकोटकी रसिला बुढामगरलाई पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि नियमानुसार राजश्व तिरेर वन कार्यालयको पूर्जी लिन गएका बेला कार्यकक्षमा होहल्ला हुन्छ भन्दै निवासमा बोलाएर घुस मागेका थिए ।

लामो बार्गेनिङपछि राजस्व तिरेको बराबरको रकम राजस्व स्वरुप दिनु भनेर सेवाग्राहीसँग घुस मागेको अडियो त्यसबेला सार्वजनिक भएको थियो । उनले सेवाग्राहीसँग माथिका मन्त्री, सिडिओ, पत्रकार र फाँटका अन्यलाई पनि दिनुपर्ने भनेर सेवाग्राहीसँग पैसा मागेका थिए ।

कारवाहीस्वरूप रूकुम पूर्वबाट निर्देशनालयमा तानिएका पंगेनीलाई वन तथा वातावरण मन्त्रालयका सचिव कार्कीले निमित्त प्रदेश वन निर्देशकको जिम्मेवारी दिएपछि कार्यालयमा भाँडभैलो भएकाे हो । ‘त्यो व्यक्तिमा समस्या छ, सिनियर भएकाले निमित्त दिएको हो, अब सरूवा निस्कदा उपयुक्त पात्र पठाउनुपर्छ,’ सचिव कार्कीले भने ।

घुस काण्डमा कारबाहीमा परेका पंगेनीको एक वर्ष नपुग्दै महत्वपूर्ण जिम्मेवारी दिएपछि मन्त्रालयका अधिकृतहरू पनि असन्तुष्ट छन् । प्रदेश वन निर्देशनालयले प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयको कामको समन्वय, अनुगमन र निर्देशन दिनेगर्छ ।

पंगेनी निर्देशक भएपछि अहिले लुम्बिनी वन निर्देशनालयका कर्मचारीले एकले अर्कोलाई अटेर गर्न थालेका छन् । कर्मचारीले मनलाग्दी काज बनाउने र घर जाने गरेका छन् । निर्देशनालयकै सञ्जय तिवारी उप–सचिव प्राविधिक नवाैँ तहका अर्घाखाँची काज बनाएर चितवनस्थित निवास गएका छन् । केही दिनअघि पनि तिवारीले कार्यालयबाट काज बनाएर सरकारी सवारीसाधन लिएर निजी काममा गएको पाइएको छ ।

हालैमात्र सेवा निवृत्त भएका ईन्द्रबहादुर पछाई बिदा बसेपछि तिवारीले आफूलाई निमित्त बनाएर कार्यालयको सेवा सुविधा लिएका थिए । ‘हामीले बद्नाम प्रदेश भनेर प्रदेश नम्बर २ लाई भन्थ्यौं । तर, त्योभन्दा बढी अहिले लुम्बिनी प्रदेश वन निर्देशनालय भएको छ’, कार्यालयको अवस्था लथालिङ्ग देखेका एक कर्मचारीले भने ।

नौ महिनाअघि घुसकाण्डमा रूकुम पूर्वबाट प्रदेश वन निर्देशनालय तानिएका उप-सचिव जीवन पंगेनीले कार्यालय प्रमुखको जिम्मेवारी पाउने बित्तिकै सहकर्मीप्रति उदण्ड व्यवहार देखाउन थालेका छन् । त्यसको पहिलो शिकार भए, उप-सचिव प्रेमशंकर चौधरी ।