‘बसमा जाउँ’
‘हैन ट्रेनमा जाउँ’
‘हैन बसमा !’
‘उसो भए ट्याक्सी खोजौं !’
जाउँ र नजाउँको छलफलमा निकैबेर अलमलियौं हामी । बुनुलाई एसीदेखि वाक्क लागिसकेको थियो । उनको रोजाईमा एसी नभएको सवारी साधन थियो भने म भारतका ट्रेनको भीडले त्रसित थिएँ ।
निर्मलस्वामीज्यूको प्राथमिकतामा थियो छिटो पुग्ने साधन ।
अन्ततः एसी नहुने लोकल ट्रेनमैं जाने निधो भयो ।
हामी अंगमाली रेल्वे स्टेशनमा आइपुगेका छौं । कालडीबाट दश किलोमिटर जति होला यहाँसम्मको दुरी । टेम्पोमा हल्लिदै आइपुगेका हौं यहाँ । बिहानको चढ्दो घामलाई झेल्न असजिलो मानिरहेको छ जिउले । तैपनि कुन साधनमा चढेर जाने निधो नगरुञ्जेल छाया खोज्नु पनि भएन ।
हामीले सोचेभन्दा निकै कम रहेछ रेल्वे स्टेशनमा भीड । आधा घण्टाको पर्खाइपछि त्रिवेन्द्रम जाने ट्रेन पनि आइपुग्यो । सजिलै चढ्यौं । भित्र पनि होलो रहेछ । ढुक्क भयौं झ्यालपट्टिका सिट पाएर ।
अब यात्रा शुरु भयो दक्षिण दिशातर्फ । दाहिनेपट्टि अलि पर लमतन्न सुतेको छ अरब सागरको समुद्री किनार । नरिवलको जङ्गलले छेलिएर अहिले ओझेल परेको छ हाम्रा आँखाबाट । देब्रेपट्टि अलि पर केरलको पहाडी सृङ्खलाका रहरलाग्दा थुम्काहरु देखिए । त्यही समुद्री किनार र त्यही पहाडी लहरको बीचैबीचै हामी दक्षिण दिशातर्फ दुगुरिरहेका छौं । मुन्नारको पहाडबाट आउने शीतल हावा रेलको तीव्रगतिलाई चिरेर पनि भित्र पस्न खोजिरहेको छ । हिजो कालडीमा पनि त्यही शीतल हावासंग अँगालो हालेर केरलको गर्मीलाई भगाउने प्रयास गरेका थियौं हामीले ।
एकोहोरो दुगुरिरह्यो रेलको लीक । कतै मैदान, कतै अग्ला-होचा भुआकृतिहरु, कतै पहाड त कतै ठूलाठूला तालहरु देखिन्छन् वरपर । हाम्रो नेपालको तराईतिर कतैकतै देखिने नरिवलका बोटहरु यहाँ त चोकचोक, सडक वरपर जताततै उभिएका छन् । ठूल्ठूला खेतभरी केराको हरियो खेती पनि सर्वत्र लहलहाएको छ । केरललाई नरिवलको भूमि भनौं कि केराको देश? म अलमलमा परेँ ।
बाटो वरपर थुप्रै कलकारखाहरु देखिए । धुवाँ निकाल्दै गरेका चिम्नी, टुकुटुक गर्दै गरेका मील, काठ चिरान भैरहेका वर्कसप, टिन तथा जस्तापाताले घेरिएका ठूलाठूला गोदामघरहरु र ठूलाठूला फराकिला भवनका ताँती पनि देखिए । कतै बाक्लाबाक्ला बस्ती, कतै छरिएका घरहरु, कतै मन्दिर, कतै मस्जिद, कतै चर्चहरु देखिए ठाउँठाउँमा । मन्दिर, मस्जिद र चर्चको सङ्ख्या करिबकरिब उस्तैउस्तै छ । कसले बढी बनाउँछ भन्ने प्रतिष्पर्धा चलेको हो कि जस्तो । नयाँ शैलीका भवनहरुदेखि लिएर पुरानो ढाँचाका घर, विद्यालय र अस्पताल पनि देखिए जताततै । सडकहरुको जालो फिंजिएको छ परपरसम्म । गाडीको दुगुरादुगुर भैरहेको देखिन्छ । निकै व्यस्त छ जनजीवन ।
