प्रधानमन्त्री दाहालको गन्तब्य र ओलीका योजना

प्रधानमन्त्री दाहालको गन्तब्य र ओलीका योजना



आम निर्वाचनको परिणामले लोकतान्त्रिक वाम गठबन्धनलाई सामान्य बहुमत दिएर सरकार सञ्चालनको जनादेश दिएपनि राजनीति उल्टो दिशातर्फ मोडिएको छ । सतहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को धोका र कांग्रेस सभापति शेरबहादुर देउवाको फेरि आफै प्रधानमन्त्री बन्ने आकांक्षा वर्तमान राजनीतिक परिस्थितिको कारक देखिएपनि समग्रमा संघीय लोकतान्त्रिक गणतन्त्र, यसका उपलब्धि तथा संविधान समाप्त पार्ने ग्राण्ड डिजाइन अन्तर्गत नै आजको परिस्थिति सिर्जना गरिएको पाइन्छ ।

नेपालको इतिहास साक्षी छ राणाशासनको पतन राणाहरुकै कारण, पंचायतको समाप्ति पंचहरुकै कारण तथा राजसंस्थाको अन्त्य राजाहरुकै कारण भएको हो । के गणतन्त्रका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यसका उपलब्धिहरुलाई समाप्त गर्ने सुनियोजित षडयन्त्र त हुदै छैन ? नत्र चुनाव अघि नै गठबन्धन निर्माण गरेर प्राप्त जनादेश विपरितको राजनीति किन अघि बढ्दैछ त ? प्रश्नहरु अनुत्तरित नै छन् । अझै सत्ता सहकार्य गरेका शक्तिहरुको पृष्ठभूमि विश्लेषण गर्ने हो भने त अवस्था झनै विकराल देखिन्छ । जनादेश प्राप्त गर्न जादा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले प्रतिगामी करार गरेका नेकपा एमालेका अध्यक्ष ओलीको त कुरै छोडौ राजा फर्काउछौ भन्ने राप्रपा, संघीयता खारेज हुनुपर्छ भन्ने रास्वपासँग सामान्य राजनीतिक एजेण्डामा सहमतिको प्रारुप समेत तय नगरि थालिएको सत्तायात्राको गन्तब्य के त ?

एमाले अध्यक्ष केपी ओलीले दाहाललाई आत्मिय ठानेर वा परिवर्तनलाई संस्थागत गर्नसक्ने आँट भएको नेता हो भनेर प्रधानमन्त्री बनाएका वा स्विकार गरेका पक्कै होइनन् । राजनीतिक बदला लिन र आफुलाई प्रतिगामी करार गर्ने गठबन्धन भत्काउन ‘उपयोग गरः असफल बनाउ’ भन्ने नीति अन्तर्गत नै ओलीले दाहाललाई प्रधानमन्त्री बनाएका हुन् । 

सत्ता नै अन्तिम सत्य हो । त्यसलाई जे गरेर भएपनि प्राप्त गर्नुपर्छ । लोकतन्त्र या गणतन्त्र केवल हात्तिका देखाउने दाँत मात्र हुन् भनेर बुझ्ने हो भने प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको पहल के का लागि र किन गरिरहेका छन् त ? आफुलाई बहुमत जुटाइदिने ओली निवास बालकोटको बार्दलिमा उभिनु भन्दा पहिलो चरणमा प्रधानमन्त्री दिनै नमानेर धोका दियो भनिएका देउवाको अस्थायी निवास धुम्बाराहीमा पूग्दा दाहालको मुहारमा देखिने चमकको अर्थ के त ? यी सबै प्रश्न र परिस्थितिलाई बिश्लेषण गर्दा गणतन्त्रका लागि शसस्त्र संघर्षको नेतृत्व गरेका प्रधानमन्त्री दाहाल अझै पनि वर्तमान संविधान मार्फत नै नेपालको राजनीतिक कोर्ष अगाडी बढाउने प्रयासमै इमान्दार रहेको देखिन्छ । तर बेइमानहरुको भिडमा बसेर थालिएको प्रयास जतिसुकै इमान्दार भएपनि सफल हुन निकै गार्हो हुन्छ ।

