संसद विघटन गर्वको विषय होइन : प्रधानमन्त्री

संसद विघटन गर्वको विषय होइन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको बताए ।

‘सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन,’ प्रचण्डले भने,‘तर संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भनेपछि तत्कालीन गठबन्धनमा अविश्वासको वातावरण सिर्जना भयो।’

गठबन्धन बनाउँदा एमाले र राप्रपाले स्थायित्वको नारा अघि सारे पनि उनीहरू त्यसबाट पछि हटेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘उहाँहरूले स्थायित्व भन्नुभएको थियो तर पछि किन समर्थन फिर्ता लिनुभयो मलाई थाहा छैन,’ प्रचण्डले भने,‘त्यो कुरा उहाँहरूलाई नै थाहा होला । तर अहिलेसम्म उहाँहरूले सरकारको यो निर्णय गलत भएकाले समर्थन फिर्ता लिएका हौं भन्न सक्नुभएको छैन । त्यसमा मलाई खुसी छ ।’