रहरलाग्दो छ सडक वरपरको वृक्षारोपण । सुरक्षित राखिएका छन् रुख, विरुवाहरु । शोभायमान छ बाटो वरपर देखिने वनजंगल र नदीनालाको दृश्य । मुसुक्क हाँसिरहेका छन् फाँट, खेत, गराहरु । पहाड, थुम्का र ढुङ्गे चट्टानहरुको आफ्नै सौन्दर्य छ । रेल्वे लिगको वरपर कतैकतै फोहोर नदेखिएको हैन तर सरसफाईको स्तर भारतका अरु प्रान्तको भन्दा राम्रै देखियो केरलमा ।
परपर फैलिएका फाँटहरुले तानीरहेका छन् आँखा । आँखासंगै त्यही नै टाँसिउँलाझैं गरी दौडेर पुगिदिन्छ मन पनि । अझ परपर देखिने होचाहोचा पहाडपट्टि आँखा लगाउँछु । पहाडको उँचाई नाप्दा त हामी नेपालीनै अग्ला हौं तर भूमिलाई सजाउने र प्राकृतिक सम्पदालाई जोगाउने कुरामा भने यिनीहरु सिपालु रहेछन् । स्वामीज्यू मोबाइलमैं व्यस्त हुनुहुन्छ । बुनु उङ्न लागेकी छन् । प्रकृतिको यस विहंगम दृश्यावलीलाई एक्लै सजाउँछु म आँखामा । ट्रेन तीव्र गतिमा कुदिरहेको छ । क्षणक्षणमैं बदलिइरहन्छन् दृश्यहरु तर पोखिएको छ जताततै उस्तै माधुर्य, उस्तै सौन्दर्य ।
यो ठाउँको नाम केरल हो या केरला ? मैले राम्ररी ठम्याउन सकेको छैन अझैं । कसैले केरल भनेझैं लाग्छ कसैले केरला भनेजस्तो लाग्छ ।
‘यहाँका मान्छे केरलम् भन्छन्, अंग्रेजहरु केरला भन्थे, उत्तर भारतीयहरु भने केरल भन्छन्’ छेउमा बसेका एक जना यात्रुले नामको व्याख्या गरिदिए । हिन्दी बोल्ने मान्छे भेटिएका छन् बल्ल । सि.लक्ष्मणन् रहेछ यीनको नाम । औषधीको बजार विस्तारमा आवद्ध रहेछन् । यी भेटिएपछि धेरै कुरा सोध्न लागेँ म । नेपालबाट आएको भनेपछि उनले आश्चर्यचकित जस्तो भएर निकैबेर हेरिरहे हामीलाई ।
‘नेपाल दुनियाँ का अकेला हिन्दु राष्ट्र है, हम नेपाल को बहुत सम्मान करते हैं’ मनको प्रेमभाव पोखिहाले उनले ।
‘नेपालमा बुद्धिष्ट, मुस्लिम र ईसाईहरु पनि छन्’ भन्दा उनी झन् आश्चर्यमा परे । निकै बेर उनले नेपालको संस्कृति र परम्पराको बारेमा अनेक कुरा सोधिरहे । ‘जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्न जाने सपना छ’ उनले यसो भनिरहँदा हामी पनि खुसी भयौं ।
कोट्टयम भन्ने स्टेशनमा ओर्लिए उनी ।
‘चलिए हमारे घर’ छुट्टिने बेलामा पनि उनले आत्मियता पोख्न बिर्सेनन् । ‘नान्दी, नान्दी भनिरहेँ म’ धन्यवादलाई नान्दी भन्दा रहेछन् मलयालम् भाषामा । मैले थाहा पाइसकेको छु ।
यहाँ विद्यार्थीहरुको ठूलै हुल चढ्यो हाम्रो क्याबिनमा । गड्याङ्गुडुङ मकै भुटे जसरी केके केके बोलीरहे निकै बेर । केही बुझेनौं हामीले । उनीहरुको हल्ला चल्दै थियो । मेरो मोबाइलमा घण्टी बज्यो ।
‘त्रिवेन्द्रम गएपछि वेलीविचको शंख हेरिहाल्नु होला’ उतापट्टि असमबाट मित्र मदन थापा बोल्दै हुनुहुन्छ ।
‘हस ! हस ! समुद्रका किनारा कुनै पनि हेर्न छोड्ने होइन यति टाढा आइसकेपछि’ दिएँ उत्तर मैले पनि ।
विद्यार्थीहरु सुन्न लागे म बोलेको । म बोलिरहुन्जेल अनौंठो मानेर हेरिरहे । नबुझिने भाषा कसैले बोलेपछि कुतुहलता र अलमल हुनु स्वाभाविकै हो ।
फोनको कुरा टुङ्गिएपछि छेउको केटाले सोध्यो मलाई-‘ह्वीच ल्याङ्वेज इज दिस ?’