एमाले अध्यक्ष केपी ओलीले दाहाललाई आत्मिय ठानेर वा परिवर्तनलाई संस्थागत गर्नसक्ने आँट भएको नेता हो भनेर प्रधानमन्त्री बनाएका वा स्विकार गरेका पक्कै होइनन् । राजनीतिक बदला लिन र आफुलाई प्रतिगामी करार गर्ने गठबन्धन भत्काउन ‘उपयोग गरः असफल बनाउ’ भन्ने नीति अन्तर्गत नै ओलीले दाहाललाई प्रधानमन्त्री बनाएका हुन् । समग्रमा दाहालको गन्तब्य र ओलीको योजनाबीच कहिकतै तादाम्यता देखिदैन । आजसम्मको घटनाक्रम हेर्दा ओलीले निम्न १५ योजना पुरा गर्न दाहाललाई उपयोग मात्र गर्ने रणनीति बनाएको देखिन्छ ।

१. जनादेश मार्फत बहुमत प्राप्त लोकतान्त्रिक–वाम गठबन्धनलाई तहसनहस पार्ने ।
२..पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदका लागि जुनसुकै सम्झौंता गर्न तयार हुन्छन् भन्ने भाष्य स्थापित गरिदिने ।
३. राजनीतिको केन्द्र ओली निवास या बालकोटको बार्दली नै हो भन्ने भ्रम उत्पन्न गराउने ।
४.उच्चस्तरिय संयन्त्र मार्फत शासन सत्ताकोे सबै नियन्त्रण आफैले लिने ।
५. उपप्रधानमन्त्रीको लर्को लगाइदिएर सुशासनको खिल्ली उडाउने ।
६. गृह र अर्थमात्र होइन परराष्ट्र मन्त्रालयसमेत प्रधानमन्त्रीको पार्टीलाई नदिएर प्रधानमन्त्रीलाई जोकर बनाउने ।
७. सरकारमा परिवर्तन विरोधीहरुको हालिमुहाली कायम राख्ने र आफुलाई प्रतिगमनकारी भनेर औला ठड्याउने प्रचण्डसँग राजनीतिक बदला लिने ।
८.संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राजनीतिको मियो बन्न नदिने ।
९.माधव नेपालको राजनीतिक औचित्य समाप्त पारिदिने ।
१०.राजनीतिक अस्थिरतालाई मलजल गरेर संसद पूर्ण कार्यकाल चल्न नदिने र मध्यावधि निर्वाचनतर्फ मुलुकलाई धकेल्ने ।
११.संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान असफल पार्ने ।
१२. अन्तर्राष्ट्रिय शक्ति केन्द्रको साँठगाँठमा रमाउने तर नेपालको सरकार नेपालीले नै बनाएको प्रमाणीत भयो भन्दै स्यालहुँइया मच्चाउने र नेपाललाई भूराजनीतिको क्रिडास्थल बनाउने ।
१३.एमाले भनेकै ओली र ओली भनेकै एमाले भन्ने भाष्य स्थापित गर्ने ।
१४. राष्ट्रिय सहमतिको प्रयासमा भाँजो हाल्ने ।
१५.उखान टुक्का र भ्रमको खेतिमा रमाउने तर समृद्धिको गुड्डी हाँक्ने ।

ओलीका यी योजनाप्रति प्रधानमन्त्री दाहाल सचेत रहेको पाइन्छ । सहमतिको प्रयासका लागि दाहालले चालेका पाइलाहरु यसका संकेत हुन् । तर यस्ता संकेतमात्र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पर्याप्त हुदैन । जुन रफ्तारमा वर्तमान संविधान र उपलब्धि समाप्त गर्ने ग्राण्ड डिजाइन चलिरहेका छन् त्यसलाई बुझ्न र रोक्न प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व आफैले गर्ने सर्तमा पुरानै लोकतान्त्रिक बाम गठबन्धनमा फर्कन र राजनीतिक एजेण्डा सहितको यात्रा आरम्भ गर्न कत्तिपनि विलम्ब गर्नुहुदैन । जनादेशको कदर तथा गल्तिको समिक्षा गर्दै शुरु भएको नयाँ यात्राले मात्रै गन्तब्य सुनिश्चित हुनेछ ।