‘नेपाली’ जवाफ निस्कियो मेरो मुखबाट ।
दोहोरो सोधपुध र परिचयपछि हुन थाल्यो गफगाफ । उनीहरुको होहल्ला रोकियो । कोट्टयमको मेडिकल कलेजका विद्यार्थी रहेछन् उनीहरु । पच्चीस, तीस किलोमिटर परपरका ठाउँदेखि दिनदिनै ट्रेन चढेर यहाँ पढ्न आउँदा रहेछन् ।
नेपालबारे उनीहरुमा पनि प्रशस्त जिज्ञासा रहेछ । टुटेफुटकोे अंग्रेजीमा उत्तर दिइरहेँ मैले । हिन्दु राष्ट्र, सीताको जन्मभूमि, अग्लाअग्ला हिमाल र राजदवारको हत्याकाण्डबारे केही न केही सुनेका रहेछन् ती विद्यार्थीहरुले । बुद्ध भारतमा जन्मेका हुन् र माओबादी आन्दोलन चिनको सहायतामा भएको हो भन्ने भ्रम रहेछ उनीहरुमा । त्यही सेरोफेरोमा धेरै कुरा सोधे । उनीहरुलाई लाग्दो रहेछ नेपालका सबै मान्छे चौबिसै घण्टा पूजापाठ गर्ने ब्राहमणजस्तै होलान् । नेपालमा पशुहत्या हुँदैन होला । नेपाली जति सबै शाकाहारी होलान् । नेपालमा संस्कृत भाषा चल्दो होला, आदिआदि । उनीहरुको मनमा बसेको यो सात्विक छवि गलत हो भनेर मैले भन्ने कुरा पनि थिएन । यिनीहरु मध्ये कोही भोलि नेपाल आएर यहाँको वास्तविक अवस्था देख्यो भने ऊ कति निरास होला भनेर म भित्रभित्र आहत भने भैरहेँ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् र माओबादीहरु भारतको सहयोगले लडेका हुन् भनेर उनीहरुलाई चित्त बुझाउन भने गुगल सर्च गरेरै नै देखाउनु प¥यो मैले । देशको गरिमा बढाउने यो सानो अवसर प्राप्त भएको हो भनेर मैले पनि सोधेका प्रश्नको उत्तर दिइरहेँ ।
बाटोमा अनेक ठाउँ आए गए । कोट्टयम र कोल्लम भन्दाबाहेक मलयालम भाषाका अफ्ठ्यारा नामहरु मेरो सम्झनामा बसेनन् । दुई सय तीस किलोमिटर जति कुदेपछि ५ धन्टाको रेलयात्रा टुङ्गियो हाम्रो । त्रिवेन्द्रमको थाम्पनुर स्टेशनमा ओर्लन त ओर्लियौं तर बाहिर निस्किने बाटो पहिल्याउन भने केही बेर अलमल भयो । बाहिर निस्किदा हाम्रो स्वागतार्थ उभिनु भएको थियो के.विजयराजन । ‘नमस्कारम्’ गर्नु भो केरलको शैलीमा अभिवादन । हामीले नेपाली शैलीमा फर्कायौं ‘नमस्कार’ । स्नेहको रङ एकापसमा मिसिएर बन्यो आत्मियताको अर्को रङ । कालो मुठेजुङा पल्तिरबाट सेता दाँतहरुको सुन्दर मुस्कान पोखिंदै रह्यो ।
विजयराजनजी भारतको केन्द्रीय सरकारका कर्मचारी भएकोले भारतका ठाउँठाउँ चहार्नु भएको रहेछ । प्रष्टसंग हिन्दी पनि बोल्ने भएकोले हामीलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । उहाँलाई भेटेपछि केरलमा भाषाको कारणले एक्लिनु परेको नियास्रो हरायो । उहाँकै गाडीमा पुरै शहर घुम्यौं । यो फलानो, त्यो फलानो भनेर धेरै ठाउँ देखाइदिनु भो । त्रिवेन्द्रमका अधिकांश ठाउँको नाम भने मस्तिष्कले टिप्नै सकेन । विधान भवन, राजभवन र उच्च न्यानालय हेर्यौ । षडमुखम् विच र कोवलम् विच पुग्यौं । कनकक्कुन्नु दरवार टेक्यौं । कहीं हामीलाई पैसा तिर्न दिनु भएन उहाँले । त्रिवेन्द्रमको होटल चार्ज पनि तिर्न पाएनौं हामीले । नागरकोविल जाने रेलको टिकेट पनि कतिखेर हो काटेर हातैमा आइपुग्यो । यो उत्तरदायित्व निर्मलस्वामीज्यू प्रतिको उहाँको श्रद्धा हो तर त्यस श्रद्धाको बोझमा थिचिनु परेको छ हामीलाई पनि । खै कहिले पो कसरी तिर्ने होला उहाँको यो गुन ? त्यो आतिथ्यताको ऋण कसरी चुकाउने होला ?
त्रिवेन्द्रम आधुनिक विकास र परम्परागत संस्कृति मिसिएको शहर हो । १० लाख जनसङ्ख्या भएको यो शहरलाई अंग्रेजीमा त्रिवेन्द्रम भनिए पनि मलयालम् भाषामा भने तिरुअनन्तपुरम् भन्दछन् । यो उहिले ट्राभनकोर राज्यको राजधानी थियो भने हाल केरल प्रान्तको राजधानी छ । समुद्र किनाराको समतल भूभाग, ससाना पहाड र थुम्काहरुको वरिपरि सुतेको छ यो विशाल शहर।
कतै घुचमुच्च घर । कतै फराकिला भवन, बगैंचा । कतै पुराना शैलीका झिंगटीवाला घर, कतै टनाटन भरिएका छन् अग्लाअग्ला अट्टालिका । फिंजिएका छन् कतै साँगुरा गल्ली, कतै चाक्ला सडक । चित्र विचित्र छ त्रिवेन्द्रम शहर । कतैकतै आक्कलझुक्कल गाडी कुँदेको देखिन्छन् खुलासडकमा । कतै गाडी नै गाडी, टेम्पो र रिक्साको ठेलमठेल छ । विद्यार्थीका हुल, दुगुरादुगुर गर्दै गरेका मान्छे छन् जताततै । कतै एकान्त हरितिमा बस्ती, कतै कोलाहल र चिच्याहट । तर सर्वत्र एउटै भाषा, एउटै भेष, एउटै पहिरन र एउटै खानपिन देखिन्छ केरलमा ।
एउटै चालढाल, उस्तै आकृति, सेतो हाफ सर्ट, सेतो धोती, खुट्टामा चप्पल र सबैका निधारमा सेतो टीका । महिलाहरु भने सबै सारीमैं देखिए । न कुनै सृङ्गार न कुनै फेसन । पहिरन र आकृति हेरेर को गरिब ? को धनी ? को गाउँले ? को शहररिया ? को हिन्दू ? को मुस्लिम ? को कृस्तानी ? केही चिनिन्न यहाँ । गरगहना र आधुनिक फेशनमा सजिएका महिलाहरु कतै देखिएनन् । न त सुटबुटमा सजिएका मान्छेनै देखिए ।
कारण जान्न विजयराजनसामु जिज्ञासा राखिहालें ।
‘त्यस्तो त फिलिममा मात्रै देखिन्छ यहाँ हाहाहा’ आयो सहज किसिमको उत्तर ।
‘हो त नि हामी मात्रै हौं त फिलीमको कुरालाई साँच्चै ठानेर आफ्नो जीवनमा लागु गरिहाल्ने’ मुखले उच्चारण नगरे पनि मेरो मनभित्र उर्लिरह्यो यही भाव । बुनुको दृष्टि केरलको भूमि टेकेदेखि नै यहाँका महिलाहरुमाथि परेको छ । उनलाई निकै तानेको छ यहाँका महिलाहरुले हाउभाउ र चालचालले । कुनै पनि महिलाले लिपिस्टिक र गाजल लगाएको नदेखेपछि आज बिहानैदेखि उनी पनि श्रृङ्गारका प्रसाधनदेखि टाढै छिन् । उसो त उनी पनि खासै श्रृङ्गार गर्ने मान्छे त हैनन् तर केरलमा देखिएको श्रृङ्गारबिहीन नारी सौन्दर्यले उनलाई श्रृङ्गारबाट झन् टाढा पुर्याएकोछ ।
‘भारतको सबैभन्दा बढी साक्षारतदर भएको प्रान्त हो नि यो’ सम्झिएँ कतै पढेको तथ्य । तर हाम्रो देशमा जतिजति साक्षारतादर बढ्दै छ उतीउती मान्छे अस्तव्यस्त हुँदैछन् । सरसफाईको चेतना साक्षारता र पढाई भन्दा पनि संस्कारसंग जोडिएको विषय हो सायद । यही भन्दै छ मेरो मन मैसंग । साच्चै अनौंठो सादगीपनले जितेको छ केरललाई ।
आधुनिक भएर पनि आधुनिक जस्तो छैन यो ठाउँ । परम्परागत भएर पनि पिछडिएको जस्तो देखिन्न यहाँको जनजीवन । आफ्नो पन र मौलिकता जोगाएर पनि आधुनिकताको बाटोमा हिड्दै हाँसिरहेको छ त्रिवेन्द्रम । भारतीय संसदको लागि यो शहरले भने सबैभन्दा फेशनेवुल राजनितीज्ञ मानिने शशी थरुरलाई तीन पटक लगातार चुनेर पठाइसकेको छ ।
त्रिवेन्द्रमका चिल्ला सडकमाथि कुद्यौं, कुदिरह्यौं । मन पग्लिदै बाटोभरी मनको कुतुहलतासंगै बगिरह्यौं ।
ठेलामा नरिवल सजाएर बेचेको देखियो धेरै ठाउँमा । ‘चाख्न पाए हुन्थ्यो नि ?’ भनेको भनेइछिन् बुनु । महानगरमा जहाँनिर पायो त्यहीनिर गाडी रोक्न पनि नमिल्ने । हामी दुगुरादुगुरमा छौं । केही हेर्न छुटिहाल्छ कि जस्तो छ हतार । मंगलापुरमको चोकमा देखिए नरिवलै, नरिवलका पसलहरु । ‘चाख्न पाए हुन्थ्यो नि ?’ फेरि छचल्किहाल्यो बुनुको रहर ।
‘अब त नरोकी भएन’ गाडी रोकेर पियौं सबैले नरिवलको रस । कुनै दरिलो कुरा खाएजस्तो टन्न भरिदों रहेछ पेट । तृप्तीको रङ फिंजियो बुनुको अनुहारभरी । नरिवलको स्वाद त थियो नै बुनुको तृप्ती देखेर झन् तृप्त भएँ म पनि ।
घाम डुब्न लाग्दै गर्दा अचानक पानी पर्न लाग्यो । केरलमा यसरी मौसम बदलिरहनु नौलो कुरो होइन रहेछ । दिउँसोको गर्मी एकाएक चिसोमा बदलियो । ‘अब चलते हैं पद्मनाभ स्वामी मन्दिर’ गाडी घुमाउनु भो विजयराजनले पाझावाङगडीतर्फ ।
टाढैबाट देखियो पद्नाभनस्वामी मन्दिर । पीताम्बरी रङ्मा विजुलीको प्रकाश मिसिएर चहकिएको छ मन्दिरको उत्तुङग गोपुर ।
मन्दिरमा प्रवेश गर्नेहरुको लागि धेरै नियम तोकिएका रहेछन् । फूलप्रसादी बाहेक मन्दिरभित्र केही लग्न नपाइने रहेछ । क्यामेरा र मोबाइलजस्ता उपकरणहरु पनि भित्र लान पूर्णतः निषेध रहेछ । पुरुषले माथिल्लो शरिर नाङ्गै राखेर तलतिर धोती बेर्नु पर्ने रहेछ । महिलाको लागि सारी र चोलो अनिवार्य रहेछ । यी सबै नियम पालन गरेर शुद्धिकर्मपछि भित्र पस्यौं हामी ।
छपक्क भिजेको छ मन्दिरको अग्रभागको सिंढी पानीले । सिंढीभरि अनेक प्रकारका सुरक्षा प्रबन्ध पार गरेर प्रवेश गर्यौँ मूलद्वारमा ।
अघि निकै परबाट देखिने अग्लो आकृति त मन्दिरको शिखर नभएर द्वारको शिखर पो रहेछ । जसलाई गोपुर भनिदोरहेछ । दक्षिण भारतमा प्रचलित द्रविड बास्तुकलामा मन्दिरको मुख्य भवनभन्दा बाहिरको द्वारको शिखर निकै कलात्मक बनाउने चलन छ । द्रविड बास्तुकलाको अनुपम धरोहर नै हो यो मन्दिर पनि ।
मूलढोकाबाट भित्र पसेपछि बायाँ मोडियौं र बरण्डामा हिड्न थाल्यौं । बरण्डा फराकिलो, अग्लो र निकै लामो छ । बरण्डाको भुइँमा ताछिएका ठूलाठूला ढुङ्गा ओछ्याइएका छन् । दुबैतिर ठूलाठूला ढुङ्गाकै खम्बा ठडिएका छन् । कसरी कहाँबाट ल्याएर यहाँ ठड्याइयो होला यत्रा ढङ्गाहरु? आश्चर्यमा परेर हेरिरहेका छौं हामी । बरण्डाको माथिल्लो भागमा खम्बामाथि टेको लगाएर राखिएका छन् ठूलाठूला ढुङ्गा । काठभन्दा पनि मिहिन पाराले काटेर ताछिएका यी विशाल प्रस्तरहरु फल्याकजस्तै मिलाएर राखिएका छन् । खम्बासंगै अनेक जीवजन्तुका मुर्ती पनि कुँदिएका देखिए ।
कोही हात्तीका छन् कोही घोडाका छन् यी मूर्ती । अनेक प्रकारका चराचुरुङ्गीका चित्र र मानवाकृतिहरु पनि छन् भित्तैभरी । देवदेवीले राक्षससंग युद्ध गर्दै गरेका झलक, भगवानका लीलामञ्चल भएका चित्रहरु, फूल, माला, दियो सबै ढुङ्गामा कुँदिएका छन् । यहाँ जे छन् सबै ढुङ्गाद्वारा निर्मित छन् । ढुङ्गाभन्दा अरु प्रयोग भएको देखिएन यहाँको सजावटमा । मूर्तीहरु पनि यसरी बनेका छन् कि हरेकको कलात्मकतालाई हेर्दा आँखा अन्त जानै मान्दैनन् । कति वर्ष लाग्यो होला यी बनाउन? कुन कलाकारले बनायो होला? यति मिहिन कला पोखिएको ठाउँ कसको मन र मस्तिष्कको परिकल्पना होला? कुतुहलतासंगै अनेकौं प्रश्न मडारिन थाले मनभित्र । जतिजति भित्र पस्यो उतिउति विविध संरचनाहरुले कुतुहलता थप्न लागे । यो मन्दिर हो या दरवार हो? छक्क परिरहेँ म ।
बरण्डाभरीका मुर्तीहरु ढोग्दै हिंड्यौं । हेरेर साद्धे नै थिएन ती सबै मुर्तीहरुलाई नजिकबाट । सबैलाई नियालेर एकएक गरि हेर्यो भने कति समय लाग्ला ? जुन हेर्यो त्यसैमा हराइरहेका छन् आँखा । जहाँनिर उभियो त्यहीनिर टक्क अडिन्छ मन । कति सघन, कति गहिरो गरि भरिएका हुन् यी मुर्तीमा बुट्टाहरु !
नाङ्गाभुतुङ्गा मान्छेहरु बरण्डाका ठाउँठाउँमा बसेर ध्यान गरिरहेका छन् । कोही मन्त्रोच्चारण गरिरहेका छन् । प्रायः सबैले खरानी घसेका छन् निधारैभरी, पाखुरैभरी । रुद्राक्षका माला लगाएका छन् सबैले । आफैलाई बिर्सेर भक्तिमा लीन छन् सबै । यो हुलमा ममात्रै छु कि क्या हो चञ्चल ? म वरपरका मुर्तीहरु हेर्नपट्टि लाग्दा बुनु अलि अगाडि पुगिहाल्छिन् । उनको ध्यान कलाभन्दा भक्तिमा छ । म भक्तिसंगै कलाको आस्वादन पनि गर्न चाहन्छु । समय कम छ तर, यो मन्दिरका यी विशाल सुरुङजस्ता वरण्डामा हेर्नु पर्ने कुरा भने अथाह छन् ।
हामी हिडीरहेको ठूलो बरण्डा अलि पर गएपछि दायाँतर्फ मोडियो । अनि भगवानको मूर्ती भएको गर्भगृहमा पस्यो । त्यहाँबाट बाहिर आउँदा त्यत्तिनै लामो बरण्डा फेरि पार गर्नु पर्यो । हामी हिंडेको चर्तुभूज आकारको बरण्डा बाहिरपट्टि पनि यस्तै अर्को पनि छ रे । ‘एकसय आठ ओटा ढुङ्गे खम्बामाथि ठडिएको छ रे यो मन्दिरको ढुङ्गे छत’ छेवैमा हिडिरहेका मान्छे हिन्दीमा कुरा गर्दैछन् । मैले भने खम्बा गन्न भ्याइनँ ।
मन्दिरको मूल गर्भगृहको सम्पूर्ण बनावट सुनको छ । सुनका भित्ता, सुनका बुट्टा, सुनकै दियो अनि सुनकै मुर्ती । गर्भगृहका प्रत्येक बस्तुहरुमा स्वर्ण जलप लगाइएको छ । भगवान श्रीहरिविष्णु शेषनागमाथि पल्टिएर उहाँको नाभीमा कमलको फूल उम्रिएको अवस्थालाई विष्णुको पद्मनाभ स्वरुप भनिन्छ । त्यही शयनमुद्राको भगवान विष्णुको विग्रह प्रतिष्थापित छ गर्भगृहमा । यो मन्दिर भगवान विष्णुमा समर्पित गरेर ट्रावनकोरका राजा मार्तण्ड बर्मनले सत्रौं शताब्दीमा बनाएका हुन् रे । यसलाई श्रीअनन्त पद्मनाभ स्वामीनारायण मन्दिर भनिन्छ । ‘यही मन्दिरको नामबाट यस शहरको नाम पनि श्रीअनन्तपुर राखिएर मलयालम भाषामा तिरुअनन्तपुरम् भएको हो’ के. विजयराजन लगाउँदै हुनुहुन्छ बेलीबिस्तार ।
‘गर्भगृहको ठीक मुन्तिर एउटा ठूलो भण्डार छ । सात ओटा ढोका छन् त्यहाँ पस्नलाई । छ ओटा ढोका खोलेर त्यो भण्डारमा रहेका प्राचीन गरगहनाहरुलाई पोहोर साल सूचिबद्ध गर्दा खरबौं मुल्य पुगेको थियो’ विजयराजन बडो रसिलो भएर सुनाउनुहुन्छ।
‘सातौं ढोका खोल्दा पाखेरीको पानी मन्दिरभित्र पसेर डुब्ने अवस्था भएकोले त्यो खोल्न सकेनन्’ । आफ्नो शहरको पावन मन्दिरका विशेषता हामीलाई सुनाउँदा उहाँ पनि गर्वित हुनु भएको छ । ‘यो मन्दिरभित्र राखिएका बारह हजार आठ ओटा शालिग्रामहरु नेपालको गण्डकी नदीबाट ल्याइएका हुन् रे’ निर्मलस्वामीज्यू यस मन्दिरसंग जोडिएको नेपालको पुरानो साइनोका पाना पल्टाउन थाल्नु भयो । विश्वका सबैभन्दा धनी मन्दिरहरु मध्ये यो पनि एक हो भनेर मैले पनि कतै पढेको थिएँ ।
मन्दिरको पछाडिपट्टि वालुवामा हिडियो एकछिन् । फेरि पोखरीको छेवैछेउ नरिवलका बोटको मुनीमुनी हिड्यौं केही बेर ।
‘एकछिन बसौं न’ बुनुको स्वर गुञ्जियो आडैमा । उनका आँखामा हेरेँ त्यहाँ थकाईभन्दा पनि यहाँको पवित्र भुइँमा बसेर यो मन्दिरको कलालाई धीतमरुन्जेल हेर्ने चाहना छल्कियो । ‘मन्दिरमा दर्शन गर्न गएपछि एकछिन त्यहाँ बसी हाल्नु पर्छ, उनी जहाँजहाँ गयो प्रायः भनि रहन्छिन् । बरण्डाको एउटा छेउमा थचक्क बस्यौं दुवैजना ।
मन्दिरभित्र मान्छेको निकै कल्याङमल्याङ छ । शंख, घण्ट र मन्त्रोच्चारणको ध्वनि पनि गुञ्जायमान छ । स्वयंसेवकहरुले हामीलाई त्यहाँ धेरै बेर बस्न दिएनन् । बरण्डैबरण्डाको लामो फन्को मारेर फेरि मुख्यद्वारको देव्रेपट्टिको निकासबाट बाहिरियौं ।
रात छिप्पिन लागिसकेको छ । के.विजयराजन हामीलाई छिटोछिटो दुगुराउन थाल्नु भो आफ्नो घरतर्फ । त्रिवेन्द्रम शहरको कुरवनकोणम् भन्ने कोलोनीमा रहेछ उहाँको घर । ‘नमस्कारम्’ शैलजा म्यामको मुस्कान छरियो आँगनैभरि ।
साथमा दुई ओटा छोरा पनि छन् जिलिन र मिलन । सानो चिटिक्क परेको घर । साँगुरो ठाउँको साँगुरो घरलाई कुनै पनि कुरा खेर जान नदिएर व्यवस्थित पारिएको छ । आँगनैभरी फूलका गमला, घरका भित्ताभरी संतमुनीमा चित्र, बेत तथा बाँसले बनेका कलाकृतिले भरिएको छ घर । निर्मलस्वामीज्यू प्रति उहाँहरुमा अनुपम श्रद्धा छ । त्यही अनुरुपको सत्कार पनि पोखिरहनु भएको छ दुबै दम्पत्ती । त्यो सत्कार बुनु र मपट्टि पनि पोखिएको छ कुनै पक्षपात नगरीकन । हामी दुई जना भित्रभित्र संकोचले डल्लो परेका छौं ।
हाम्रोलागि रात्री भोजन यहीं बनेको छ आज । ठूलो टेबिलभरि पस्किनु भो शैलजाम्यामले अनेक परिकारहरु । सबै परिकारको नाम र स्वाद हाम्रोलागि नितान्त नयाँ छन् । हम्मेहम्मे परिरहेको छ यतिका परिकारहरु खाएर सक्न । शैलजा र विजयराजन ‘लिटिल लिटिल’ भनेर थपेकोथपेई हुनुहुन्छ । रोटीजस्तो लाग्ने चापाती खायौं अलिअलि, अरु परिकारलाई भने त्यति रुचाउन सकेन हाम्रो जिब्रोले । शैलजा म्यामले बडो श्रद्धाले बनाउनु भएको हो यी परिकारहरु । उहाँको अनुहारबाट खुसी र स्नेह पनि सत्कारको उपल्लो चरणमा पुगेर छचल्किरहेको छ । म भने द्विविधामा परेको छु । यी प्रेममय परिकारलाई नखाएर त्यत्तिकै छोड्न पनि सकिरहेको छैन । गन्ध र स्वाद प्रितिकर नभएका परिकारहरु खान पनि सकिरहेको छैन । शैलजा म्यामको श्रद्धाको अवमूल्यन भएको नदेखियोस् हे प्रभू ! मनमनमा पुकारीरहेको छु उनै भगवान पद्मनाभलाई ।
थाकीसकेको छ जिउ । ‘अब सुत्न पाए हुन्थ्यो’ निंद्राले आँखाको छेउमा आएर संकेत गर्न लागिसक्यो । जिलिन र मिलन सोद्धै छन् हामीलाई नेपालबारे अनेक कुरा । हामी पनि सोघेकोसोधेइ छौं केरलको संस्कृति र प्रकृतिका अनेक पाटाहरु ।
आफ्नो घरमा सुताउने ठाउँ नभएकोले निकै असजिलो मान्नु भो हामीलाई यति राती बिदा दिन उहाँहरुले । बुनु र शैलजाम्यामको बीचमा भाषा तगारो भएर उभिएको छ तर दुबै जनाको बीचमा आँखा र भावबाट वार्ता भैरहेको छ । भाषाले साथ नदिए पनि भावले पोख्ने स्नेह भन् मीठो हुँदोरहेछ । छुट्टिने बेलामा बुनुको हात समातेर बाहिरसम्म आउनु भो उहाँ । फेरि विजयराजनजीकै गाडीमा हामी जाने भयौं होटेलतर्फ ।
‘नमस्कारम्’ फेरि पोख्नु भो शैलजाम्यामले लजालु मुस्कान ।
‘नान्दी, नान्दी’ निस्किरह्यो हाम्रो मुखबाट पनि ।
प्रतिक्रिया